हाम्रो संरचना शनिबार, कार्तिक ६, २०७८ 443 Views

दिउँसो करिब २ बजेतिर बी एन्ड बी अस्पतालमा पुग्दा बिरामीहरुको निकै चाप थियो ।

ओपीडी समय चलिरहेको थियो । कोही हात रिपार्टको झोला बोकेर पालो कतिबेला आउला भनेर आँखा डुलाइरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए ।

पहिलो तल्ला। रुम नं १०२ ढोकामा लेखिएको छ । भिजिटर्स वेटिङ रुम त्यहाँ बिरामीका आफन्तहरु रिपोर्टको व्यग्र प्रतिक्षामा छन् । त्यही भीडमा थिए प्रकृति चन्दका काका र काकी भतिजीको उपचारका लागि आएका उनीहरुको मुहारमा त्यो निराशापन झल्किएको थियो ।

उनीहरुसँगको कुराकानीका क्रममारातो कुर्ता सुरुवालमा सजिएकी एक महिला आइपुगिन् । अनुहारमा पीडा, हतास र संशयसहित उनी हातिरिँदै प्रकृतिका काका र काकी नजिकै आइन् ।

उनी रहेछिन् प्रकृतिका आमा, भगवती शाही आइतबार कोहलपुर एनटिभी रोडकी १२ वर्षीया प्रकृति चन्दलाई विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिएको थियो।रिपोर्टिङको क्रममा पुग्दा आइसीयूमा राखिएकी उनलाईशल्यक्रिया कक्षलगिएको थियो । विद्यालय हिँडेकी छात्रा अहिले अस्पताल भर्ना हुन पुगेकी छन् । आफूलाई के हुँदैछ भन्नेमा उनी स्वयंम अनभिज्ञ छिन् ।

‘त्यो भयावह दुर्घटना नभएको भए अहिले प्रकृति साथीहरुसँग रमाइरहेकी हुन्थिन् होला, आफ्नो गृहकार्य गरिरहेकी हुन्थिन् होला । कक्षामा सधैँ झै अनुशासित भएर पढिरेहेकी हुन्थिन् होला,’ प्रकृतिका काकाले भने । जब बत्तिएको ट्रकले उनलाई सोहेरेर लग्यो, त्यसयता उनी अस्पतालको बेडमा हल न चल लडिरहेकी छन् ।

यो दर्दनाक घटनाले उनलाई मात्र होइन उनको सपना पनि सोहोरेर लगेको छ, खुसी खोसेको छ ।

साधाझैँ उनी आइतबार दुई चुल्ठी बाटेर निलो आकासे सर्ट र गाढा नीलो स्कर्टमा विद्यालय हिँडेकी थिइन् प्रकृति । प्रकृतिको घर विद्यालयबाट करिब डेढ किलोमिटरको दूरीमा पर्छ । उनी कहिले लोकल बस त कहिले साइकल कुदाउँदै अनि कहिले बुवाको बाइकमा चढेर विद्यालय आउजाउ गर्छिन् ।

 

बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत प्रकृतिलाई आइतबार भने बुवा नगेन्द्रबहादुरले स्कुटीमा विद्यालयसम्म छोडिदिने भए ।

आफैं साइकल चलाएर जाँदा पनि उनी कहिल्यै दुर्घटनामा परेकी थिइनन् । आइतबार उनको जीवनको कालो दिन बन्न पुग्यो । जब उनी स्कुटीबाट ओर्लेर विद्यालयको गेटतर्फ बढ्न मात्र के लागेकी थिइन् ट्रकले उनको खुट्टा किच्यो । त्यो असह्य पीडामा प्रकृति कति छटपटाइन् कति चिच्याइन् होला सायद उनलाई सम्झना छैन ।

त्यो एक सेकेन्ड ट्रकको गल्तीले ती कलिली बालिकाको खुट्टा चुँडायो । त्यति मात्र गरेन, ब्याक गरेर फेरि उनलाई लर्तायो।दुर्घटना हुने बित्तिकै उनलाई दशबिगाहास्थित कोहलपुर शिक्षण अस्पताल लगियो । आमा भगवती भन्छिन्, ‘अस्पताल लग्दा नानीको धेरै रगत बगिसकेको रहेछ, अक्सिजन र रगत चढाइयो । त्यसपछि थप उपचारका लागि काठमाडौं पठाइयो ।’

भगवतीका अनुसार सेनाको हेलिकप्टरबाट प्रकृतिलाई हिजो साढे ५ मा काठमाडौँ ल्याइ र्पुयाएको थियो ।


सदाझैँ हाँसीखुसी घरबाट बिदा भएर चिटिक्क परेर स्कुल गएकी छोरीको यो अवस्था देखेर कुन आमाको मन नभक्कानिएला र ? हामीसँग कुराकानी गर्दै गर्दा भगवती सकभर आफ्नो पीडा दबाउन खोज्थिन् । एकछिनमा उनी टोलाउँथिन्, एकैछिनमा भावुक बनिहाल्थिन् ।

कुराकानीका क्रममा आफन्तहरुको तारन्तार फोन आइरहेको थियो । सबैले एउटै प्रश्न गर्थे ( ‘छोरीलाई कस्तो छ ?’ घरकी कान्छी छोरीको भविष्यको चिन्ताले उनको मन पोलिरहेको छ तर पनि उनले आफ्नो मनलाई सान्तवना दिन छाडेकी छैनन् ( धन्न ज्यान जोगियो !

भगवतीले प्रकृतिले होसमा आएपछि मम्मी मलाई के भएको ? कसरी भयो ? किन भयो ? बुबालाई कस्तो छ भनेर हालखबर सोधेकी बताउँछिन् ।

‘उसले बारम्बार मम्मी अब ठिक भइसकेँ । मेरो स्कुल छुटिरहेको छ भनिरहेकी छ, कहिले स्कुल जाने मात्र भनिरहेकी छ तर यथार्थ कुरा भन्न सकिरहेकी छैन,’ भगवती भन्छिन्, ’हामी आफन्त तथा डाक्टरहरुले उसको खुट्टा काटिएको बारे भनेका छैनौं, जब थाहा पाउँछे होला अनि कसरी सम्हाल्ने भन्ने पीरलो रहेको छ मनमा ।’

‘मुटुमाथि ढुंगा राखेर भन्ने गरेकी छु की तिम्रो बुबा मम्मी रहुन्जेल केही हुन दिन्नौँ भनेर,’ भगवती गह्रौँ गरी बोल्छिन् ।

३ जना दिदीबहिनी र एकजना सानो भाइ छन् प्रकृतिका प्रकृति कान्छी छोरी प्रकृतिका बुबाआमा कोहलपुरमा खाजा पसल चलाउँछन् । आमा भगवतीका अनुसार कक्षाको अब्बल विद्यार्थी हुन् प्रकृति ।

सबैले सहयोग तथा हौसला दिए उसको मुहारमा पक्कै पनि हाँसो फर्किनेछ होला,’ भगवती दृढ हुँदै भन्छिन्, ‘आफ्ना खुट्टाले ठमठमी हिँड्न नसकेपनि कुर्सीमा बसेर भएपनि केही गर्न सक्ने क्षमता छ उनको सबैको साथ पाएपछि उसले देखेको सपना पुरा गर्छे भन्नेमा हामीलाई विश्वास छ ।’

उनलाई परिवारले उनलाई प्लास्टिकको खुट्टा हालिदिने सोचेका छन् । भगवती भन्छिन्, ‘पढाइमा रुचि राख्ने मान्छे हो केही बनेर पक्कै देखाउँछे ।’

भगवतीले अझै पनि गाडीवालाबाट कुनै सहयोग नपाएकोमा दुखेसो पोखिन् । बच्चालाई यतिसम्म भइसक्यो एकचोटी त्यताबाट बुझ्न आएका छैनन् । कोहलपुर नगरपालिकाले हेलिकप्टरबाट काठमाडौँ आउन र विद्यालयले भने १ लाख रकम सहयोग गरेको उनले बताइन् ।

त्यो दर्दनाक दुर्घटनाले प्रकृतिको गुमेको खुट्टा त फर्केर आउने छैन तर उनमा आत्मविश्वास र आत्मबल गुम्न नदिनको लागि बलियो भएर बसेका छन् प्रकृतिको परिवार विशेषगरी उनकी आमा जब उनले आफ्नो खुट्टा गुमाएको थाहा पाउलिन् त्यो क्षण कस्तो होला ? उनले आफूले कसरी स्वीकार गर्लिन् ? मानसिक आघातबाट गुज्रिरहेकी उनी फेरि कहिल्यै सुरक्षित तरिकाले विद्यालय जान पाउलिन् ? एक दिनमा नै उनको जीवन कायापलट भएको छ । के फेरि प्रकृतिको जीवनमा पालुवा पलाउला त ?कान्तिपुरबाट