२६ असोज, नेपालगञ्ज/ मुगुको छायाँनाथ-रारा नगरपालिका वडानम्बर ७ पिना झ्यारीखोलामा बस दुर्घटनामा परि घाइते भएकाहरुको उपचारका लागि हेलीकोप्टरबाट नेपालगञ्ज ल्याइएका मध्य थप ४ जनाको मृत्यु भएको छ ।
बस दुर्घटनामा घाइते भएका १६ जनाको उपचारको लागि नेपाली सेना र समिट एयरको हेलीकोप्टर मार्फत उद्दार गरी उपचारको लागि बाँकेको कोहलपुर स्थित मेडिकल कलेजमा ११ जना ल्याइएकोमा १ जनाको मुत्यू भएको छ भने नेपालगञ्ज स्थित मेडिकल कलेजको नसिङग होममा ५ जना ल्याइएकोमा ३ जनाको मुत्यू भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुधन न्यौपानेले जानकारी दिनुभएको छ।
यस अघिनै नेपालगञ्जबाट सोमवार मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको यात्रु बहाक बस मुगुको छायाँनाथ-रारा नगरपालिका वडानम्बर ७ पिना झ्यारीखोलामा मंगलवार दिउँसो १२ बजेतिर दुर्घटनामा परि २८ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत्तले जानकारी दिनुभएको थियो।
दशै मनाउन नेपालगञ्ज बाट मुगु तर्फ गइरहेका करिब ४५ जना बसमा यात्रारत रहेको वताइएको छ ।
प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत्तले घटना स्थलमा नै २४ जनाको र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु-याउने क्रममा मृत्यु भएको जानकारी दिनुभएको छ । ।
उक्त बस दुर्घटनामा घाइते भएका १६ जनालाई हेलीकोप्टर मार्फत उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।
दुर्घटना स्थलमा उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वार गरिएको छ ।
घाइतेहरू का अनुसार बसमा ४५ जना यात्रा गरिरहेको बताइएपनि १ जनाको अझै अवस्था खुलेको छैन।
हाम्रो संरचना । २६ आश्विन २०७८, मंगलवार १८:२३