२ असार, काठमाडौं/ मकवानपुर की ३९ बर्षिय सविता २ बच्चाकी आमा हुन र उनको बिहे भएको ११ वर्ष भयो ।
सविता सरकारी जागिरे र श्रीमान् ढुवानी सम्बन्धी काम गर्नुहुन्छ । दुबै जनाको जेनतेन मिलिजुली घर चलेकै थियो ।
लकडाउन सुरु भएपछि श्रीमान् श्रीमती दिनभर घरमै हुने भएकाले श्रीमानले श्रीमतीलाई पटक–पटक यौनसम्पर्क गर्न खोज्ने श्रीमानको व्यवहारबाट श्रीमती सविता हैरान भएपछि जिल्ला प्रहरी कार्यालय हेटौंडामा सबिता उजुरी दिन गइन् । तर प्रहरीले २ जनाको झगढा मिल्नोस भनेर उजुरी लिन मानेन ।
त्यसपछि उनले कानुन व्यवसायीको सहयोगमा प्रहरी प्रधान कार्यालय काठमाडौंको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा अनलाइन उजुरी दर्ता गरिन् ।
प्रधान कार्यालयले भनेपछि जिल्ला प्रहरीले उजुरी दर्ता गर्यो अनि सविताका श्रीमानलाई पक्राउ गरेर मुद्दा चलायो । लकडाउनकै बीचमा जिल्ला अदालत मकवानपुरमा थुनछेकको बहस भयो, काठमाडौंका केही कानुन व्यवसायीले पिडितको पक्षबाट भर्चुअल बहस पनि गर्नुभएको थियो ।
बहस–पैरवीपछि अदालतले सविताका श्रीमानलाई धरौटीमा छाड्न भन्यो, तर घर नजाने आदेशका साथ । पीडितको संरक्षणका लागि पीडकलाई घर नजान अन्तरिम संरक्षणात्मक आदेश भएको हो । आदेशमा ‘वैवाहिक घरमा पीडित श्रीमती बस्नु, पीडक श्रीमान् लाई बस्न नदिनु, कुनै किसिमको हतोत्साहित गर्ने कार्य नगर्नु’ भन्ने उल्लेख छ ।
के हो वैवाहिक बलात्कार ?
श्रीमान् वा श्रीमतीमध्ये एकको इच्छा विपरीत यौनसम्बन्ध राख्नु वैवाहिक बलात्कार हो । लकडाउनको अवधिमा यस्तो अपराध बढेको छ ।
वैवाहिक बलात्कार २०औं शताब्दीको मध्यतिर प्रकाशमा आएको हो । नेपालमा पहिलो पटक २०६३ सालमा यससम्बन्धी कानुनी व्यवस्था भएको हो । त्यसबेला जबरजस्ती करणीको महलमा एउटा व्यवस्था थपेर वैवाहिक बलात्कारमा ३ महिना देखि ६ महिना कैद हुने गरियो ।
त्यसपछि मुलुकी अपराध संहिता जारी हुँदा पीडितलाई तत्काल संरक्षण दिन अन्तरिम संरक्षणात्मक व्यवस्था गरियो । मुलुकी अपराध संहिताको करणीसम्बन्धी व्यवस्थामा वैवाहिक घरमा पीडकलाई बस्न नदिने व्यवस्था छ ।
महिलाले हर बखत पुरुषको यौन चाहना पूरा गर्नुपर्ने र यौन मामिलामा श्रीमानको आज्ञा मान्नैपर्ने अवस्था तोड्ने कानुनी व्यवस्था विश्वका लोकतान्त्रिक मुलुकहरूले गरेका छन् । ‘नारीको शारीरिक अधिकार नारीमा नै हुने’ चेतनाको विकास सन् १९६० र ७० को दशकमा पश्चिमा मुलुकहरूले गरेका हुन् । समाचारमा उल्लेख गरिको पात्रको नाम परिवर्ति हो । अनलाईनमा रघुनाथ बजगाईले समाचार लेख्नुभएको छ ।
हाम्रो संरचना । २ असार २०७७, मंगलवार १८:५६