कोरोना प्रकोप चक्र र व्यवस्थापन

हाल व्यापक भइरहेको कोरोना(कोभीड १९) भाइरसको संक्रमण  दिन प्रति दिन बढ्दै गएको छ ।

यो लेख तयार गर्दा सम्म करीब २२ लाख ५० हजार संक्रमित रहेका छन भने करिव डेढ लाखको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।करिब २ सय १० देश एवं स्वतन्त्र क्षेत्रहरमा फैलिएको यसको कहरले थोरै धेरै सवैलाई भयरहित बनाएको देखिन्छ ।

२०१९ को जनवरी २२ मा १७ जनाको मृत्युसँगै सार्वजनिक भएका यो भाइरसको महामारी करीव ३ महिनालाग्दा समेत पूर्ण नियन्त्रणमा आउनसकेको छैन । नेपालमा यसको प्रकोप सामान्य अवस्थामा रहेतापनि लापरवाही गर्नसक्ने अवस्था भने छैन ।

हालसम्म ३१ जनामा यसको संक्रमण देखिएता पनि ३ जना स्वस्थ भइ घर फर्केका छन भने मृत्य शून्य रहेकोछ । यसै सन्दर्भमा यस लेख मार्फत कोरोना संकट र यसको समाधानका केही पक्षहरमा चर्चा गर्ने जमर्को गर्नेछौ ।

के हो कोरोना ?
बीबीसीका अनुसार आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात बीषाणुको एउटा समुहलाई बैज्ञानिकहरुले कारोना भाइरस नामाकरण गरेका थिए । यो भाइरसको बाहिरी रुप श्रीपेच(क्राउन) को जस्तो भएकाले उक्त नाम दिइएको थियो । उक्त भाइरसको बैज्ञानिक नाम सार्स कोभ २ हो । यस भाइरसको संक्रमणवाट हुने रोगलाई कोभीड १९ भनीन्छ ।

संक्रमण कसरी हुन्छ ?

स्वास्थ्य सेवा विभागले राखेको जानकारी सामाग्रीका अनुसार यो रोगको भाइरस रहेको सतह वा सरसामान वा व्यक्तिसँगको सम्पर्कमा रहेको व्यक्तिले आफ्नो हात सफा नगरी अनुहार वा मुखमा छुन गएमा यसले श्वासनलीदै फोक्सोमा संक्रमित हने र त्यहीवाट थप भाइरस उत्पादन भइ अन्य भागमा पुगी असर पार्ने गर्दछ ।
यसको प्रारम्भिक लक्षणका रुपमा ज्वरो आउनु, सुक्खा खोकी लाग्नु, मांशपेशीमा दुखाइ हुनु र थकानको महशुस हुनु प्रमुख हुन । तर केही मानिसलाई घाँटी दुख्ने, टाउको दुख्ने, पखाला लाग्ने गरेको कुरा समेत बाहिर आएको छ । यस्तो लक्षण देखिएमा अलग बस्ने र चिकित्सकलाई सम्पर्क गर्नुपर्ने सुझाव विश्व स्वास्थ्य संगठनले गरेको छ ।

कोरोना संकट व्यवस्थापन कसरी ? 

कोरोना संकट व्यबस्थापनको जिम्मेवारी प्रत्येक समुदायको प्रत्येक संस्था र प्रत्येक व्यक्तिको प्रयास आबश्यक हुन्छ । यस सन्दर्भमा गरिनुपर्ने विभिन्न कार्यहरुलाई “प्रकोप चक्र” अनुसार तीन चरणमा वर्गीकरण गर्न सकिन्छ – न्युनीकरण र पूर्व तयारी (संकट पूर्व ), आपतकालिन उद्धार र राहत (संकटको तत्काल पछि ) र पुनर्निर्माण एवं पुनस्र्थापन (संकट पश्चात कैयौं वर्षसम्म ) । यी प्रत्येक चरणमा संकट निवारणका लागि गर्नु पर्ने धेरै महत्वपुर्ण कार्यहरु छन् ।

न्युनीकरण र पूर्व तयारी 

यो चरण कोरोना महामारीभन्दा अघि नै गरिन्छ । यस चरणमा खासगरी कोरोनाबारे जनतामा सचेतना जगाउने क्रियाकलाप गरिन्छ । नेपालका सम्बन्धमा यसले महामारीको रुप नलिइसकेकोले देशभित्र हुने गतिविधिहरुलाई हालसम्म पनि न्युनीकरण र पुर्वतयारीकै कार्यहरु भैरहेको मान्न सकिन्छ ।
यस चरणमा गर्नुपर्ने अर्को महत्वपुर्ण कार्य आइसशोलेशन बनाउने, औषधि उपकरणको व्यवस्था गर्ने, जनशक्ति परिचालन र व्यवस्थापन गर्ने लगायतका कार्य प्रमुखरुपमा पर्दछन र यसै अनुसार क्रमशः कार्य भैरहेको नै पाइन्छ ।

तर यी सवै कार्य गर्दा प्राथमिकताका आधारमा गर्नुपर्ने कार्य र सो को लागत समेतको तिनै तहका सरकारको जिम्मेवारी र स्रोत परिचालनको एकिकृत कार्ययोजना बनाउन अहिले पनि सकिएको छैन । यसका लागी भनेर उच्चस्तरीय समिति त बनाइएको त छ तर यसले गर्ने संयोजन प्रभावकारी र योजनाबद्ध नरहेको भनी सर्वत्र आलोचनाको विषय बनेको छ ।

यससंगै अहिले भैरहेका संरचनाहरुलाई अझ बलियो बनाउन लागी पर्नुपर्दछ । हामीले हिजो गरेका गल्तीलाइ सच्याउन बिज्ञ प्राबिधिकको सल्लाह बमोजिमनै अझ बलियो पारी आफु ढुक्क भइ बस्नुपर्दछ ।

पुर्व तयारीकै क्रममा भोलीका दिनहरुमा कसरी क्षती कम गर्न सकिन्छ भन्ने बिषयमा पनि आज नै सोच्नु पर्दछ । हाम्रो अहिलेको क्षती बढि हुनुको प्रमुख कारण नै हामी योजना बिहिन हुनु हो । कोरोना संकट व्यवस्थापनका बिभिन्न कार्यबिधिहरु बनाएर लागु गरेको भए पनि कुनै पनि निकायमा उपयुक्त योजना रहेको पाइदैन ।

अर्को कुरा हालको संक्रमितको अवस्था हेर्दा प्रायः छिमेकी भारतवाट फर्की नेपाल आएकाहरुमा बढी देखिएकोले यसै मौकामा सीमा व्यवस्थापन फरक तरिकाले गर्न आवश्यक देखिएको छ । साथै हालको समस्या समाधानका लागी शिक्षक, निजामती र सुरक्षाकर्मिको संयुक्त कार्यदल बनाई सिमावाट हुने प्रवेशलाई कडा पारीनुपर्दछ ।

यस्तो वेलामा राष्टसेवकहरु पनि कोही घरमै बस्ने कोही दिनरात खट्ने अवस्था पनि हुनुहुँदैन, यसको संयोजन र समन्वयका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन ढिलो गर्नुहुँदैन ।

अहिलेको घटनाले धेरै लाई पाठ त सिकायो तर फेरी पनी प्रकोपसंग प्रत्यक्ष सरोकार राख्ने सरकारी , गैरसरकारी निकायहरु मौन रहने अवस्था आउन दिनु हूँदैन ।

महामारीलाई पनी प्रकोपको प्रमुख प्रकारकारुपमा हेरी सो को लागी पनी कसरी सामना गर्ने र क्षति कम गर्ने भन्ने योजना हुनुपर्दछ ।

सरुवारोगको न्युनीकरण र पूर्वतयारीमा अर्को महत्वपुर्ण कार्य सरुवारोगको अनुसन्धान कार्य हो यसको व्यवस्थित र बिश्वासीलो अनुसन्धान निरन्तररुपमा गर्नुपर्दछ । यसको लागि सरुवारोगको निवारणका लागी सम्बद्ध निकायहरु अलि सशक्त हुन जरुरी छ । पहिलो कुरा यसको संरचनागत सुधार गर्ने र संगठनात्मक बिकास गरी यसलाई सरुवारोगको अनुसन्धान गर्ने र प्रतिबेदन गर्ने संयन्त्रकारुपमा बिकास गर्नुपर्दछ ।

आपतकालिन उद्धार र राहत 

यो चरण संकट आइसकेपछी शुरु गरीन्छ यसमा सबैभन्दा पहिले प्रभावित व्यक्ति एवम् स्थानहरुको पहिचान हुनुपर्दछ त्यसको लागी जिल्ला एवम् स्थानीय तहका विपद व्यवस्थापन समितिहरुको क्रियासिलता जरुरी हुन्छ । अझ यसभन्दा पहिले प्रकोप आउँदा के गर्ने भनी योजना बनाइए मुताविक कसरी सुचना संकलन गर्ने भनीएको थियो त्यही मुताबिक नै गर्नुपर्दछ । हाम्रो अहिलेको कमजोरी यहि योजनामा नै रह्यो ।

अब यस्तो प्रश्न गर्ने हो भने सजिलो जवाफ आउँछ ः के यस्तो होला भन्ने तपाइलाई थाहा थियो र ?

हो, थाहा थिएन तर सरोकारवालाले अनुमान त गर्नुपथ्र्याे नि ।हिजो गर्नुपर्ने थियो गरिएन भने पनि आज बसेर गर्नुपर्यो नि । आजका दिनसम्म कसैले पनि यसरी खोजी कार्य र उद्धारकार्य अगाडि बढ्छ भनेको पाइएन । जिल्लाको प्रभावितको बिबरण संकलन गर्दैजाने क्रममा उद्धार कार्य र राहत बितरण कार्यमा द्रुतता ल्याउनुपर्दछ । जहाँजहाँ मानिस समस्यामा छन् । त्यस्ता मानिसलाई तुरुन्त गाँस बास कपास को प्रबन्ध मिलाउनुपर्दछ ।

स्थानीय स्तरमा उपलब्ध हुने वा हुन सक्ने व्यवस्थाका लागी समेत जिल्ला सदरमुकाम वा राजधानीमुखी हुने प्रबृतीका कारण पनि यसमा समस्या आएको छ । यस्तो कुराको पहिचान र आब्हान सरकारी तवरबाट गरिनुपर्दछ । गाउँ गाउँमा रहेको सरकारी निकाय खासगरी सुरक्षा निकाय , स्थानीय निकाय,बिद्यालय, स्वास्थ्य संस्थालाई तुरुन्त परिचालन गर्नुपर्दछ । त्यसपछि जिल्लास्तरका कर्मचारी, सुरक्षा निकाय परीचालन गर्ने र नपुग भएमा मात्र केन्द्रमा माग गर्ने गर्नुपर्दछ ।

राहत बितरणमा पनि संस्थाहरुले आफ्नै लोगो प्रयोग गरी वितरण गरेको देखियो यसले मानिसको ध्यान लोगो भएका संस्थाप्रति जाने र सरकारप्रति नकरात्मक बिचार प्रसारित हुने कारण राहत बितरणमा लोगो अंकित सामाग्री बितरण गर्न रोक लगाउनु पर्दछ । बरु राहत उपलब्ध गराएको प्रमाणीतत गरिदिने ब्यवस्था सरकारले मिलाउनु पर्दछ ।

 पुनर्स्थापना र पुनर्निर्माण : 

अहिले बजेट तयारीको पुर्व सन्ध्यामा छौ , करिव अनुमानित आम्दानीको २५ प्रतिशत अर्थात करीव २ खर्वजति न्युन हुने अनुमान गरिएको छ ।

अझ लकडाउनको अवधि बढ्दै गएमा यो न्युनता बढ्ने अनुमान अर्थमन्त्रालयको गरेको छ । यसवाट अर्थतन्त्र जीर्ण बन्ने एवम् उत्पादनमा कमी आइ कुल गार्हस्थ उत्पादनमासमेत कमी आउने पक्कै छ भने चालु खर्चमा भने चाप परीरहने संभावना छ ।

यस्तो बेला पुनस्थापन र पुनर्निर्माण हुने खालका योजना र रणनीति अंगाल्नु पर्दछ ।यो दिर्घकालिन र निरन्तर प्रक्रिया हो , यस चरणमा कार्य गर्दा हतारीएर गर्नुभन्दा बिचार पुर्याएर गर्नुपर्दछ । यसका लागि दिर्घकालिन पुनस्र्थापन र पुनर्निर्माण सम्बन्धी योजना तर्जुमा सो का लागी विभिन्न छुट एवम् अनुदानका लागी आवश्यक रकमको व्यवस्था गर्नुपर्ने हुन्छ ।
एकातिर उत्पादन र पुर्वाधार क्षेत्रका लागी धेरै बजेट व्यवस्था गर्नुपर्नेहुन्छ भने अर्कोतिर चालुखर्चमा स्वतः बढोत्तरी हुनजाने नै हुन्छ तसर्थ अति आवश्यक सेवा बाहेकका कार्य र संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी, विशिष्ट एवम् पुर्व विशिष्ठहरुलाई दिइदै आएको सुविधा (न्युनतम वाहेक) मा पुर्नविचार गरी कानुनद्धारानै कटौति गरी आयमा आउनसक्ने न्युनता र बजेट व्यवस्थापनमा सहजता ल्याउन सकिने हुन्छ ।

अन्तमा

बिश्वलाई त्राहीमाम बनाइरहेको कोरोना महामारीले नेपाललाई त्यति गाँजीहालेको त छैन तर यसको संकट टरेको भने छैन । हामीसँग खुला सिमाना भएको भारतमा यसको प्रकोप बढीरहेको र धेरै सामान भारतवाटै आयात गर्नुपर्ने बाध्यताका कारण भारतको नीतिसँगै हाम्रो नीति तय गर्नुपर्ने छ ।

यस्तै बेलामा देशभित्र पनि एकिकृत र समन्वयात्मक तरीकाले कार्यहुन नसक्दा संकट समाधानमा असावधानी हुन जाने शंका एकातिर छ भने अर्कोतिर यो बढ्न गएमा यसको व्यवस्थापन झन जटिल हुनजाने खतरा पनि छ । तसर्थ यस जटिल मोडमा यसबाट पर्न जाने चुनौतिलाई अवसरका रुपमा उपयोग गरी अनावश्यक खर्च कटौतीको पहल र प्रभावकारी योजना बनाई कार्यान्वयनमा सबैले होस्टेमा हैसे मिलाउने वातावरण तयार हुन सके हामी फेरी पक्कै उठ्नेछौ भन्नेमा कसैको दुई मत नहुनु पर्ने हो ।

(लेखक सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत हुनुहुन्छ ।)