कोरोना कहर: मृत्युदर उकालो तर्फ, लुम्बिनी प्रदेशमा पनि एकैदिन ६ संक्रमितको मृत्यु

 

२५ असोज, नेपालगञ्ज/लुम्बिनी प्रदेशका २ ठुला शहरहरु नेपालगञ्ज र बुटवल मा एकै रात ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ।

नेपालगञ्ज स्थित भेरी अस्पतालमा शनिबार राति २ जना र बुटवलमा २ जना कोरोना संक्रमित व्यक्तिहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा नेपालगञ्ज- १० ट्राफिक चोक निवासी ८४ वर्षिय पुरुषको शनिबार राती ९:५५ बजे मृत्यु भएको छ ।

त्यसैगरी कोहलपुर-८ गोल्छा नजिक बस्ने ७१ बर्षिय माहिलाको शनिबार राति १०:०० बजे मुत्यू भएको छ । यो सङ्गै बाँकेका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। बाहिर जिल्लाको १२ समेत गरि बाँकेमा ३८ जनाको पुगेको छ।

त्यसैगरी कोरोना संक्रमणबाट रुपन्देहीको बुटवल उप-महानगरपालिकाका ३ जना र तिलोत्तमा नगरपालिकाका १ जना गरी ४ जना रहेका छन् ।

बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि बुटवलमा आईसीयू बेड नभएपछि उहाँलाई दाङको बेलझुण्डी स्थित कोरोना अस्पताल वा मेडिकल कलेज, कोहलपुर ल्याउने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो ।

यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भईसकेको छ ।

देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । संक्रमितहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।