बढदै छ, भारतमा कोरोना कहर:  ४ लाख ९० हजार बढी संक्रमित १५ हजार ३ सय १ जनाको मृत्यु

Photo: Google

१२ असार,नयाँदिल्ली/  भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको दैनिक संख्या दिन/ प्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार बिहान सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको देखाएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २ सय ९६ जना संक्रमित भएका पाईएको छ । योसँगै भारतमा कोरोनाबाट कुल संक्रमितको संख्या ४ लाख ९० हजार ४ सय १ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३ सय १ जनाको मृत्यु भएको छ । तीमध्ये ४ सय ७ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।मन्त्रालयले स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजेसम्मको तथ्यांक सार्वजनिक गरेको हो । उनीहरुले भारतमा अहिलेपनि १ लाख ८९ हजार ४ सय ६३ जना संक्रमित अवस्थामै रहेको जानकारी दिएका छन् ।

त्यसैगरी, अरु २ लाख ८५ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांकअनुसार कुल संक्रमितमध्ये ५८.२४ प्रतिशत बिरामी संक्रमणमुक्त भएका छन् । यसलाई सरकारी अधिकारीहरुले सकारात्मक संकेतका रुपमा व्याख्या गरेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोनाका कारण मृत्यु भएकामध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशका रहेका छन् । महाराष्ट्र प्रदेशमा मात्रै एक दिनमा १ सय ९२ जनाको मृत्यु कोरोनाकै कारण भएको छ ।

त्यसैगरी, केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली प्रदेशमा ६४ जना, तमिलनाडुमा ४५ जना, गुजरातमा १८ जना, पश्चिम बंगाल र उत्तर प्रदेशमा १५÷१५ जना, आन्ध्र प्रदेशमा १२ जना, हरियाणामा १० जना, मध्य प्रदेशमा आठजनाको पनि पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार पञ्जाबमा ७ जना, कर्नाटकमा ६ जना, तेलंगनामा ६जना, राजस्थानमा ४ जना र जम्मु–काश्मिरमा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । रासस/ पीटीआई