अर्घाखाँचीको सन्धिखर्क बस दुर्घटना: १९ जनाको मुत्यू,१८ जना घाइते update

१२ मंसिर,अर्घाखाँची/ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देहीको बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको यात्रु बहाक बस अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुकी करीब ४ बजे  भएको दुर्घटनामा मुत्यू हुनेको संख्या १९ पुगेको छ ।

घटनास्थलमा बस सडकबाट करीब ५ सय मिटर तल भिरालो र घना जंगल भएको खोचमा खसेर दुर्घटना भएकाले खोज तथा उद्धार कार्य बुधबार राती सम्म पनि जारि रहेको थियो ।

उक्त यात्रु बहाक बस दुर्घटनामा परि गाडी मालिक अर्घाखाँची, सितगंगा नगरपालिका वडा नम्बर २ का सन्त बहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओम बहादुर थापा सहित १९ जनाको मुत्यू भएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ ।

बस दुर्घटनामा  अन्यमुत्यू हुनेहरुमा अर्घाखाँची सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेश थापा, सन्धिखर्क १० का छविलाल गैरे, गुल्मी धुरकोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अन्य १० जनाको परिचय खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका १८ जना मध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् ।