दशैमा महराको महादशा: बलात्कारको आरोपमा निर्वतमान सभामुख तथा सांसद कृष्ण बहादुर महरा पक्राउ

काठमाडौँ/बलात्कारको आरोपमा निर्वतमान सभामुख तथा सांसद कृष्ण बहादुर महरालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।
संसद सचिवालयकी पीडित कर्मचारीले शुक्रबार महरा विरुद्ध बलात्कारको प्रयास गरेको आरोप प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि आइतबार अपरान्ह काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले बालुवाटबाटै महरालाई आइतबार साँझ ६:३० बजे नियन्त्रणमा लिएको हो ।  महराले प्रहरीको गाडीमा जान नमानेपछि निजी सवारी साधनमा राखेर लगिएको छ ।
प्रहरीले महरालाई  उहांकै बा १८ च ४०० नम्बरको निजी गाडीमा हालेर लगेको छ ।  महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

महरामाथि असोज १२ गते राति संघीय संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ । सुरुमा आफुमाथि दुर्रव्यवहार नभएको भन्दै पीडित महिलाले बयान फेर्दै आएपनि शुक्रबार भने महराविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।

महराले यस अघि नै सभामुख पदबाट राजीनामा दिइसकेका छन् । १२ गते रातिको घटना १३ गते सार्वजनिक भएपछि असोज १४ गते बसेको नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार महरालाई बलात्कार प्रयासको मुद्दामा थप अनुसन्धानका लागि अन्य आरोपी सरह हिरासतमा राखिएको छ । मुलुकमा बलात्कार, यौन दुव्र्यवहार र महिला हिंसाका घटना सार्वजनिक र कारवाही हुने क्रम बढे पनि उपल्लो तहका राजनीतिक पदाधिकारी जोडिएको यो पहिलो घटना हो ।

दसैँ बिदाका क्रममा घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भएकाले घटनाबारे अनुसन्धान जारी रहे पनि सुनुवाइ रोकिने हुँदा त्यसबीचमा महरा हिरासतमै रहनुपर्नेछ । पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनमा शोक मनाउन सर्वाच्च अदालतले यही असोज २७ गते मुलुकका सबै अदालतमा बिदा दिने निर्णय गरेकाले आगामी असोज २८ गतेमात्र अदालत नियमित खुल्नेछ ।

घटनाबारे पक्ष असोज १४ गतेको सम्पन्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठकले महरालाई प्रतिनिधिसभाको सभामुख र सांसद पदबाट राजनीमा दिई अनुसन्धानलाई सघाउन आग्रह गरेको थियो । महराले असोज १५ गते आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी सभामुख पदबाट नैतिकताका आधारमा राजीनामा दिएका बताउन’भएको छ ।

महराको राजीनामा पछी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संसद् सचिवालयमा एक सूचना टाँस गरी राजीनामा बारे जानकारी दिनुभएको थियो ।
प्रतिनिधिसभा नियमावली, २०७५ को २११ अनुसार त्यसरी राजीनामा दिएको सूचना टाँस गरेपछि पद रिक्त भएको मानिनेछ । महराले सांसद पदबाट राजीनामा दिनुभएको छैन तर प्रहरीले अदालतमा मुद्दा दायर गरेमा सांसद पद निलम्बित हुने कानुनी ब्यवस्था रहेको छ।

निर्वतमान सभामुख तथा सांसद कृष्ण बहादुर महरालाई लागेको आरोप प्रमाणित भएमा के कार्बाही हुनसक्छ ?

महरालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– १८ करणी सम्बन्धी कसुरमा उक्त मुद्दा चल्ने देखिएको छ । सो परिच्छेदको दफा २१९ मा ‘जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी’ सजाय तोकिनेछ । सो दफाको उपदफा २ ९ङ० मा ‘अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म’ सजाय हुने व्यवस्था छ । उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ भनिएको छ ।

करणी  आरोपमा पक्राउ परेका कृष्णबहादुर महराको सांसद पद तत्कालका लागि स्वतः निलम्बनको अवस्थामा पुगेको छ। प्रचलित कानून अनुसार करणीसहितका फौजदारी अभियोगमा पक्राउ परेका सांसदको पद आरोप प्रमाणित नभएको अवस्थासम्मका लागि स्वतः निलम्बनको अवस्थामा जान्छ। अर्थात सांसद पद रहे पनि त्यस बापतको सेवा सुविधा दिइँदैन। आरोप प्रमाणित भएमा सांसद पद स्वत जान्छ ।