नेपालमा जति पनि राजनीतिक पार्टी छन, तिनका नेतालाई आफ्नो पार्टीको सैद्धान्तिक ज्ञान, त्यसको कार्यान्वयनको ज्ञान छ कि छैन ? त्यो उहाँहरूले नै आत्ममन्थन गरी जान्ने कुरा हो ।
मलाई लागेको कुरो के मात्र हो भने अहिले उहाँहरूले आत्ममन्थन गरेर आफ्ना कमी कमजोरीलाई पत्ता लगाउनुस । किनभने तिनलाई सच्याउनु जरुरी छ । मेरो ज्ञानमा नेपाली नेताहरू सपना देखाउन जान्दछन तर कुन बाटोबाट त्यो स्थानमा पुगिन्छ भन्ने जान्दैनन ।
बोल्न सिपालु छन, तर तिनीहरू बोलीलाई व्यवहारमा कसरी उतार्ने भन्ने जान्दैनन । नेपालमा प्रत्येक ठूला नेताले आफूलाई समाजवादी भन्छन। ‘घरघरमा सिंहदरबार !’ कति मिठो शब्दजाल तर घरघरमा पुग्नुपर्ने सिंहदरबारलाई तिनीहरू आफ्नो खल्तीमा राख्छन र भन्छन, मेरो खल्ती नै सिंहदरबार हो, त्यसैले म जहाँ पुग्छु, त्यहाँ सिंहदरबार पनि पुग्छ ।
नेपालमा जति मानिसहरू आफूलाई माक्र्सवादी भन्छन, तीमध्ये ९९ प्रतिशत झुट बोलिरहेका छन् । तिनीहरू माक्र्सवादी होइनन । तिनीहरू स्टालिनको ‘लेनिनवादका आधारहरू’ भन्दा माथि पुग्नै सक्दैनन । लेनिनवादले तिनलाई सर्वहारा वर्गको अधिनायकत्वमा च्यापेर राखेको छ तर कार्लमाक्र्स कुनै पनि शक्ति र वर्गको अधिनायकत्वको पक्षमा कहिल्यै थिएनन ।
उनले त्यस्तो समाजको कल्पना गरेका थिए– जहाँ सबै मानिस स्वतन्त्र हुन्छन। कोही पनि अर्को कोहीबाट पीडित हुँदैन । वर्गविहीन समाजको परिकल्पना भनेको यही हो । तर नेपालमा नेताहरू राजा भएका छन । राजा मात्रै हुनु पनि कुनै ठूलो कुरो थिएन । राजा पनि एउटा मान्छे नै हो । तिनीहरू त दलाल पुँजीवादका अभिभावक भएका छन, रक्षक भएका छन।
यहाँसम्म कि तिनीहरू दलाल पुँजीवादको कर्मचारी, खेताला भएका छन् । यस्ता नेताले समाजवादको कुरो गर्नु र मैले शास्त्रीय सङ्गीतको कुरो गर्नु एउटै कुरो हो । नेपालमा अहिले नेता भएर बाँचिरहेका मानिसहरू बाँचिरहेसम्म नेपालमा कहिल्यै समाजवाद आउँदैन । ‘एक्काइसौं शताब्दीको समाजवाद’ नेपालका लागि फगत सपना हो । एक्काइसौं शताब्दीको कुरा छोडिदिनु होस, हाम्रो तीन पुस्ता पछिसम्मकाले समाजवादको कुरै नगरे हुन्छ ।
यही तालमा बाटो हिँडिरहने हो भने त हामी सन २५०० सम्म पनि समाजवादको अनुहार देख्न पाउने छैनौँ । ‘त्यसैले पच्चीसौँ शताब्दीको समाजवाद’ भनी नारालाई सूत्रीकरण गर्यौं भने हामी सही कुरा गरिरहेका हुन्छौं।
‘समाजवाद’ कति मिठो, कति प्रिय र कति सुन्दर शब्द छ ? तर त्यो स्वीटजरल्याण्डमा मेरो साथीले भनेजस्तै नेपालका लागि सुदूर भविष्यको विषय रहेछ । हो सङ्घीयताले अलिअलि आश दिएको थियो तर त्यो सङ्घीयता पनि भीरको चिण्डो भएछ । अब त समाजवाद कवितामा, लघुकथामा सीमित भएछ ।
अहिले बजारमा नेपाल कम्युनिस्ट पार्टी नाङ्गै भएर पल्टिएको छ । म यसलाई नराम्रो भन्दिनँ । जनताले आफूले चुनेका नेताहरूको हैसियत देख्न पाउँछन। कसले के लेखेको छ, के बोलेको छ, त्यो नेपालका सारा जनतालाई थाहा होस न । के बिग्रन्छ ? नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षहरूको दन्तबझानले नेकपाका नेताहरूको हैसियत जनाउँछ । आगामी चुनावमा सबैभन्दा निम्नकोटीको मान्छेलाई भोट माग्यो भने नेकपाले बहुमत ल्याउन सक्छ ।
लोकतन्त्र भनेको बलिया बलिया साँढेहरूको लडाइँ नै रहेछ । प्रतिपक्ष कमजोर रहेछ भने लोकतन्त्र आफैँ कमजोर हुँदोरहेछ । यो कुरा हाम्रो व्यवहारले नै सिकाएको कुरो भन्नुपर्यो । अहिले नेपाली काँग्रेस अलिक बलियो भइदिएको भए कम्युनिस्ट पार्टीका नेताहरूले यस्तो अखडाबाजी गर्न पाउने थिएनन् । २० गते ज्ञानेन्द्रलाई गद्दीमा बसाउने भन्नेहरूको अनुहार यतिबेला कस्तो भएको थियो हेर्न मन लागेको थियो, हेर्न पाइएन । कोरोनालाई नै गाली गरेर बस्नुपर्ने भयो । कोरोना नभइदिएको भए यसो आँखा घुमाउन पाइने थियो तर केही छैन । २१ गतेका अखबारहरू हेरियो । राजालाई बग्गीमा राखेर नारानहिटी छिराउनेलाई अखबारले ठीकै भाउ दिएछन । राम्रै लाग्यो ।
अरू पार्टीका नेताहरूको कुरो गर्दिन मँ । आ–आफ्नो पार्टीको जिम्मा लिने थुप्रै नेता छन् । यतिखेर म आफ्नै पार्टीका नेतातिर जान्छु । के गरेको हो यो ? कसैको मनमा पार्टी फुटाउने मन भए फुटाउँदा हुन्छ । त्यसो हुँदा हुक्के बैठकेहरूलाई पनि प्रतिस्पर्धा नगरी र्याङ्क बढाउने मौका आउनेछ । न कुनै सिद्धान्त छ, न कुनै विचार छ ! के हो फुटको चुरो ? दुवै आरोपपत्रहरू पढेँ मैले । प्रचण्डले यस्तो भाषा प्रयोग गरेर कसरी तीन दशक पार्टी हाँक्नुभयो होला ? मान्छेले भन्थे, ‘दर्शनमा मोहन वैद्य र लेखनमा बाबुरामलाई प्रयोग गरेर पुष्पकमल दाहालले राजनीति चलाइरहनुभएको छ ।’ हो रहेछ । पत्याएँ मैले ।
मान्छेले ठाडो गाली गरे सूर्य थापालाई । किन ? दुवैको भाषा उस्तै त छ । के ठूलाले जे गरे पनि सही ? प्रचण्ड लेख्नुहुन्छ, ‘आज कम्युनिस्ट आचरण र मूल्यमान्यतामा भयानक ह्रास आइरहेको छ । नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पैसा र पदका निम्ति जे गर्न पनि उद्यत हुने घोर व्यक्तिवादी र अराजकतावादी प्रवृत्ति झाङ्गिदै गएको छ । क्रान्तिकारी आचरण र लोकतन्त्रीकरणको प्रक्रिया विलोप हुँदैछ । वैचारिक बहस गर्ने, सैद्धान्तिक अध्ययन, अनुसन्धान गर्ने, आदर्श, विधि र पद्धतिको विकास गर्ने र पालना गर्ने प्रश्नमा ध्यान दिने फुर्सद कसैलाई नभएको जस्तो देखिँदैछ ।’
यो कसका लागि लेख्नुभएको हो कमरेड ? पार्टी सञ्चालनको जिम्मा तपाईंलाई परेको होइन ? गाउँ कमिटीको श्यामबहादुरले मात्रै नियम पालना गर्ने कि केन्द्रीय कमिटीको प्रचण्डले पनि गर्ने ? सारा आरोपहरू तपाईंहरूतिरै सोझिएका छैनन ? आफ्नो बास, आफ्ना कामहरू, आफ्नो आचरण र तल्लो तहसम्म लोकतन्त्रीकरणलाई कसले खाँदैछ ? सिद्धान्त लत्याएर एकता गर्ने को हो ? हामी त होइनौँ क्यारे ! एकताको प्रस्ताव राख्दा मैले भनेको थिएँ– ‘आउनुस, तपाईं किन एक्लै बस्नुहुन्छ ? जनताको बहुदलीय जनवाद तपाईंहहरूले पनि मान्नुभएकै छ क्यारे । आउनुस, तपाईंलाई वरिष्ठ नेता बनाउने ल्याकत अहिलेसम्म मसँग छ ।’ जोडले ताली बजाउनेहरूमा तपाईं पनि हुनुहुन्थ्यो होइन !
प्रचण्डको आरोपपत्रमा कतिपय यस्ता हाँस्यास्पद कुराहरू उठाइएको छ, जो केपी ओलीको पालामा भएकै छैनन । कोही स्वयं उहाँ प्रधानमन्त्री हुँदाको समयका छन, त कुनै काम भएकै छैनन। उहाँको अभियोग प्रस्तावलाई जसले आरोपपत्र भन्यो उसले बिलकुल ठीक भनेको छ । झलनाथ खनालले उक्त आरोपपत्रलाई हामी सबैको साझा हो भनेर हतार हतार किन बोल्नुपथ्र्यो पढ्दै नपढीकन ? कम्तीमा एकचोटी पढेर आरोप लगाइएका कामहरू कुन कुन प्रधानमन्त्री भएको पालामा भएको थियो भन्ने ज्ञान हुन्थ्यो ।
यो मामिलामा चाहिँ गल्ती केपी ओलीको पनि भएकै छ । आरोपपत्रको प्रतिवाद अर्को आरोपपत्र होइन । उहाँका चुड्काहरूलाई जनताले जसरी लिएका छन, त्यसले उहाँको इज्जत बढाएको छैन । घटाएकै छ । यस सन्दर्भमा केपी ओलीले दुईटा गम्भीर गल्ती गर्नुभएको छ । एउटा, अभियोग पत्रलाई जस्ताको तस्तै जवाफ र स्थायी कमिटीको बैठक बहिष्कार । स्थायी कमिटी बहिष्कार गरेपछि ईश्वर पोखरेलमार्फत चिठी किन पठाउनुपथ्र्यो ? उहाँले त चिठीको ठाउँमा आफैँ उपस्थित भएर चिठीको भाषा बोल्नुपथ्र्यो । यो चाहिँ मेरो सल्लाहको कुरो मात्रै हो है । यो बिचार जनता टाइम्स अनलाईनबाट लिइएको हो।
हाम्रो संरचना । २६ मंसिर २०७७, शुक्रबार ०५:४७