पछील्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि, भेरीमा ३० जना


२९ साउन,नेपालगञ्ज/  नेपालमा पछील्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको मिडिया ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछील्लो २४ घण्टामा देशभरीका ल्याबहरुमा आटिपिसिआर बिधिबाट ९ हजार ५ सय ५९ जना ब्यक्तीको कोरोना भाइरस  परीक्षण गरिएकोमा त्यस मध्य ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार सम्म नेपालमा  कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ ।

गत २४ घन्टामा १०९ जना निको भएर घर फर्किएका छन् । हालसम्म १६ हजार ८ सय ३७ निको भएको छ । यो कुल संक्रमितको ६७ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ जना रहेका छन् । क्‍वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । हालसम्म ४ लाख ८३ हजार २८ परीक्षण भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभएको छ । ।

यता भेरी अस्पतालमा रहेको कोरोना परिक्षणको ल्याबमा बिहिबार अपरान्ह ४ बजे सम्म सार्वजनिक गरिएको रिपोटमा बाँके जिल्लाका २२ जना र बर्दिया जिल्लाका ५ जना, बीरेन्द्रनगर सुर्खेतका ३ जना गरि ३० जनामा कोरोना संक्रमित भएको रिपोट आएको र अन्य लटको पनि परिक्षण भइरहेको बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जानकारी दिनुभएको छ । बाँके जिल्लाका २२ जनामा जसमा नेपालगञ्जका १५ जना र कोहलपुरका ७ जना छन ।