बर्दियाको सोरहवामा रहेको १४३ बिघा ९ कट्ठा सार्वजनिक जग्गा भू-माफियाहरूले वर्षौं लगाएर योजनाबद्ध रुपले व्यक्तिका नाममा पास गरेर करोडौं भ्रष्टाचार गरेको आशंका, अख्तियार मौन

 बर्दिया/  भू-माफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं रुपैयाँ बराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रूपमा व्यक्तिका नाममा दर्ता गराएको  पाईएको छ ।

बर्दिया जिल्ला साविकको सोरहवा गाविस–८ मा रहेको कित्ता नम्बर ४४२ अन्तर्गतको १४३ बिघा ९ कट्ठा सार्वजनिक पर्ती जग्गा भू-माफियाहरूले वर्षौं सम्म योजनाबद्ध प्रयासबाट कित्ता काट गरी विभिन्न व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।

बाँके साविक इन्द्रपुर गाविस ८ बस्ने गया प्रसाद कुर्मी, उनका छोरा बर्दिया सोरहा–८ का सावित राम कुर्मी तथा मालपोत कार्यालय बर्दियाका तत्कालीन मालपोत अधिकृतहरू मुक्ति बहादुर स्वाँर, शंकर प्रसाद भेटुवाल, नायब सुब्वा प्रकाश चन्द्र बुढाथोकी र खरिदार धुव्र प्रसाद भण्डारीको मिलिमतोमा यो काम भएको कागजात अध्ययनको आधारमा पाईएको हो ।

विभिन्न समयका मालपोतका प्रमुख, अधिकृत तथा कर्मचारीले भू-माफियासँगको मिलेमतोमा योजनाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गराएको पाईएको हो ।

भू-माफियासँग साँठगाँठ राख्ने ती कर्मचारीले अकुत सम्पत्ति आर्जन गरेको आशंका पनि गरिएको छ । भू-माफियाहरूले जग्गा हत्याउन २०४० सालबाट योजनाबद्ध प्रयास सुरु गरी २९ मंसिर २०५५ सम्म आइपुग्दा १ सय ४३ बिघा ९ कट्ठा सरकारी जग्गा पूर्ण रूपमा व्यक्तिको नाममा बनाउन सफल भएका थिए ।

सो जग्गा हाल सम्म आइपुग्दा विभिन्न ६२ जनाको नाममा नामसारी भइसकेको पाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । १ सय ४३ बिघा जमिन भूमाफियाको कब्जामा गएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय बर्दिया समेतले विस्तृत अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा जिल्ला प्रशासन र प्रहरीले समेत मालपोत कार्यालयका कर्मचारी र माफियाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा गएको ठहर गर्दै आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने तयारी गरेको बताइएको छ ।

सरकारी जग्गा ६२ व्यक्तिका नाममा यसरी दर्ता भयो

अर्बौंको सरकारी जग्गा मालपोत कार्यालयको रेकर्ड अनुसार २०४० सालसम्म साविक बर्दिया जिल्ला सोरहा ८ ‘क’अन्तर्गत कित्ता नम्बर ४४२ मा १ सय ४३ बिघा ९ कट्ठा क्षेत्रफलमा सरकारी पर्ती जग्गा थियो । भूमाफियाहरू गयाप्रसाद कुर्मी, उनका छोरा सावितराम कुर्मी र मालपोत कर्मचारीको मिलेमतोमा सो जग्गा ३१ जेठ २०४० मा मालपोत कार्यालय बर्दियाको आदेश बाट कित्ता बदर गरी कित्ता नम्बर ६४० र ६४१ कायम भयो ।

कित्ता नम्बर ६४० अन्तर्गत ८४ बिघा १६ कट्ठा १२ धुर र कित्ता नम्बर ६४१ अन्तर्गत ५८ बिघा ११ कट्ठा ८ धुर पर्ती जग्गा कायम हुन पुग्यो । त्यसपछि भूमाफियाको योजनाअनुसार कित्ताकाट पछि मालपोतद्वारा माफियाकै आदेशअनुसार पर्ती जग्गाका रूपमा रहेको कित्ता नम्बर ६४१ लाई १३ असार २०५३ मा बदर गरी १०२४, १०२५ र १०२६ कित्ता कायम गरियो ।

त्यसपश्चात् १०२४ कित्ताको ३६ बिघा ६ कट्ठा १२ धुर जग्गा सावितराम कुर्मीका नाममा कायम गरियो । तत्पश्चात् कित्ता नम्बर १०२५ र १०२६ को जग्गा भने पर्ती नै रहन गएको भए पनि विभिन्न व्यक्तिका नाममा दर्ता भएको र बचेकामध्ये केही अन्य व्यक्तिले उपयोग गरिरहेका छन् । जब कि १३ पुस २०६४ मा नापी शाखाको फिल्डबुकमा कित्ता नम्बर ४४२ पर्ती जग्गा ऐलानी भनी निमित्त नापी अधिकृतले हस्ताक्षर गरेको समेत पाइएको छ ।

पर्ती जग्गा हत्याउने योजनाअनुसार २९ मंसिर २०५५ मा मालपोतले जमुनीका रूपमा रहेको कित्ता ६४० लाई समेत बदर गरी १०६४ देखि १०८० कायम ग¥यो । त्यसपछि सो जग्गा समेत क्रमशः विभिन्न व्यक्तिका नाममा कायम हुन पुगेको देखिन्छ ।

१४ कात्तिक २०५९ को पत्रले निमित्त नापी अधिकृतको हस्ताक्षर रहेको पत्रमा साविकको कित्ता नम्बर ३१७, ३१८ र हालको कित्ता नम्बर ४३५ र ४४२ भएको भनी २००४ को नक्सासँग भिडाएको र सो जग्गा सरकारी भएको स्पष्ट देखिन्छ ।

तत्पश्चात् ६ पुस २०६४ मा मालपोत कार्यालयका सुब्बा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धु्रवप्रसाद भण्डारीले स्थलगत सर्जमिन गरी सो जग्गा गयाप्रसाद कुर्मीका हकदारकै नाममा रहेको र अन्य कसैले दाबी नगरेको भन्दै सर्जमिन गरी मुचुल्का उठाएर कुर्मीलाई जग्गा हत्याउने योजनामा साथ दिएका थिए ।

त्यस्तै, २२ कात्तिक २०६४ मा मालपोत कार्यालयले नै योजनाबद्ध रूपमा दैनिक पत्रिकामा सूचना जारी गर्दा कित्ता ६४१ को १०२४ मा समेत कसैले दाबी नगरेको भन्दै सूचना टाँस गरेको थियो । सोही योजनाअनुसार २० पुस २०६४ मा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख शंकरप्रसाद भेटुवालको टिप्पणी आदेशले सो जग्गा सवितराम कुर्मीलगायत चार जनाको नाममा दर्ता गराइयो । यसरी कित्ताकाट हुँदै गएको सरकारी जग्गा हाल ६२ जनाको नाममा दर्ता हुन पुगेको छ ।

नापी कार्यालयको रेकर्डअनुसार २०६४ सालको आगलागीबाट स्रेस्ता नष्ट भएको भन्दै नयाँ कित्ता नम्बर १८ कायम गरी विभिन्न नयाँ कित्ताकाट भएको देखिन्छ ।