सहकारीको नाममा झण्डै ७१ करोड संगठित ठगी धन्दा चलाउने १२ जना पक्राउ


२० असोज, नेपालगञ्ज/ काठमाण्डौं स्थित सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी मार्फत ठगी गरेको आरोपमा १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर ट्याङलाफाँट निवासी सिभिल सेभिङ एण्ड क्रेडिट को- अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकका अध्यक्ष ५७ वर्षीय इच्छाराज तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरि पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका- १६ का उक्त को-अपरेटिभका संचालक समितिका अध्यक्ष ६२ वर्षीय केशवलाल श्रेष्ठ, काठमाडौं महानगरपालिका-१२  का ६२ वर्षीय सहजकर्ता प्रबन्धक भगवान बहादुर सिंह, काठमाडौं कीर्तिपुर नगरपालिका- ९ की जुनियर असिसटेन्ट मेनेजर ५० वर्षीया मायोनानी महर्जन, भक्तपुर नगरपालिका- ११ की जुनियर असिसटेन्ट मेनेजर ४४ वर्षीया एलिना तुलाधर, झापा घर भएका जुनियर अधिकृत ४५ वर्षीय शंकरप्रसाद पाठक, काभ्रे वतन भएका असिसटेन्ट २५ वर्षीय संगित श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका-९ का लेखा अधिकृत ३३ वर्षीय राकेश महर्जन, काठमाडौ बुढानिलकण्ठ नगरपालिका- ६ बस्ने सिन्धुली दुधौली नगरपालिका-७ घर भएका जुनियर सहायक प्रबन्धक ४० वर्षीय बुद्धराज तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका- ६ का जुनियर सहायक प्रबन्धक ३७ वर्षीय कौस्तुभ केतन ढुंगाना, नुवाकोट विदुर नगरपालिका- २ का सिभिल होम्सका वरिष्ठ प्रबन्धक ४३ वर्षीय विजय विक्रम शाह र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने मकवानपुर चित्तलाङ घर भएका पूर्व लेखा समिति सदस्य ४६ वर्षीय हरिहर लामिछाने रहेका छन् ।

उक्त लिमिटेडका निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेको रकम बचत तथा मुद्दती खाताको अवधि पुगीसकेपछि खाताबाट रकम झिक्नको लागि सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई पटक – पटक ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराई दिनेतर्फ आवश्यक पहल नगरेको तथा उक्त लिमिटेडमा रहेका सर्वसाधारणको बचतको ठुलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरीत एकै व्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरुमा लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त लिमिटेड जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका बिभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति शुद्दिकरणको कसूर गरेको हुनसक्ने हुँदा सहकारी ऐन, २०७४  बमोजिमको कसूर गरेको देखिन आएकोले उक्त कार्यमा संलग्न उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका ब्यक्ती उपर आवश्यक कानूनी कारवाही भइरहेको तथा अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को-अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत सोही ब्यूरोमा सम्पर्क गर्न हुन केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको जनाएको छ ।