पश्चिम नेपालमा ठुलो भूकम्पको उच्च जोखिम: मंगलबार सांझ खप्तड राष्ट्रिय निकुञ्जको पौवागढी क्षेत्रमा ५.७ रेक्टर स्केलको भूकम्प गयो

 

३ मंसिर नेपालगञ्ज/  सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा सवा सात बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिएको राससले जनाएको छ । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन ।

भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का अधिकांश जिल्लामा महसुस भएको छ ।  नेपालगञ्ज, अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीमा  साँझ  भूकम्पको धक्का महसुस भएको हो।

बिगत केही महिना देखि सुदुरपश्चिमका बिभिन्न जिल्लामा भुकम्पको धक्का महसुु भईरहेको छ ।

गत बैशाख २ गते सोमबार बिहान विहान ४:२७ मिनेटमा बझागजिल्लाको सदरमुकाम चैनपुर बाट पुर्वमा जयपृथ्वि नगरपालिको वडा नम्बर १ कैलास केन्द्र विन्दु बनाएर भुकम्प गएको गएको थियो।

गएको २ महिना अघि पनि दार्चुला लगायत सुदुपश्चिमको भारतीय सीमाक्षेत्रमा भुकम्प गएको नेपाल भुकम्प मापन केन्द्रले जनाएको छ । बेलुकी ८ बजेर १८ मिनेटतिर ४ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको थियो ।

भारतको बेंगलोर स्थित जवाहरलाल नेहरु उन्नत वैज्ञानिक अनुसन्धान केन्द्रको अनुसार भारत को उत्तराखण्ड र नेपालको सुदुरपश्चिम भेगमा पर्ने पहाडी र हिमाली क्षेत्रमा ८.५ रिक्टरको भूकम्प जाने ठुलो खतरा देखिएको जनाएको छ ।

वैज्ञानिकको अनुसार कुनै पनि समय यो भुकम्प जान सक्छ र यसको तीव्रता ८.५ रिक्टर भन्दा माथि हुने छ । यस अनुसन्धानको अनुसार ६००/७०० वर्ष अन्तरमा यस क्षेत्रमा भुकम्प जाने गर्दछ  । पश्चिम क्षेत्रमा सन् १५०५ यता ठूलो भूकम्प गएको छैन र अब जाने भूकम्प ८.५ म्याग्नेच्युड भन्दा ठूलो हुने अनुमान वैज्ञानिकको छ ।

 

सम्बन्धित शीर्षक