यातना पीडितलाई मानवअधिकार सहायता कक्षको सहयोग

 

 

#स्मृति देवकोट#

२ असोज, नेपालगञ्ज/ जिल्ला प्रहरी कार्यालयको हिरासतमा यातना पाएका कोहलपुर नगरपालिका–१५ का १८ वर्षीय दिपक यादवको उपचार सहयोगका लागि मानव अधिकार सहायता कक्षले असोज २ गते आर्थिक सहयोग गरेको छ ।

मानव अधिकार सहायता कक्षले पीडितको थप उपचारका लागि सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको इन्सेकका प्रदेश प्रमुख भोला महतले बताउनु भयो ।

आर्थिक सहयोग रकम हस्तान्तरण गर्दै । फोटो तथा शब्द इन्सेक।

डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेक, नेपालगञ्जमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा गिरफ्तार गरी हिरासतमा राखेर कुटपिट गरेको र यातना दिने प्रहरीलाई कारबाही र पीडितलाई क्षतिपुर्तिको माग भन्दै पीडितपक्षले ०७६ पुस २३ गते राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जमा उजुरी दिनुको साथै इन्सेक नेपालगञ्जमा बोधार्थ दिएका थिए ।

घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरिरहेको जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईले पीडितको उपचारमा आर्थिक समस्या देखिएकोले उपचारमा सहयोग पु-याउन राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार सहायता कक्षलाई सिफारिश गरेको बताउनु भयो ।

बसमा यात्रा गर्ने क्रममा ०७६ पुस १३ गते एक जना महिलाको झोला र आवश्यक कागजात हराएको भन्दै पुस १६ गते नेपालगञ्जबाट कोहलपुरतर्फ जादै गरेको भे १ ख २२३९ नम्बरको बसलाई प्रहरीले कारकादो चोकमा रोकेर यात्रुलाई झार्न लगाई बसका चालक कोहलपुर नपा–६ बस्ने सुवास थारु , कन्डक्टर कोहलपुर नपा–७ बस्ने जंगली थारु र सहचालक दिपक यादवलाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको थियो ।

प्रहरी कार्यालयमा लगेर समान चोरेको आरोपमा लाठीले कुटपिट गरेको र खुट्टा पसार्न लगाएर बुटले कुल्चेर यातना दिएको दिपकले बताउनु भयो । कुटपिटका कारण उभिन र हिडँडुल गर्न नसक्ने यादवलाई नेपालगञ्ज नर्सिङ होममा पुस १७ गते र पुनः पुस २१ गते उपचार गरिएपनि पुर्ण रुपमा ठिक नभएको पीडितले बताउनु भयो ।

सहयोग रकम बुझ्दै पीडितले अप्ठ्यारो परिस्थितिमा मानवअधिकार सहायता कक्षले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै प्राप्त रकमले उपचारमा सहयोग पुग्ने बताउनु भयो । स्मृति देवकोट