नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ हजार ४ सय ४८

२५ जेष्ठ, नेपालगञ्ज/  नेपालमा आईतबार थप २ सय १३ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा २ सय १३ नयाँ संक्रमित भेटिएको जानकारी दिनुभएको छ । पछील्लो रिपोर्ट संगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

आईतबार सार्वजनिक गरिएको रिपोर्ट अनुसार संक्रमित हुनेहरुमा झापा, सिरहा, रोल्पा,दाङ र सुनसरीका २/२ जना, बांके,कालिकोट,दैलेख र उदयपुर र मोरङका ३/३ जना, सिन्धुपाल्चोक, बर्दिया, प्युठान, धादिङ,धनुषा र रौटहटका १/१जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना लगायतका रहेका छन् ।

नेपालका ७७ जिल्ला मध्य ७१ जिल्लाका सबै ७ वटै प्रदेशहरुमा कोरोना संक्रमण फैलिइसकेको छ ।
कोरोना पोजेटिभ पाइएका प्रदेशहरमा प्रदेश नम्बर १ को १२ जिल्लका २५९ जना, प्रदेश २ को ८ जिल्लाका ११६१ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ९२ जना, गण्डकी प्रदेशका ९ जिल्लाका १११ जना, प्रदेश ५ का १२ जिल्लाका १०८१ जना, कर्णाली प्रदेशका ९ जिल्लाका ६३३ जना र सुदुरपश्चिमका ९ जिल्लाका १११ जना रहेका छन ।

हालसम्म नेपालका क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन भने आइसोलेसनमा २ हजार ९ सय ६८ जना रहेका छन् । संक्रमितहरु मध्य ४ सय ६७ निको भएर घर फर्किसकेका छन ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९६ हजार २०५ परीक्षणहरु गरिएका छन्