हाम्रो संरचना मङ्लबार, कार्तिक २, २०७८ 1242 Views
लेखकः मुनाराज शेर्मा “समिक्षा”

 

एक समय यस्तो थियो संसार युद्धले निर्देशित थियो । जवान पुरुषहरूको महानता युद्धमा उसको बहादुरीले निर्धारण गर्थाे । महिलाहरुपनि कहिले काही पुरुषलाई माथ गर्थे । एकलब्य अलेक्जेण्डर महान् जेङ्गिज खाँ, कुब्ला खाँ , क्लियोपेट्रा, जुलियस, सिजर, पृथ्वीनारायण ,काङ्सोरे गज्जु घले, प्रचण्ड आदि नामहरू युद्धबाट स्थापित नाम हुन् ।

महाकाव्य प्रायः भयङ्कर युद्धहरूले सुशोभित गरियो । योद्धाहरू नायक । प्रथम र द्वितीय विश्वयुद्धको विभिषिका र महानता उतिकै तौलेर हेरिन्छ । युद्ध र प्रेममा सब जायज एउटा बैचारिकी नै आयो । युद्धका सिनेमाहरू सुपर डुपर हिट भए ।

प्रत्येक विश्वविद्यालयहरूमा वीरता साहस सौर्यको उच्च कदर भयो । इतिहासलाई गौरवको गाथा मानियो । इतिहास नहुनेहरू र वीर नहुने जातिहरूनै कमजोर मानियो । उच्च सम्मान प्राप्त थियो इतिहासमा युद्ध जन्माउनेहरू र लड्नेहरूको । कति शासकहरू अरूको युद्धमा सहयोगी टेको बनेरै आफ्नो सत्ता टिकाए र जनतामाथि अत्याचार लादे घोडामा भारी लादे जस्तो । त्यही साम्राज्यवादी काँडाको झ्याङमा बेरिएको काउसोको लहरा राणा साहीको निरङ्कुशता जोगाउँन नेपालको पहाडबाट आदिवासीहरु मलाया छाउनीमा दशैंको च्याङ्ग्रा जस्तो भर्ती भए । जुन इतिहास संस्मरणात्मक रूपमा खुकुरीको धारमा २०७१ नरेश काङमाङले लेखिसकेका छन् ।

दोस्रो विश्वयुद्धमा बर्माको जङ्गलमा जापानीज सेनासँग बृटिस सेना पछि हट्दा जापानीज सेना रोक्न बृटिस कमाण्डरले सिताङ पुल उडायो जुन अत्यन्तै आलोचित भयो । त्यस पछि पनि गोर्खा सेना भने आईरहेका थिए । गोर्खालीले ज्यान बचाउँन सिताङ नदीमा हाम फाले । तरी सकेकाहरुले आफ्नै चार हजार (एक बटालीयन करिव ७५०–८००) ज्यादा साथीको ह्याट पानीमा तैरीरहेको विद्रोह मिश्रित आँसुले हेरे । यो युद्ध थियो । युद्धमा भावनाको कुनै काम छैन । ज्यान हुँदा न त्यसको महत्व हुन्छ । सिताङ् नदीमा चार हजार (एक बटालीयन करिव ७५०–८००) बढी नेपालीको बलिदानी हाम्रो पृय इतिहास थिएन । वाँकी पिडियाले पञ्चानब्बे मात्र हताहत भएको भन्छ । गोराहरू मरेको भए उसको इतिहास लेख्थ्यो होला । थाह छ इतिहास जित्नेले आफ्नो लागि लेख्छ । हार्नेहरूलाई मारिएकाहरुलाई इतिहासले पनि अन्यायले मारेरै छोड्छ । मान्छे मारिनु भन्दा इतिहासले दबाइनु सबैभन्दा खतरनाक रहेछ । आफ्नै सैनिक जानाजान आफ्नै कमाण्डरले मारिनु कालान्तरमा क्षतिपूर्तिको योग्य ठहरिन सक्ने हुँदा सायद तथ्याङ्कहरू तोडमोड गरियो ।

यो मुद्धा न्यायलयमा उठाइन सकिने मुद्धा हो तर गोर्खालीहरूले उठाएनन् । त्यो अनिष्ट,आदिवासी माथि विश्व साम्राज्यवादको कालो छाँयाको प्रेत थियो । प्रथम द्वितीय विश्व युद्ध लडेका अढाई लाख जति आदिवासीहरुको रगतको टिका लगाएर शाही साशन विश्व साम्राज्यवादसँगै केही शताब्दी नअस्ताउने घाम बनेर बाँच्यो र निभ्यो । तर नेपाली आदिवासीहरुको छाती र तिघ्रा नाप्ने काम बन्द भएन । पछि त यो स्थापित मुल्य मान्यता सभ्यता दम्भ सान उपार्जन हैसियत तागत राजनीति सपना इष्र्या सबै भएर आयो । तर योसँग जोडिएको युद्ध चाहिँ घटित पनि भैरहेको थियो । अद्यापि छ जो आफ्नो होइन । हो त्यही युद्धको सजिव वर्णन सायदै कुनै लेखकले गर्न सक्छ ।

नरेश काङमाङ राई युद्ध साहित्य अभियन्ता हुन् । युद्ध साहित्यको सुरुमा खुब आलोचना भयो । युद्ध फैलाउने कसरी साहित्य हुन्छ ? त्यो त आतङ्कवाद हो भनियो । तर युद्ध साहित्यले प्रथम द्वितीय विश्वयुद्धदेखि हालसम्म नेपालका आदिवासीले लडेको युद्धको अध्याँरो पक्षलाई उत्खनन् गर्छ । साम्राज्यवादी बेलायतले गोर्खाहरूमाथि गरेको वैतनिक आर्थिक असमानता पेन्सन सम्मान र आवाशिय भिषा पाएपछि गरिने विभेदको समेत खुलेर उछितो काढ्छन् । मानवताको पक्षमा बोल्छन् । युद्ध किन लडिदैछ? लेखक आफैलाई प्रश्न गरिरहेका छन् के अफगानी तालिवानलाई मैले मार्नु जायज थियो ?

तक्मा कथा…..

तक्मा कथामा वर्णन गरिएको युद्ध अफगानिस्थानको तालेवानीसँगको मुठभेट छ । युद्धको घटनाको वर्णन आङै सिरिङ्ग हुने तथ्यहरूले घटित छ । गोलीले छिया–छिया पारेको लडाकु बख्तरबन्द मोटर बिमिक लिन लडाकु आनन्द जानुपर्ने हुन्छ । अफिसरले जानै पर्ने वा मारिन तयार हुनु पर्ने अन्तिम ऐलान गर्छ ।

हवाई सहयोगको लागि चाहिने वाकिटाकी त्यही छ । नत्र शत्रुले मार्न सक्छ । जुन घटनाले लाहुरेहरु कसरी ज्यानको पर्वाह नगरी युद्ध लड्छन् भन्ने तथ्यलाई गहिरो गरी संयोजन गरेको छ । कथाले पाठकलाई युद्ध मैदानमै तानेर लान्छ । पात्रप्रति गहिरो सम्वेदना सृजना गर्छ । पाठकले आफै युद्धमा होमिएको अनुभव गर्छ । कथामा पात्र आनन्द फर्केर आउँदा आनन्द तिमी बाँच्यौं ? बाँचेकै छौ ? जस्ता प्रश्नले पाठकको सासै रोकिन्छ । यति भित्री तहसम्म मान्छेको मनोग्रन्थीलाई एकोर्होयाएर घटना बुन्न सक्नु स्वयम लेखकीय शक्ति र सामार्थ हो । यो संग्रहको सबैभन्दा बलवान कथा तक्मा हो । जुन कथाले विश्वका सारा लडाकुहरूको जीवनवृतलाई गहिरिएर उठान गरेको छ ।

लडाकुले आफ्नो तर्फको गोली ठ्याङ ठ्याङ र शत्रुतर्फको गोलीको आवाज प्याट प्याट, क्रेक एण्ड थम्प, छुट्टयाउँन सक्नु पर्ने खुबी यस घटनामा छ । यसरी लडाइको सजीव सेट सिनेमाटोग्राफी कथामा छ । शिल्पले यो कथा बेजोड हो । आनन्दले बिमिक लिन जाँदा घस्रिएको गोली आइरहेको मनमा कुरा खेलेको ज्यान अर्पेर गोलीको आँधीतिरै बिमिक बटारेर उडाएर भगाएको दृश्यले विभत्सताको भयानकतालाई गतिशिल दृश्यले जस्तो भन्छ । पाठकको होस गायब पार्ने शक्ति छ यो दृश्यसँग । मानसिक द्वन्द्वको सुन्दर प्रस्तुति छ ।  भयले छोपेको बेला मान्छे के गर्छ ? कसलाई ज्यादा सम्झन्छ ? भन्ने प्रश्नको उत्तर लेखकले प्रस्तुत गरेका छन् । भयमा पहिले त मान्छे आफुलाई जोगाउँन कर्तव्यको पालना गर्दैन बर्खिलाप गर्छ ।

आफुलाई सबैभन्दा ज्यादा प्रेम गर्छ । कर्तव्यको पालनाले नै ज्यान जोखिम भएको कारण यसो गरेको हो । त्यसपछि सम्झने आमालाई हो । आनन्द विधवा आमालाई सम्झन्छ । सँगै आमाको दुःख । जसले रूढीग्रस्त समाजमा आँसु पिएर पनि आनन्दलाई मान्छे बनाएकी थिई । जनयुद्धमा सेनाले बिद्रोही मार्दा मारिनुअघि आमाको पुकार गरेको आमाको काखबाट थुतेर हत्या गरेको कहालि लाग्दो घटना अखबारले लेखेको हामीले पढेकै हो । अनुहारै नदेखेको बाबुको कल्पना गर्छ । त्यसपछि छोडेर आएको प्रेमिकालाई र मात्र ईश्वरलाई सम्झन्छ ऊ ।

हामी दुःखमा गाउँमा दाजुभाई छरछिमेक हुँदै अलि पर सम्झन्छौं । यो मानसिक बिम्ब आफूलाई मृत्युमा समर्पण गर्दा आम मान्छे कसलाई सम्झने गर्छ भन्ने तर्क लेखकले पेश गरेका छन् । बुद्धले पनि मानिस सबैभन्दा पहिले आफ्नो माया गर्छ भनेको यहाँ सत्य प्रमाणित छ । ईश्वरको सम्बन्धमा आमा ईश्वरको प्रतिनीधि भएकोले ईश्वर भन्दा आमा अगाडि पुकारिने तर्क यहाँ प्रमाणित छ । मान्छे अप्ठ्यारोमा गाउँमा गाउँको कार्यकर्ता गुहार्छ । आमा ईश्वरको सबैभन्दा विश्वासयोग्य कार्यकर्ता हो । प्रेमिका आमा भन्दा कनिष्ठ हो । मृत्यु पूर्वको त्यो पोर्टफोलियो सान्दर्भिक छ । प्रेमिका र आमाको हायरआर्कीमा पनि लेखक चुकेका छैनन् ।

प्रेमिका निर्मित सम्बन्ध हो आमा प्राकृत सम्बन्ध । ईश्वर बैचारिक र आस्थागत हो । यो मृत्यु पूर्वको चैतन्यको मनोग्रन्थीय चिरफार निकै सटीक र दूर्लभ मानिन्छ । हुन त समालोचकले भन्न सक्छ सम्भावितमृत्यु अघि यति छोटो समयमा आनन्दले सम्झन सक्छ ? समय छ ? वा यसरी बनिबनाउँ लेखिन्छ ?दौडदा लगभग पाँच मिनट लाग्ने स्थानमा गोलीलाई छल्दै आराम गर्दै घिस्रेर जाँदा एक घण्टा लाग्यो त्यो समयमा आनन्दले सम्झेको तथ्य हो यो । फेरी लेखक समाजको रोल मोडल पथप्रदर्शक अन्वेशक पनि हो । ऊ आफ्नो समाजशास्त्रीय पद्धतिसँग पूर्ण परिचित छ । र, कस्तो वैचारिकी स्थापना गर्ने त्यो ख्याल गर्छ ।

दुर्घटित मृत्युको आभासले मानिस सबै सिद्धान्त आचरण नियमनको बन्धनबाट मुक्त भएर बाँच्न उसले आफूभित्र सर्वप्रथम तिरस्कारको भाव निर्माण गर्छ भन्ने मनोवैज्ञानिक सिद्धान्त लेखकले प्रयोग गरेका छन् । आनन्दले ओसीलाई अस्वीकार गर्छ । यो सामन्य अवस्थामा अकल्पनीय हो । विश्वमा भएको अकल्पनीय घटनाहरू यहि सिद्धान्तमा हठात निर्माण भएको हो । जस्तो अब्राम्ह लिङकन महात्मगान्धीको हत्या । तर एक छिन पर्खने समय मिल्यो भने त्यो नहुन सक्छ टर्छ । यस कथामा आनन्द आफै मर्न र अरु लाई बचाउँन तयार हुन्छ । यो मान्छेको विविध समयको फरक र सुक्ष्म मनोग्रन्थीहरूको विन्यासले भरिएको मोडको घटना वर्णित छ ।

ब्रिटिस सेनामा काम गर्ने नेपाली गोर्खाहरुलाई गोराहरुले तलब पेन्सन सम्मान र बढुवामा गर्ने विभेधको अब्बल नमूना हो तक्मा कथा । ज्यानको बाजी थापेर विमिक ल्याएपछि गोरा अफिसरको समेत ज्यान बचेकोले आनन्द र अर्को सिपाही कृष्णलाई तक्माका लागि सिफारिस गरिन्छ तर कहिले प्राप्त गर्दैनन् । त्यस्तो बहादुरी काम गरेर सबै बाँचेकोमा हामीलाई बचायौ बाच्यौं नभनेर, गोराहरूले गोर्खा सिपाहीलाई बाल मतलव राख्दैन । वृटिस फोर्समा गोर्खाको ज्यानको कुनै महत्व छैन भन्ने तथ्य प्रमाणित गर्छ ।

बृटिस फौजको नेपाली मुलको सेना आनन्दले युद्ध सकिएपछि घर फिर्दा उनको दिमाग पश्चतापले अटेसमटेस हुन्छ । अफगानिस्थानको कुनै गाउँमा बृटिस बिमिक पुग्ने बितिकै एउटा लडाकुको परिवार खाँदाखाद गर्दै डल्लो परेर घर भित्र छिरेका थिए । तिनै नानीहरूको बाबु होला जो केही छिनमा क्रसफायरमा मारियो । मार्न त उसले पनि सक्थ्यो । न गोर्खा तालिवानको शत्रु हो, न तालिवान गोर्खाको सित्तैमा मारिएकोमा पछुतो लाग्छ । दुवै भातको लागि मारामार गरिरहेछन् । युद्ध कुनै खास कारण बिनै, उन्माद वा अन्य स्वार्थका लागि लडिएको छ । नेपालीले पैसाका लागि यसरी युद्ध लड्नु जायज हो ? लेखकले गम्भिर प्रश्न उठाएका छन् । त्यहिँ भएर गोर्खा भर्तीको विषय बाहिर त उठ्यो नै सदनमा समेत छिटफुट उठ्ने गर्छ । यो हत्याले लेखकको मनै अमिलिएको छ ।

कान्ते अर्थात क्रान्ति सिं कथा नेपाल खाल्डोको पिप निचोर्ने कथा ……

एउटा कान्ते पात्रले नेपाली समाजको घटनालाई जोडेर व्यक्ति नामाकरण गर्ने अनौठो थितिको ग्रामिण निम्न वर्गीय समाजशास्त्रीय पक्षको उद्घाटन गर्छ । मेरो गाउँमा पनि छत्तीस सालमा जन्मेको मान्छे नाम बहुदले काइँला छ । गाउँको सहनै नसकिने दुःखको झरीमा बाँचेको मान्छेको कथा छ । बालमजदुरको यातायात उद्योगमा कति शोषण हुन्छ छर्लङ्ग छ । यी दुःखहरू तेस्रो विश्वबाट फुत्त आएका होइनन् । मान्छेले मान्छे माथि नै मान्छे हुनलाई बनाइरहेको दुःख हो । कस्तो अत्यास अचम्मको दुःख । शहरमा बढी बिक्ने यौनधन्दा पूंजीवादमा आफै बेचिरहेका छन् । बाल यौन मनोविज्ञान ।

उपत्यकाको सार्वजनिक सवारी, समस्याको जालोलाई कर्याककुरुक उठान गरेको छ कथाले । एक सेकेण्ड कथाले माओवादी जनयुद्धको रोल्पा रुकुम सल्यान क्षेत्रको भयको तरङ्गलाई बिस्तारै बोलेको छ । जनयुद्धमा माविसम्म अध्ययनरत युवाहरूमा कसरी वैचारिक विभाजन आयो अभिभावकहरू कति सशंकित भए भन्ने सटिक कथ्य छ । ग्रामिण भेगमा व्याप्त त्रासको ज्वरो उच्च छ । सम्भावित युद्ध र धरपकडको दुर्घटनाबाट कसरी बच्ने भन्ने चलाखीको राम्रो वर्णन छ । ज्यान जोगाउनै पातलो मसालमा पार्टी परिवर्तन गर्नेहरू पनि छन् जसले विकेन्द्रीकरण चाहे पनि संघीय गणतन्त्रको बर्खीलापमा काम गरे र त्यही संघीय गणतन्त्रको मन्त्री भए । बिरोध चै गरिरहे । हाम्रो देशको राजनैतिक अनुहार । युके लाहुरे भिड्न तयार रहेको मानसिकता जनयुद्धको भय नै हो भन्ने आदि घटनाहरू देखिन्छ । बुर्जुवा शिक्षा बहिस्कार जस्ता गलत बैचारिकीको ज्यादा प्रभाव देखिन्छ । यस्तो दुष्प्रचारले युवालाई अध्ययनबाट विमुख गराई लडाकु दस्तामा सामेल गराउँन बलियो आधार माओवादीहरूले बनाएका थिए । तर लडाकु सेटलमेन्टमा त्यै बुर्जुवा शिक्षाको मापनको आधारमा योग्य र अयोग्य ठहरिए । अहिले ब्रिटिस सेनाको कटौतीको बैचारिकी पनि राष्ट्रियतासँग दाँजेर छलफलमा छ । धेरै आदिवासीहरूले यो राष्ट्रघात नभएर रोजगार हो भनिरहेका छन् । होइन यो राष्ट्रघात नै हो कटाउनु पर्छ भन्ने विचार राख्नेहरूको पनि उतिकै दमदार आवाज छ । सदनमा समेत हल्का रुपमा यो कुरालाई उठाइयो । लाहुरकै कारण दास मानसिकता भयो । स्वाभिमान स्वराजनीति स्वरोजगार देशभित्र गर्न छोडेर पहाडे जनजातिहरू विदेश पलायन भए । उनीहरू देशको स्थायी राजनीति र रोजगारबाट बञ्चित भयो भन्ने स्वभिमानि तर्क पनि छ । सिङ्गै देश रेमिट्यान्सबाट सञ्चालित भैरहँदा लाहुरे मात्र अपवाद होइन भन्ने तथ्य पनि उत्तिकै छर्लङ्ग छ ।

विश्व कम्युनिष्टवादी संस्थाहरूले पुँजीवादी शिक्षाको बिरोध गरे पनि उनीहरूका नेताका सन्तानहरू महङ्गो विद्यालयमा बुर्जुवा शिक्षाबाट दिक्षित भैरहेका हुन्छन्/ थिए । लाहुर लागेको कारण लेखक माओवादी जनयुद्धबाट त जोगियो तर अफगानिस्थानको युद्धमा जाँदा माइन विस्फोट भएर दुबै खुट्टा गुमायो । नेपाली गोर्खाहरुको कारूणिक तस्वीर यस कथाले बोल्छ । जीवन मुत्युदायक दुर्घटना नजिकबाट कैयौं चोटी भागिरहन्छ तर बाँच्नु चै जीवन हो । बोस्निया हर्ज गोभिनाको कहालिलाग्दो युद्धको त्रासद स्थिति कथाले बताउँछ । दैनिक एक अर्कामा रिसइबी साँध्न एउटाले अर्को समूहको हत्या बलत्कार गरिरहेको घिनलाग्दो जर्जर घटनाले मान्छेको मन भत्भती पोल्छ । सभ्यहामी यो सुन्दर भनिएको धर्तीमा पशुभन्दा निकृष्ट पनि बाँचिरहेका छौं ।

एक सेकेण्ड कथामा रोल्पाको हरि पुनको (बुढा मगर) जीवनको कथा छ । माओवादी द्वन्द्व देखि ब्रिटिस लाहुरे हुँदै जो अफगानमा एक सेकेण्डमा माइन विस्फोट भएर दुवै खुट्टा गुमाएपछि फलामको खुट्टाले पर्वतारोहण गरेका साहसी हरि जोखिम तथा साहसिक कार्यको उत्प्रेरक अभियन्ता भएर छुट्टै क्षमताको जीवन बिताइरहेका उनै हरि पुनको
(बुढामगरको) कथा हो । खुट्टा गुमाउँदा वा चोट पर्दा अरुले दया पूर्वक बिचरा भनेको विभिन्न प्रश्न सोधेको निजले पटक्कै मन पराउँदैन भन्ने तथ्य स्वयम बिरामी हरीले पनि भनेका छन । यो तथ्यलाई हामीले जीवनमा प्रयोग गर्नुपर्छ । उत्साह र समाधान आवश्यक छ दया होइन । हरीले फलामको खुट्टाले ६४७६ मि. अग्लो मेरापिक हिमाल चढेर विश्व रेकर्ड बनाए । सगरमाथा चढ्ने योजना छ । हरीको कथा सकारात्मक सोचले भरिएको आशावादी कथा हो ।

” ढङलङ बोजु” कथा…..

’ढङलङ बोजु’ कथा बृटिस सेनाका जवनाहरूले भोगेको मृत्यु र सेवा निवृत्त गोर्खाहरुको बेलायत बसाईको कठिनाईको फेहरिस्त बोल्ने कथा हो । प्रथम द्वितीय विश्वयुद्ध लडेका बेलायती गोर्खा सैनिकलाई विश्वको सभ्य सम्पन्न मुलुक बेलायतले असमान तलब भत्ता पेन्सन दिएको बिरोध भया । आन्दोलनहरु भयो । त्यसैको सोधभर्ना स्वरूप गोर्खा सैनिकलाई आवाशीय भिषा दियो । बेलायतले मजदुर र मुद्रा सञ्चिती नीति अनुसार यो नियम घोषणा ग-यो । पैसा नेपाल आउँन रोकियो । उसलाई सस्तो मजदुर प्राप्त भयो । आर्थिक सञ्चिती पनि भयो । तर रिटायर्ड गोर्खा सैनिकको बेलायत बसाईको क्रममा उनीहरूको बैङ्क खाता बिमा अस्पतालको कार्ड प्राप्त गर्न त्यति सजिलो भएन । अग्रेजी भाषा नजान्नेलाई यो सुविधा प्राप्त भएन । नेपाली भाषा अनुवादक राख्न मानेन । कति बदनियत कपटपूर्ण छन् बेलायतीहरू । उसको देश बचाउने ऐतिहासिक जवान हिरोजहरू प्रति अनुदार छ । नयाँ पुस्ताले त यी ऐतिहासिक महानता प्रति त्यत्ति चासो सम्म राख्दैनन् । के के न सुख हुन्छ भन्ने ज्येष्ठ नागरिगहरूले बेलायतमा दुःख भोगेका छन् । आफन्त बन्धु बान्धव बिना सम्वेदनाहिन संस्कारबिहिन मृत्यु वरण गरेको परिघटनाहरूले उनीहरुलाई दुःखी बनाएको छ । लोग्ने सुख क्षणिक भोगेको लोग्नेको अनाहकमा ज्यान गएको र पेन्सन समेत नपाएको ढङलङ बोजुको कथा तमाम गोर्खा सैनिकको परिवारको कथा हो । गोर्खा जसको नाममा देशले शिर ठाडो पार्छ । गर्व गर्छ तर ढङलङ् बोजु र उनको लोग्ने धनमान (कुलमानहरु) बेपत्ता छन् । डिभोर्स कथाले युके गोर्खा सैनिकको तालिमको बेलामा खुट्टामा चोट लाग्छ । दोस्रो अप्रेसनमा सेप्टिक भएर दशौं अप्रेसनमा एउटा खुट्टा काट्नु प¥यो (पर्ने अवस्था आउन सक्ने देखिन्छ ।) बेलायत जस्तो विकसित स्वास्थ्य सेवा भएको मुलुकले खुट्टाको सामन्य अप्रेसन राम्ररी गरेन । हेलचेक्र्याइँ गरेर खुट्टाको काट्ने सम्म गम्भिर अवस्थामा पु¥यायो । मुद्धा लडेर क्षतिपूर्ति लिन सकिन्थ्यो होला त्यो पक्ष कथाले भनेन । भन्नु पर्थो । गैर बृटिस भएकोले राष्ट्रियता जातियताको अध्याँरो छायाँ पनि देखियो । गोर्खा सैनिकको नामले देशले गर्व गर्छ तर एउटा कथा विद्यालयदेखि युनिभर्सिटी सम्ममा पढाई हुँदैन । त्यो गहन पक्ष
लेखकले उठाएका छन् । हामीले सम्पन्न सुखी भनेको ब्रिटिस गोर्खा सैनिकको दुःख एकाकीपन संघर्ष पीडा प्रताडना जोखिम पनि उत्तिकै छ । उनीहरूले कसरी आँसुसँग बाँचेका छन् भन्ने सबै अध्याँरो पक्षको समग्रता कथाले बोल्छ । देशले रेमिट्यान्स लिइरहेको छ । तर देश बेलायतसँग गोर्खा सैनिकको सेवा सुविधाबारे बोल्दैन ।

नोभेम्बर एघार कथा संग्रहकै शिर्ष कथा ……

यो कथामा बोर्नियो योद्धा गोर्खा सैनिक धर्मध्वज कोसोभोमा सहादत हुने उनको छोरा सारजन्ट राई र भूतपूर्वकवि रिक्सा चालक हितेको त्रिपक्षीय कहानीछ । जो गोर्खा सेनाको बलिदानी उनीहरूले भोगेको दुःख पीडाको केन्द्रमा छ । बोर्नियो युद्ध गोर्खा सैनिकले लडेका थिए त्यसपछि बेलायतले गोर्खाहरुलाई कटौती ग¥यो । साम्राज्यवादी बेलायत गोर्खाहरुलाई भाडाको सिपाही बराबर केही मान्दैन भन्ने तथ्य यो घटनाबाट पनि थाह हुन्छ । बेलायतले गोर्खाको मुद्धा हाइकोर्टमा पुगे पछि । आवासीय भिषा दिने निर्णय हुन्छ । रिटायर्ड लाहुरेहरुले बेलायत जान घरखेत बन्धकी राखेर भिषाको लागि प्रक्रिया चाल्छन् । भिषा पाउँने जान्छन् । नपाउँनेहरू फेरि जीवनमा अन्तिमपल्ट नराम्ररी पछारिन्छन् । गरगहना धनसम्पति फेरि सिद्धिन्छ । गोराहरुको अध्याँरो मन देखीसकेको नाक्छुङ धर्म ध्वज राई यो सुबिधाबाट पटक्कै लोभिन्दैनन् । उनी बोर्निया युद्धको नाम कटुवा सिपाही हुन् ।उन्नाइस सालको युद्ध जो लड्छन् ।

फिरेर माँझ कराँत आफ्नै पहाडमा बस्छन् । युद्ध सकिएर फर्कदा पानी पतिया गर्दैनन् आफ्नो संस्कृति प्रति अति संवेदनशील छन् । पतिया नगरी शान्त बिद्रोह गर्ने पात्र धर्म ध्वजले सांस्कृतिक विविधता र सांस्कृतिक अधिकारको वकालत गरेका छन् । नाक्छुङ मुन्दुम ज्ञाता पनि हुन् तिनचुला पुजा गर्छन् । औलो साम्य भएपछि एक्तिस सालमा धरान झरेर बस्छन् । धरानको लाहुरे टोलहरू युरोपको गाउँ जस्तै छ । यो सभ्यता लाहुरेकै देन हो । कति खाद्य पदार्थ बोटबिरुवा मसिनरी सामान सीप कौशल बानी व्यबहार लाहुरेहरुले नेपाल भित्र्याए । लाहुरेनी फुल डेलिया
लाहुरेकी स्वास्नीले उतैबाट ल्याएको हुँदा लाहुरे वा लाहुरेनी फुल भएको भनेर शुष्मा रूपाहाङ राईले लाहुरेनी फूल उपन्यासै लेखिन् । धर्म ध्वजको छोरा कोसोभोको युद्धमा मारिन्छ । उनको स्मृतिमा धरान बजारको भित्री चोकमा सालिग बनाइएको छ । त्यो सालिकलाई पप्पी डे नोभेम्बर एघारमा पुजा र सम्मान अर्पण गरिन्छ । प्रथम विश्वयुद्ध १९१४ मा फ्रान्स र बेल्जियमको सिमाना फ्रेन्डस फिल्डसमा योद्धाहरू र निहत्था नागरिकहरूको रगतले धर्ती रातो भयो । त्यहाँ धर्ती नै ढाकेर पप्पी फुल उम्रियो । प्रथम विश्व युद्धमा मारिएका बीस हजार गोर्खालीहरु र करिब दुई करोड सेना र नागरिकको सम्झनामा प्रत्येक बर्ष ११ नोभेम्बर पप्पी डे मनाइन्छ । भुतपूर्व कवि हिते रिक्सावालको बाबु प्रथम विश्व युद्धमा मारियो । जमानामा एसएलसी प्रथम श्रेणीमा पास आफ्नो मान्छे नभए पछि जागिर नपाएको । तर मामा शिक्षा मन्त्री भएपछि तेस्रो श्रेणीको साथीले त्यो जागीर खाएर हिते निरास भएको घटनाले हितेहरूको ज्ञान बौद्धिकता यो राष्ट्रमा अभिषाप भयो । प्रथम श्रेणीको हितेलाई रिक्सा तनाएर जीवनमा गोरु जस्तो जिउँन बाध्य बनाउँने यहाँको नश्लीयवाद जसले हालसम्मै उधुम देशको माया गर्ने डा.शेरबहादुर पुनलाई समेत गाँजी रहेको
छ । हो जसको समूल नष्टको आव्हान छ लेखकको ।

लुङटारिबुङ कथा……

लुङटारिबुङ कथा मुन्दुमी मुलस्वरमा सिर्जित कथा हो । संस्कार संस्कृति कै कारण मानिस कमजोर र शक्तिशाली हुँदैन मात्र त्यो संस्कृति देशले कति आत्मसाथ ग-यो भन्ने चाहिँ महत्वपूर्ण पक्ष हो । हरेक जातिलाई आफ्नो संस्कार संस्कृति उतिकै प्रिय हुन्छ । कारण यो उसको सृष्टि देखि पुर्खाले निर्माण गरेर जिनमै लगभग स्थापित भईसकेको हुन्छ । तिखे माइला माँझ किरातको वासिन्दा हो । उसको त्यत्रो ठूलो सपना छैन । छ त आफ्नै हैसियतको सपना ।

छोरा उर्जाहाङले एसएलसी उत्तीर्ण गरेपछि सिएसी चप्पल किनिदिने आफ्नो वाचा पुरा गर्न ऊ कटिबद्ध छ । प्रतिज्ञा सानो ठूलो जे भए पनि प्रतिज्ञा नै हो । राज्यले वाचा गरेको हरेक नागरिकको सपना तिखे माइलाले जति जिम्मेवार भएर पुरा गरे देश कति सुन्दर हुन्छ । तिखे माइलामा बोलेको बोली र फुत्केको गोली उस्तै हो पुरा गर्छ भन्ने आत्मविश्वास छ । पेरुङ्गो ठिक ठाक पारेर सुँगुरको खोरमा पाठा पक्डिन पस्छ । फूलस्वरीले पाठा किन पक्डिनु बरू पल्लो गाउँबाट भाले ल्याउँनु पोथी फुल्दैछ । अण्डा बतासे हुन्छ । भनेको दृश्यले गाउँको दृश्य सर्लक्कै छ । गाउँ एक माउँ कुखुरा एक माऊँ सुगुरमा कसरी बाँचिरहेको छ । जबकी बिर्य दिने एउटा भाले पनि गाउँमा अर्कैको घरमा छ । भाले नदिन पनि सक्छ ।

भालेसँग सपनाहरू मुस्किलले जोडिएका छन् गाउँमा । ओहो ! कम्ति घतलाग्दो दृश्यको उपस्थिति छैन यहाँ । तिखेले निकै बलपूर्वक फुलस्वरीलाई सम्झाएपछि पाठा पक्डेको हो । सुंगुरको लिदी लतपतिएको हिलै खुट्टामा बाहिरै उभिएर एक डबका जाँड स्वीकाए पछि बाटैमा हिलो धुँदै पान्धारे हटियामा पाठा बेच्न हिडेको हो । पाँचसय मुनि नबेच्नु भन्ने फुलस्वरीको आग्रह छ । किराँती सभ्यतामा महिलाको स्थान पुरूषको तुलनामा माथि छ त्यसैले यो निर्णय तिखेले पालन गरेको छ । तिखेसँग पाँच सयको डेड लाइन छ । पाँच सय पचासमा पाठा बेच्छ । पच्चिसको भुक्के हात्तीछाप चप्पल किन्छ । सिएसी पाइँदैन । सपना र वाचाहरू पनि कुनै एक विन्दुमा सम्झौता गर्नु पर्ने हुन्छ । बेलुका उर्जाहाङको फुर्ति हात्ती छाप चप्पलले टेकेर छोडेको डामले भनिरहेको छ । रु पच्चिसको बेमतमास रूपमा रक्सी किनेर जान अञ्जानलाई बाँडीदिन्छ । कस्तो वादल जस्तो फुक्का मन उसको । आज चङ्गा चङ्गा फुल फुल भएको छ ऊ । बाउ हुनुको कर्तब्य बोधले लछेप्रै भिजेको छ ।

चार माना मकैको चामल दुई माना धानको चामल भुटेको मकै भटमास केही जोर दौरा सुरुवालसँग आधा रातमा सपनाको केन्द्र काठमाण्डौ छिरेको उर्जाहाङ् डिग्री सकेर गाउँ फिर्छ । उर्जाहाङको प्रस्थानको दृश्यले हरेक पाठकको मनलाई तानेर आफ्नो बाल्यपनको सम्झनामा हुत्याउँछ । हाम्रो यो पुस्ताले उर्जाहाङ नियति भोगेर आएको छ । हामी त्यहीँ फर्केर जान्छौं । कहाँ उम्किन सक्छौं र हाम्रो विगत देखि । नेफाको सुरुवालको इजार घरे सुर्केउनीले
हामो सम्झनाहरू थुनेर राखेको छ ।

भोजपुर जिल्लाको थुम्लुङ गाउँ गएर थरपरे बिजुवासँग मुनदुम  कलन गर्छ । कठुवामा रक्सी लगेर शिर उठाउँछ । भोजपुरे शैली भाषिका आङ्नु भाको, सक्छुङ, तिमी पन्, सक्छा, पर्छा आदि उपभेदको प्रयोग सम्वादमा छ । यो स्वच्छ स्थानिकताले कथालाई सुन्दर मौलिक बेगल अर्ग्यानिक बनाएको छ । बिजुवाले राईहरू दश खोलाले सिमा निर्धारित दश गाउँमा बस्ने दश रित भएको जाति बताउँछ । मुन्दुममा पृथ्वीको उत्पति पानीको फेद मुहानबाट भएको भन्ने छ । घाम र पृथ्वीको सहवासले पानीमा सबैभन्दा पहिले खाल्डाखुल्डी होली सिमसारमा किरा प-यो । च्याउ उम्रयो ।
च्याउको ढुसीबाट काली निगुरो पलायो । त्यसपछि पहिलो काभ्राको रुख उम्रयो । काभ्रा उम्रेको कैयौं बर्षपछि मान्छेको उत्पति भयो । त्यही मान्छेको एक पुस्ता सुम्निमा पारुहाङ हो जो किराँत राईहरूको आराध्यदेव हो । मुन्दुममा हेत्छाकुप्पा एउटा अर्को पात्र हो जसको लस र खेउ दुई दिदी छन् । जसलाई तायामा खियामा समेत भनिन्छ । यिनीहरूको पिता पातेसुङ् दुई माता दिलिङदुङमा र युरिता छन् जसले सन्तान छोडेर जान्छन् । टुहुरा लस र खेउले हेत्छाकुप्पालाई हुर्काए । गुफामा तानबुन्दै गर्दा हेत्छाकुप्पालाई भोक लाग्छ खानेकुरा नभएपछि बेहोस हुन्छ । मरेको ठानेर रातभरी राखेर बिहान खाल्डामा केराको पातले छोपेर थोरै माटोले मुनि मुनि पुरेर गाडछन् ।

दिदी बहिनी उमेर पुगेकाले छुटिन्छन् । खेउ नमाने पनि छुटिन्छन् । लसले गुवाबुङ् रोपेर मधेस झर्छ खेउले युच्छुबुङ रोपेर पहाड लाग्छ । याद आउँदा यो चिहानको भ्रमण गर्ने र यी दुवै बिरूवा हेर्ने प्रस्ताव हुन्छ । ओइलिएमा बिरामी छ भन्ने जानी भेट्न जाने सर्त राख्छन् । यो कथाको बिरुवा रोप्ने र बिरूवाको अवस्था हेरेर मान्छे ठिक बेठिक भएको जाँच्ने जीवन पद्धति चाहिँ लिम्बुहरूको मुजिङ्ना खेयोङनाको कथाको वन्दङ बाबरी र सेकमुरी फूल रोपेको घटनासँग मिल्छ । हेत्छाकुप्पा बौरिएर बाँच्छ । केरा रोपेर गरि खान्छ । चाक्लुङधिमा ईर्ष्यालु महिला आएर अपहरण गरी लान्छ । हेत्छाकुप्पाले त्यसको छोरी मारेर त्यसैलाई ख्वाउँछ र भाग्छ । कन्दमुल अन्न कोदो खाएर हुर्किन्छ । ढुकुर पासोमा पारेर त्यसको गाँडको कोदो मकै निकाली छरेर खेती गर्छ यो ज्ञान को मा बोजुले प्रदान गर्छिन् । यो तथ्य लिम्बुहरूको लोककथामा पनि छ । त्यै समयदेखि खेती गरेको भन्ने आख्यान छ ।

चेचेन्वाको सहयोगमा हेत्छा कुप्पाले बिहे ग-यो । लस र खेऊ दिदीहरूलाई सम्झ्यो । उनीहरु धनेशको आत्मामा चढेर आए । भेट भयो । हेत्छाकुप्पाले आफूलाई, लुङटारिबुङ्, ढुङ्गामाथि फुलेको फुल नाभो दुख्खले हुर्केको जब्बर फुल भनेको छ । मान्छेको जीवन लुङटारिबुङ, अर्किड सुनगाभा, जब्बर फुल जस्तै छ । हेत्छाकुप्पाको दिदीहरूले तान बुनेको दृश्यले त्यो समयको पारिवारिक कुटिर उद्योगलाई व्यक्त गर्छ । भोकले मुर्छित हेत्छाकुप्पाको शव दहनले आदिवासीहरूको यो संस्कृति सृष्टि देखि नै हो भन्ने तथ्यको प्रमाण बोल्छ । यो कथामा प्रयोग भएको ईष्र्या डाहा मानवीय स्वभाव हो । जो मानव सृष्टि देखि थियो । हरेक सभ्यताको मिथकीय आख्यानले बताउँछ । क्यान्निबुलिष्टिक चाक्लुङधिमाको घरमा रगत चुहाउँने डुँढ थियो । जसबाट सुँगुरलाई चारो समेत ख्वाउँथ्यो । त्यो सामग्रीको कथनले त्यसबेलाको काष्ठ शिल्प र कलालाई व्यक्त गर्छ । चाक्लुङधिमाले हेत्छाकुप्पालाई मारेर खाने निर्णय गरेको घटना विश्वमा कैयन सभ्यतामा नरबलीको चलन थियो । हिन्दु सभ्यतामा पनि यो स्थापित थियो । माधवीमा समेत जो वर्णित छ । माया सभ्यतामा त नरबलीको भयङ्कर मान्यता थियो ।

पपुवान्यूगिनीमा क्यान्नीबल्स मानव बध र मांस आहार चार दशक अघि सम्म कायम थियो । अहिले बाँचिरहेका ज्येष्ठ नागरिकहरूले दुई पटक सम्म मानव मांस खाएको स्वीरेका छन् ।
नागाल्याण्ड तिर क्यान्नीबल सम्मान पूर्वक लिइन्थ्यो । यो बर्बरता आज हाम्रो मिथकीय मान्यता भएर बाँचेको छ । लुङटारिबुङको क्यान्निबल त्यत्तिखेरको नकारात्मक पात्रहरूको मान्यता थियो । जो रामायण महाभारतमा पनि छ । हेत्छाकुप्पाले छिमेकीबाट बिऊ माग्दा भुटेर दिएको सन्दर्भले त्यस जमानामा मानिसहरूको सोच अहिलेको बहुराष्ट्रिय कम्पनीसँग मेल खान्छ ।

बहुराष्ट्र कम्पनीले अन्न दिन्छ बिऊ हुने गरी दिदैंन जस्तो मोन्ट्याँन्सो मकै । हाम्रो सोच पृथ्वीभरीमा फरक नभएको लाग्छ । हेत्छाकुप्पाको बिबाहमा बेहुली तर्फबाट बाटो छेकनी गरेको र चेचेन्वाले मुन्दुमी व्याख्याले बाटो खोलेको दृश्य आदिवासीहरूमा असंख्य छन् । यस्तो सांस्कृतिक चलन सभ्यताको शुरूबाटै निर्मित भएको तथ्यगत प्रमाण लुङटारिबुङ कथाले उत्खनन् गर्छ । मान्छे पशु प्राणीबाट ज्यादा प्रभावित लाभान्वित रहेको तथ्य उजागर र सान्दर्भिक छ । त्यसकारण पशु प्राणीको संरक्षणले मात्र हाम्रो र पृथ्वीको अस्तित्व संरक्षण हुने दावा मुन्दुमि
र मुन्धुमि सत्य हो । मुन्धुम वास्तवमा जीवन सत्य नजिक छ । यो एक लोकोक्ति जो सृष्टि देखि सहार सबै जीवनको नदीलाई अनवरत बगाइ रहन्छ ।