हाम्रो बिहेको दिन
तिमीलाई तिम्रो जन्मघरबाट
मेरो घरमा ल्याउदा
तिमी खुब रोएकी थियौ ।
बाबा र आमासंग अंगालो मार्दा,
छुट्नै मानेकी थिईनौ ।
तिमी जन्मघरबाट बिदाई हुँदा
कर्मघर तिर पाईला सार्दै गर्दा
आँखाले देखुन्जेल आफ्नो घरलाई खुब हेरेकी थियौ ।
तिमी डाको छोडेर रुँदा
आखाँ सुन्निने गरी आँशु बगाउदा
मैले पनि मन थाम्न सकेको थिईन ।
मुटुको धड्कनलाई रोक्न सकेको थिईन
मन भक्कानेर फुटेको थियो
थाहै नपाई आँखाबाट आशु झरिसकेका थिए ।
मलाई लागेको थियो
मैले ठूलै पाप गरे
ठूलै भुल गरे
अनि, त्यही दिन प्रण गरे
उप्रान्त तिमीलाई रुन दिनै छैन
दुख दिने छैन ।
सक्छु, सुख दिन्छु
सक्दिन तिमी संगै दुखमा आँशु बगाउछु ।
तिमी सबेरै दैलो पोछो गर्दा
म ओच्छ्यानै हुँदा
चिया बोकेर मलाई ब्युझाउन आउदा
तिम्रो अनुहारमा, प्रष्टै मेरी आमाको अनुहार देख्छु ।
तिमीमा मेरी श्रीमती, श्रीमती देख्दिन
ममतामयी आमा देख्छु
आमाले गर्ने माया जस्तै
आमाले गर्ने प्रेम जस्तै ।
म आफैलाई भाग्यमानी ठान्छु
मेरा सामानहरु सम्हालेर राखिदिदा
यत्रतत्र छिरिएका कपडा र किताबहरु
मिलाएर राखिदिदा ।
मैले तिमीमा,
मलाई धेरै माया गर्ने मेरी दिदी देख्छु ।
खेतबारी र मेलो जाँदा
गफिदै हिड्दा
जिस्किएर र ठट्टा गर्दै गर्दा
मैले तिमीमा श्रीमती, श्रीमती पाउदिन
मेरै जिक्री पाउछु
मन मिल्ने साथी पाउछु ।
तिमी साना-साना कुरामा गुनासो गर्दा
मन दुखाउदा
चित्त दुखाउदा
किचकिच गर्दा
अनि मैले सम्झाउदै गर्दा
मैले तिमीमा श्रीमती, श्रीमती पाउदिन
मेरी सानी, प्यारी बहिनी पाउछु ।
म जन्मिदा,
मेरी आमाले
धेरै कष्ट भोग्नु भाथ्यो रे !
२७ घण्टे प्रसव पिडा खेपेर,
मलाई जन्म दिनु भा’को रे !
तिमी दुई जिउकी हुँदा
मैले प्रण गरे,
मैले कसम खाए
बाचा गरे
तिमीमा त्यो पिडा हुन दिने छैन
तिमीलाई त्यो दुख हुन दिने छैन ।
९ महिना सम्मस
तिमी र मेरो निशानीलाई पेटमा हुकार्उदै गर्दा
म तिमीसंगै भए ।
तिमी जहाँ गयौ, म त्यही गए
तिम्रो साथ कहिल्यै छोडिन ।
तिमीलाई सुत्केरी व्यथाले च्याप्दा
प्रसव पिडामा हुँदा
म तिमीसंगै रोएको थिए ।
तिमीले आँशु पुछिदिदै भनेकी थियो
नरुनु केही हुँदैन
म डाको छोडेर रोएको थिए ।
म, चाहान्थे
मेरी आमाले भोगेको पिडा
तिमीले भोग्नु नपरोस,
त्यो दुख्न खेप्नु नपरोस ।
तिमीलाई एक पल पनि छोड्न मन लाग्दैन्थ्यो
यसैले त म सधै तिमी संगै हुन्थे ।
मैले तिमीलाई तेल घसिदिदा
तिम्रा कपडा धोईदिदा
कतिले मलाई जोईटिङ्ग्रे भने
कतिले मलाई लाछी भने
कतिले स्वास्नी हारा भने
धेरै नामहरु दिए
धेरै उपनामहरु पाए ।
प्यारी,,,जसले जे भनुन्
जसले के कहुन्
तिमी मेरी आधा अङ्ग हौ ।
सक्छु सुख दिन्छु
सक्दिन तिमी संगै दु:खमा रमाउछु ।
# प्रितम #नेपालगञ्ज
हाम्रो संरचना । २५ भाद्र २०७७, बिहीबार ०९:४५