जनताको तिव्र सर्वाङ्गीण विकासको आकांक्षालाई सम्बोधन गर्न स्थानीय उत्पादन र बजारीकरणमा जोड दिन मुख्यमन्त्रीको आग्रह

 

२१ साउन,दाङ/ ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल बुधबार  प्रदेश सरकारको लगानीमा दाङ जिल्लाका विभिन्नन ठाउँहरुमा  निमार्ण भएका पाँचवटा कार्यक्रममा सरिक हुनुभएको छ।

दाङको घोराहीमा रहेको ऐतिहासिक र पुरानो सर्वोदय पुस्तकालयको नवनिर्मित भवन, जिल्ला घरेलु कार्यालय भवन र लमही स्थित नर्ती खानेपानी आयोजनाको उद्धघाटन गर्नुभएको छ ।

त्यसैगरी बुधबार नै मुख्य मन्त्री पोखरेलले दाङ जिल्ला सभा र गोबरडिहाको सर्पदंश उपचार केन्द्रको पनि उद्धघाटन  गर्नुभएको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभएको छ ।

ती कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोख्रेलले कृषि उत्पादनलाई उद्यमसंग जोड्ने गरी प्रदेश सरकारले कार्यक्रम ल्याएको बताउनुभयो । प्रदेश ५ सरकारले  स्थानीय स्तरमा उद्यम बढाउन र रोजगारी श्रृजना गर्न सघाउ पु-याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु अगाडि सारेको बताउनुभयो ।

स्थानीय उत्पादनको बजारीकरणमा जोड दिएर आयआर्जन बढाउने गरी अघि बढ्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारले सघाउ गर्ने कार्यक्रम ल्याएको मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी दुई वर्षभित्र नागरिकको घरदैलोमा आधारभूत रुपमा खानेपानी पु-याउने गरी काम गरिरहेको,सरकारले विकास निर्माणका कामलाई अघि बढाइरहेको भन्दै मुख्यमन्त्री पोखरेले विकासका काममा नागरिकको सहभागिता आवश्यक रहेको बताउनुभयो ।

सम्पन्न विकास निर्माणका काम कोभिड-१९ ले श्रृजना गरेको असहज अवस्थामा पनि निरन्तर काम भई सम्पन्न भएका हुन् ।