पूर्वसभामुख कृष्णबहादुर महरा सदरखोर जेल चलान

 

१८ कात्तिक,काठमाडौं/  बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई   थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

घटना विवरण कागजात,जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिनुभएको छ ।
संंसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि प्रहरीले अनुसन्धान गरि महरा विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलात्कार उद्योगमा कारबाही गर्न  सरकार वकीलको कार्यालय मार्फत अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न पनि माग दावी गरिएको छ ।
बलात्कार आरोपित पूर्वसभामुख महरालाई पुर्पपक्षका लागि थुनामा पठाउने अदालतको आदेशसँगै सदरखोरको ‘क’ ब्लकमा राखिएको छ ।

नेपालमा बिगत साढे २ वर्षमा ८० जना जनप्रतिनिधि र ७ जना कर्मचारि पक्राउ परेको सरकारी तथ्यांक छ । जबर्जस्ती करणीदेखि ज्यानसम्बन्धी कसुरसम्मका आरोपमा जनप्रतिनिधि पक्राउ पर्नेमा सभामुख १, सांसद् २,प्रदेश मन्त्री १, १ मेयर, १ उपमेयर, १ गाउँपालिका अध्यक्ष, २ उपाध्यक्ष, ५६ वडाध्यक्ष र १५ वडा सदस्य पनि अपराधको आरोपमा पक्राउ परेका छन् । विभिन्न पदका ७ कर्मचारी पनि पछिल्लो २ वर्षको अवधिमा पक्राउ परेको राजधानी समाचारमा लेखिएको छ ।