अछाममा मानवता बिरुद्धको छाउपडी प्रथा: छाउ गोठमा निसासिएर २१ वर्षीया पार्वतीको मृत्यु

१७ मंसिर,अछाम/  साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको स्वभाव कसैलाई नबिझाउने थियो । उनी घर-परिवार मात्र होइन, समाजकै प्यारी थिइन् । विस्तारै बोल्ने । सधैं हाँसिरहने । जस्तोसुकै काम पनि मन लगाएर गर्ने । केटाकेटीलाई माया गर्ने ।  उनै पार्वतीले ‘छाउपडी प्रथा’ का कारण आइतबार राति संसार छोडिन् । महिनावारीको चौथो दिन सोमबार बिहान छाउ गोठमै मृत अवस्थामा भेटिइन् ।

छाउगोठ पार्वतीको घरदेखि केही टाढा र छिमेकी जेठाजु लालबहादुर बुढाको घरबाट नजिक छ । पार्वती केही अप्ठ्यारो पर्दा उनै लालबहादुरको परिवारसँग सहयोग माग्थिन् । तर आइतबार राति उनी सहयोग लिन नपाई बितिन् ।

लाल बहादुरका अनुसार पार्वतीले आइतबार दिनभर बारीमा काम गरेकी थिइन् । हरियो सागपात टिपिन् । साँफेबगर बजारमै बस्ने माइतीलाई आएर साग लैजान भनिन् । भाउजू आइन् । आमाबुबा, दाजुहरूलाई पकाएर खुवाउन भन्दै भाउजूलाई साग दिएर पठाइन् । साँझ खाना खाइन् । राति ११ बजेतिर छिमेकी जेठानी संगीतालाई खाना खाइयो कि नाइँ, कतिखेर सुत्ने हो भनेर फोन समेत गरेकी थिइन् । ‘पार्वती दिनभर हाँसीखुसी देखिन्थिन्,’ लाल बहादुरले भन्नुभयो : ‘रुघाखोकीले जहिल्यै सताउन लाग्यो दिदी, केही गरी निको नहुने भयो भन्दै मेरो श्रीमतीसँग कुरा गर्दा पनि उनलाई केही समस्या परे जस्तो देखिँदैनथ्यो ।’

सबेरै उठेर घरको काम गर्ने पार्वती सोमबार साढे ७ भइसक्दा पनि नउठेपछि होहल्ला भएको लालबहादुरले बताए । ‘घरमा जेठानी, जेठाजु र उनी मात्र छन् । श्रीमान्, सासूससुरा बम्बै छन् । सोधीखोजी गर्ने हामी नै हौं,’ उनले भने, ‘सोमबहार रवा ९बेंसी० बाट उनको पराल घरमा ल्याउनुपर्ने थियो । अघिल्लो दिन पराल ल्याउने चाँजोपाँजो मिलाएकी थिइन् । तर उनी छाउगोठभित्र घोप्टो परेकी थिइन् । नजिकै आगो बालिएको थियो । मृत अवस्थामा भेटिइन् ।’

‘शरीरमा कुनै चोट देखिएको छैन, होचो ठाउँमा आगो बालेकाले निसासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका निरीक्षक नरपति भट्टले भने, ‘बिहान साढे ७ बजेसम्म नउठेपछि जेठाजु उठाउन गएका रहेछन् । नबोलेपछि ढोका फोडेर हेर्दा मृत अवस्थामा भेटिएकी हुन् ।’

डेढ वर्षअघि प्रेम विवाह गरेकी पार्वतीले दुर्गा मावि नन्देगडाबाट १२ कक्षा उत्तीर्ण गरेकी थिइन् । दुई दाजुभाइ र ५ दिदीबहिनीमा पार्वती साइँली हुन् । सोमबार भतिजीको छाउगोठमा मृत्यु भएको खबर पाएलगत्तै घटनास्थल पुगेका उनका काका दीपक बुढाले गोठमा निसासिएर ज्यान गएको हुन सक्ने अनुमान गरे । नगरपालिकाको वडा ३ सिद्धेश्वरमा ४९ प्रतिशत महिला तथा किशोरी महिनावारी हुँदा गोठमै बस्ने तथ्यांक रहेको वडाध्यक्ष कृष्ण बुढाले बताए । ‘हालै नगरले तथ्यांक लिएको थियो, महिनावारीका बेला गोठमा बस्ने अत्यधिक देखिए,’ उनले भने, ‘यो घटनाले कडा भएर छाउ कुप्रथा हटाउनुपर्ने पाठ सिकाएको छ ।’

छाउ गोठमा १४ को मृत्यु

अछाममा १० पालिकाहरूका ९१ वटा वडामध्ये ३१ वटा वडालाई छाउपडी मुक्त घोषणा गरिएको छ । तर यही जिल्लामा छाउगोठमै ज्यान गुमाउने महिलाको संख्या पछिल्लो दस वर्षमा १४ पुगेको छ । अधिकांश घटनामा निसास्सिएर, सर्पले टोकेर र आगोले पोलेर मृत्यु भएको देखिन्छ । तुर्माखाद गाउँपालिका–४ की पार्वती बुढा, सोही गाउँपालिका–३ की गौरी बुढा, गाज्राकी रोशनी तिरुवा, तिमिल्सैनकी डम्मरा उपाध्याय, रिडिकोटकी शर्मीला भूल, ढकारीकी लक्ष्मी बुढाको छाउगोठमै ज्यान गएको हो ।

बारलाकी झुमादेवी शाही, वीरपथकी डिक्रादेवी ढकाल, पायलकी रतनदेवी विक, झुप्री ढोली, पायलकै पार्वती दमाई, नाडाकी हंसा जैशी र रानीवनकी हंसदेवी जोशीको पनि छाउगोठमै मृत्यु भएको थियो । साँफेबगर नगरपालिकाको ०७६र७७ को नीति तथा कार्यक्रममा समाजमा व्याप्त कुरीति हटाउन अभियान चलाउने उल्लेख छ । ‘छाउपडी प्रथा, बालविवाह, छुवाछूतजस्ता कुप्रथा अन्त्यका लागि अभियान सञ्चालन गरिने’ भनिएको छ ।

नगरपालिकाले गतवर्ष छाउपडी कुप्रथा विरुद्ध अन्तर्क्रिया कार्यक्रममा वडा नम्बर ११ देवीस्थानका साथै वडा १० घुघुरकोट र वडा १३ दाब्लाका केही टोलमा छाउपडी मुक्त घोषणा गरेको थियो । रावतको मृत्यु भएको वडा ३ मा भने छाउगोठमा बस्ने र नबस्नेको तथ्यांक मात्र संकलन गरिएको थियो । नगरपालिकाले महिला, बालबालिका लक्षित कार्यक्रमका लागि चालु आर्थिक वर्षमा करिब २१ लाख विनियोजन गरे पनि छाउपडी प्रथा अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन भएको छैन ।

मुलुकी अपराध संहिताले छाउपडीलाई अपराध मानेको छ । महिनावारी भएका बेला कसैलाई छाउगोठमा बस्न बाध्य पारिए त्यो अपराध ठहर्ने भनिएको छ । त्यसैअनुसार सजायपनि हुने पनि उल्लेख छ ।

यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रूपमै अपराध मानिएको हो । कानुनमा कोही कसैले महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

तर हालसम्म अछामका १० वटा स्थानीय तहमा रहेका न्यायिक समिति र प्रहरीमा उजुरी आएका छैनन् । ‘अरू मुद्दा आउँछन्, छाउपडीसम्बन्धी मुद्दा अहिलेसम्म आएको छैन,’ साँफेबगर नगरपालिकाकी उप-मेयर बिर्मला बुड्थापाले भन्नुभयो : ‘किशोरीहरू घरमै बस्न चाहन्छन्, तर पुरानो पुस्ताले स्विकार्न सक्ने अवस्था छैन ।’ कान्तिपुरमा मेनुका ढुंगानाले अक्षामबाट लेख्नुभएको समाचारबाट लिइएको हो ।