कोरोनाको कारण भेरी अस्पताल नेपालगञ्जमा वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टरको मृत्यु

photo: कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन स्वर्गीय डाक्टर हरिप्रसाद सापकोटा ।

१५ असोज, नेपालगञ्ज/ कोरोना संक्रमणका कारण नेपालमा पहिलो पटक वरिष्ठ अर्थोपेडिक सर्जन चिकित्सकको बिहीबार अपराह्न नेपालगञ्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको  छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ घरभई सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँँ सुर्खेतमा कार्यरत ५९ वर्षीय वरिष्ठ चिकित्सक कोरोना संक्रमणका कारण बिहीबार अपराह्न नेपालगञ्ज स्थित भेरी अस्पतालमा रहेको कोरोना वाडमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट निधन हुनुभएका भेरी अस्पतालमा दरबन्दी भै कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा काजमा कार्यरत बरिस्ठ चिकित्सकलाई अन्तिम सलामी अर्पण गर्दै नेपाली सेना।

वरिष्ठ चिकित्सकको कोरोनाका कारण मृत्युको सम्बन्धमा स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं बाँके कोरोना संकट व्यवस्थापन समितिका फोकल पर्सन नरेश श्रेष्ठ द्वारा जारी गरिएको प्रेश नोट:

डाक्टरको मृत्युको सम्बन्धमा भेरी  अस्पतालले जारी गरिएको प्रेस विज्ञप्ति यसप्रकार छ….

विज्ञप्ती

असोज १५, २०७७
अपराह्न ५ बजे

कर्णाली प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा हरी प्रसाद सापकोटा, ५९/पुरुषलाई COVID-19 संक्रमण भइ (पहिचान मिति – भदौ २९, २०७७) सोहि अस्पतालमा उपचाररत रहेकोमा स्वास प्रस्वासमा समस्या आएको हुँदा असोज १, २०७७ मा यस अस्पतालको कोभिड बिशेष आइसोलेसन वार्डमा भर्ना गरि उपचार सुरु गरिएको,

वहाँ डायबेटिजको निम्ति इन्सुलिन र उच्च रक्तचापको निम्ति नियमित औषधि लिइहनुभएको भएतापनि अस्पतालमा भर्ना हुँदा वहाँको सुगर नियन्त्रणमा थिएन ।

वहाँलाई सुरुमा अक्सिजन, ब्लड सुगर नियन्त्रणको निम्ति बिभिन्न किसिमका इन्सुलिन र एन्टिबायोटिकमा राखिएको थियो । साथै, अक्सिजन स्याचूरेसन मेन्टेन नभइरहेककोले CPAP (Continuous Positive Airway Pressure) मा राखि उपचार सुरु गरिएको । CPAP मा पर्याप्त अक्सिजन स्याचुरेसन मेन्टेन नभएकोले BIPAP (Bilevel Positive Airway Pressure) तथा पछि HFNC (High Flow Nasal Canula) मा समेत राखि उपचारको गरिएको । यस बिचमा वहाँलाई Remdesivir साथै प्लाज्मा थेरापी समेत प्रयोग गरिएको थियो ।

उपचारको क्रममा वहाँको स्वास्थ्यमा आशातित सुधार नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत थप सुविधा सम्पन्न ठाउँमा प्रेषण गर्ने हरसंभव प्रयास गरिएको भएतापनि अक्सिजन स्याचूरेसन निकै कम भएको हुँदा प्रेषणकै क्रममा कुनै दुर्घटना हुने संभावना देखि गर्न नसकिएको ।

सबै प्रयासका वावजुद पनि वहाँको फोक्सोमा सुरुमा निमोनिया र सोको परिणाम स्वरुप Severe Acute Respiratory Distress Syndrome (ARDS) बिकास भइ अक्सिजन स्याचुरेसन घट्दो रहेकोले आज बिहान ६ बजे Endotracheal Intubation गरि कृत्रिम स्वास प्रस्वास प्रणाली (Mechanical Ventilator) मा राखिएको। करीब १२ बजे मुटुको चाल बन्द हुँदा Cardio Pulmonary Resuscitation (CPR) गरि व्यूँताउन सफल भएतापनि अन्तत्वागोत्वा दिउसो ३:३० Irreversible Cardiac Arrest भइ मृत घोषणा गर्नु परेको ।

डा सापकोटाको मृत्यूले देशको स्वास्थ्य क्षेत्रमा एक अपूरणीय क्षति भएको छ भने राष्ट्रले एक सच्चा सेवक गुमाएको छ ।

यस शोकको घडीमा परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।