बाँकेको नेपालगञ्ज उप-महानगरपालिका–८ स्थित महेन्द्र पार्क (अन्सारी टोल) मा आइतबार एकै दिन १५ जनामा (कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।
नेपालगञ्ज–५, डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा शुक्रबार संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका ९४ जनाको स्वाब शनिबार संकलन गरी भेरी अस्पतालस्थित प्रयोगशालामा पीसीआर परीक्षण गर्दा थप व्यक्तिमा संक्रमण भेटिएको हो ।
यसै सन्दर्भमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापासँग मधु शाहीले गरेको कुराकानी :
कोरोना समुदायमा फैलिएको हो ?
हामीलाई कोरोना भाइरस (कोभिड–१९) ले झुक्यायो । हामीले लक्षण देखिएपछि मात्रै जाँच गर्ने तरिका अपनाएका थियौं तर अहिले जति पनि संक्रमित भेटिएका छन्, तिनमा कोरोनासम्बन्धी कुनै पनि लक्षण छैनन् । लक्षण नदेखिएकाले भाइरस समुदायमै फैलियो । अब यसको न्यूनीकरणका लागि हाम्रो ढाँचा परिवर्तन गर्न आवश्यक छ ।
अब कस्तो ढाँचा अपनाउँदै हुनुहुन्छ ?
हिजोसम्म हामीले आशंकित व्यक्तिलाई जाँच गरेका थियौं । अब पूरै समुदायलाई नै ‘क्लोज टेस्टिङ’ गर्नुपर्छ । यसरी परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अझै बढ्दै जाने पक्का छ । अहिले सबै एउटै टोलका संक्रमित छन् । त्यसैले संक्रमितको संख्या बढ्ने देखिएको छ । समुदायमा फैलिएको हुँदा तुलनात्मक रूपमा आजसम्मको नतिजा सामान्य नै हो ।
बाँकेलाई ‘डेन्जर जोन’ भन्नुभएको हो ?
हो, यो भुसको आगोजस्तो बन्यो । हामीले पत्तो नपाउँदै समुदायमा फैलिसकेको छ । यस हिसाबले बाँके जिल्ला उच्च जोखिममा छ । त्यसअनुसार नै संक्रमण रोकथामका रणनीति बनाउनुपर्छ । यसैलाई ध्यानमा राखेर पूर्वतयारीसहित स्वास्थ्यकर्मीले संक्रमित क्षेत्रमा खटिने मनसाय बनाएका छौं ।
अब कस्तो रणनीति हुन्छ ?
समुदायमा गएर सघन रूपमा ‘ट्रेसिङ’ गर्नुबाहेक अरू उपाय छैन । संक्रमितको सम्पर्कमा को–को आएका थिए, ती व्यक्तिको खोजी गर्दै स्वाब परीक्षण गरिनेछ । संक्रमितको उपचारमा ध्यान दिनेछौं ।
स्वास्थ्यकर्मीलाई कत्तिको जोखिम छ ?
अहिलेसम्म व्यक्तिगत सुरक्षा सामग्रीको अभाव छैन । मन्त्रालयबाट सोमबार थप आवश्यक सामान मगाएका छौं ।
पीपीई पनि उपलब्ध छन् तर संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्यकर्मीले मनोबल बढाएर काम सुरु गर्न थालेका छौं । त्यहीअनुरूप हामी तयार छौं । अब स्थानीय सबैको स्वाब परीक्षण गर्नुबाहेक उपाय छैन ।
कान्तिपुर अनलाइनबाट साभार गरिएको हो।
हाम्रो संरचना । २२ बैशाख २०७७, सोमबार १७:०३