हाल सम्म नेपालको ४७ जिल्लाका ८८६ जना कोरोना संक्रमित,एकै दिन ११४ पोजेटिभ

१४ जेष्ठ, नेपालगञ्ज/ नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ जना पुगेको छ । बुधबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा बुधबार थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछील्लो पटक संक्रमित पाइएकाहरुमा धरानको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर बिधिबाट गरिएको परिक्षणमा सप्तरीका ११ जना, कोशि अस्पतालमा गरिएको परिक्षणमा झापाका १७ जना, हेटौडामा गरिएको परिक्षणमा हेटौंडाका मकवानपुरका १, पोखरामा गरिएको परिक्षणमा बागलुङका ६, जना, दांगको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा दाङका १५, पूर्बी रुकुमका ३, नेपालगञ्ज स्थित भेरी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा राप्तीसोनारी गाउंपालिकाका ७ जना, बैजनाथका ६ जना डडुवाका २ जना र खजुराका १ जना गरि बाँकेका १६, त्यसैगरि काठमाण्डौं स्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा रौतहटका ३६, सिरहाका २, बाराका ७ जना गरि कुल १ सय १४ जना थप संक्रमित पाइएका हुन ।

नेपालमा बुधबार सम्म ८ सय ८६ जनाका कोरोना संक्रमित रहेको र संक्रमित मध्ये १ सय ८३ जना उपचार पछी निको भएर घर फर्किइसकेका छन् ।

नेपालका ७७ जिल्ला मध्य हाल सम्म ४७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । जसमा प्रदेश नम्बर १ को ७ जिल्लाका १०३ जना, प्रदेश २ मा ८ जिल्लाका ३२४ जना, बाग्मतीको १ जिल्लामा ३९ जना गण्डकी प्रदेशको ४ जिल्लाका १३ जना, प्रदेश नम्बर ५को ९ जिल्लाको ३६५ जना, कर्णाली प्रदेशको ३ जिल्लाका २५ जना र सुदुरपश्चिमका ५ जिल्लाा १७ जना गरि ८८६ जना संक्रमित भएको पाइएको हो ।

नेपालमा कोरोना पोजेटिभ पाइएका सबै जसो नेपाली नागरिक भारतबाट आएको र क्वारेन्टाइनमा बसेको समयमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ पाइएकोले नेपालमा हाल सम्म कोरोना पोजेटिभ भएका बिरामीहरुको सुक्ष्म अध्ययन गरेर क्वारेन्टाइनलाई ब्यवस्थित गरेमा संक्रमण लाई समूदायमा फैलिनबाट रोक्न सकिने स्वास्थय बिज्ञहरु बताउनदै आएका छन ।