सदाचार शब्दको विपरित अर्थ व्यभिचारी, दुराचारी, भ्रष्टाचारीको रुपमा बुझिन्छ । यो भ्रष्टाचारी शब्द भ्रष्ट र आचरण यी दुई शब्दको समिश्रणवाट भएको हो ।
भ्रष्टाचार जसले गर्दछ त्यसलाई भ्रष्टाचारी भनिन्छ । अब भ्रष्टाचार के लाई भन्ने विषयमा विभिन्न व्यक्ति र संस्थाले विभिन्न व्याख्या र विश्लेषण गरेको पाइन्छ।
ति अध्ययनहरुको निचोडले भ्रष्टाचार भन्ने बित्तीकै बेईमानी गर्नु, भित्रि सांठ-गांठ गर्नु, विश्वासघात गर्नु, धम्कीपूर्ण व्यवहार गर्नु । त्यसैगरी जालसाजी, निर्णय पंक्रियामा प्रभाव पार्नुलाई भ्रष्टाचारको दायरा भित्र पर्ने गरी परिभाषित गरिएको पाइन्छ ।
संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एशियन विकास बैंक र भ्रष्टाचारकै विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरीरहेका ट्रान्सपरेन्सी इन्टरनेशन जस्ता अन्तराष्ट्रिप संघ/ संस्थाहरुको परिभाषा अनुसार निचोडमा ‘भ्रष्टाचार भन्नाले व्यक्तिगत लाभका लागि अधिकार वा शक्तिको दुरुपयोग गर्ने कार्यलाई बुझनु पर्दछ।’
हालैका दिनमा यसलाई व्यक्तिगत खुशि, मोज, मस्तीका निम्ती पद तथा प्रतिष्ठाको दुरुपयोगको रुपमा पनि परिभाषित गरिन थालिएको छ ।
नेपाली सन्दभमा हेर्ने हो भने यसलाई पद र अधिकारको दुरुपयोग तथा मिलेमतो गरी सम्पती आर्जन गरेर खुशि हासिल गर्न खोज्ने कार्यलाई बुझनुपर्ने देखिन्छ ।
अर्थात बेईमानी गर्नु, निर्णय पक्रियामा प्रभाव पार्नु, घुस लिने–दिने, हिनामिना, जालसाजी, विश्वासघात गर्नु, नाताबाद, कृपाबाद, ढिलासुस्ती, धम्की र अख्तियारको दुरुपयोग गर्ने जस्ता कार्यलाई भ्रष्टाचार भन्ने बुझनु पर्दछ ।
नेपालमा भ्रष्टाचार विकासको मुख्य बाधक बनी विकराल समस्याको रुपमा देखिएको छ । यो प्रकोपलाई नियन्त्रण नै गर्न नसकिने चाही होईन तर नेपाल जस्तो विकासउन्मुख राष्ट्रमा नियन्त्रण गर्न चुनौतिको रुपमा देखापर्न थालेको छ ।
विश्वका सबै राष्ट्रहरुमा यसको रोकथाम, नियन्त्रण गर्ने प्रयास सरकारी तथा गैरसरकारी क्षेत्रहरुबाट प्रसस्त प्रयासहरु भइरहेका छन।
भ्रष्टाचार नियन्त्रण कुनै एक क्षेत्र वा पक्षले चाहेर मात्र नियन्त्रण गर्न सम्भव छैन । भ्रष्टाचारको विरुद्ध सम्पूर्ण नागरिक समाजका अगुवा, गैरसरकारी संघ / संस्थामा क्रियाशिल व्यक्ति र विशेष गरि सञ्चारका माध्यम मार्फत यो भ्रष्टाचार विरुद्धको लडाईमा एकताबद्ध भएर लड्नु आजको अपरिहार्य आवश्यक्ता भइसकेको छ ।
यो भ्रष्टाचारको सुरुवात मानिसको लोभी / पापी मन, महत्वकांक्षी सोचको उपजलाई नै मान्नु पर्दछ।
सन्ततीका लागि भविष्यक निम्ती सम्पती जोड़ेर राखिदिने इच्छाले मानिसलाई भ्रष्टाचारी बनाउन थालेको पाइन्छ ।
त्यसैमा विकासोन्मुख नेपाल जस्ता राष्ट्रमा स्व-बिकेकीय अधिकारको अत्यधिक दुरुपयोग र फितलो कानुनी दायराले भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउन नसकिएको अवस्था छ।
नेपालीहरुलाई साना-साना देखी ठूल–ठूला भ्रष्टाचारले निकै पिरोलेको छ । नेपालमा भ्रष्टाचारले सरकारी, राजनीति, निजिक्षेत्र सबै क्षेत्रमा जालो फैलिएको पाइन्छ ।
नेपालमा भ्रष्टाचारको अवस्था:
सतही भ्रष्टाचार :
जुकसुकै देशमा पनि भ्रष्टाचारको कुनै पनि स्थान हुँदैन । नेपालमा पनि भ्रष्टाचारको कुनै स्थान छैन यति हुँदा-हुँदै पनि भ्रष्टाचार रहित अवस्थाको परिकल्पना प्रायः असम्भव जस्तै कुरा बनेको छ ।
नेपालमा कतै-कतै छिटपुट सतही भ्रष्टाचारको अवस्था छ भने अधिकांश ठाउँमा मिलेमतोको प्रक्रियागत भ्रष्टाचार भईरहेको छ । कुनै-कुनै ठाउँमा सवै प्रक्रिया कागजात मिलाएर नितिगत निर्णय गरेर खुला भ्रष्टाचार गरिरहेको अवस्था देखिन थालेको छ ।
केलाई सतही भ्रष्टाचार भन्ने ?
सेवाग्राहीहरुसंग दिन-दिनै सम्पर्क सम्बन्ध रहने मालपोत, नापी, प्रहरी, कर, भन्सार, यातायात स्थानीय प्रशासन, स्थानीय निकाय, बिधुत, जस्ता सेवा प्रदायक कार्यालयहरुमा कर्मचारीद्वारा हुने भ्रष्टाचारलाई सतही भ्रष्टाचारको रुपमा लिन सकिन्छ।
यस्तो भ्रष्टाचार सतहमा छरपरष्ट देखिने हुनाले यसलाई सतही भष्टाचारको रुपमा चित्रण गर्न सकिन्छ ।
यसले विकास निर्माणमा निकै ठूलो असर गरेको देखिदैन तर पनि जनता बिच महामारी कै रुपमा चित्रण गर्ने गरिन्छ यस्तो भ्रष्टाचार कानुनी रुपमा नियन्त्रण गर्न गाह्रो हुन्छ ।
यस्तो रकम आफनो काम छिटो गराउन सेवाग्राहीले आफै घुस दिनु पर्ने बाध्यताले प्रोत्साहित गरेको पाइन्छ ।
यस्तो किसिमको भ्रष्टाचार रोक्न संघ/संस्था मार्फत नागरिक जनचेतनाले मात्र सम्भव छ । यस्तो भ्रष्टाचारलाई समयमै रोकथाम वा दण्डित गरिएन भने यसले ठूलो भ्रष्टाचारलाई प्रोत्साहित गर्दछ ।
प्रक्रियागत भ्रष्टाचार :
नेपालमा सतहीका साथ-साथै प्रक्रियागत भ्रष्टाचारको जालो व्यापक फैलिएको छ । यसलाई Systematic अथवा प्रक्रिया मिलाएर खाने भ्रष्टाचार भन्ने बुझनु पर्दछ ।
यस्तो भ्रष्टाचार ठुलो पदमा पुगेका व्यक्तिहरुको साँठगाँठबाट भित्रिरुपमा व्यवस्थित, योजनाबद्ध तरिकाले षड्यन्त्रपूर्ण तरिकाले बाहिर कहि कतै केही नभएको जस्तो तरिकाले गरिने भ्रष्टाचार Systematic प्रक्रियागत भ्रष्टाचार भित्र पर्दछ ।
यो भ्रष्टाचार थाह पाउन विशेष ज्ञान सिप नै चाहिन्छ । यस्तो कदम ठुला-ठुला निर्माण योजना, मन्त्रालय, विभागका खरिद-बिक्री निर्णयहरु भित्र पर्दछन् ।
जसमा परिमाण, गुणस्तरमा हेरफेर गरी घोटाला गर्ने गरिन्छ । यस्तो भ्रष्टाचारका कारण नेपालको सर्वाङ्गिण विकासमा ठुलो नकारात्मक असर परिरहेको छ ।
यो प्रक्रिया मिलाएर खाने भ्रष्टाचारलाई अंकुश लगाउन सकिएन भने समाजमा खुलम-खुला भ्रष्टाचारले स्थान पाउँछ। यस्तो अवस्थामा राज्यका सबै संयन्त्रमा भ्रष्टाचार संस्थागत भइसक्छन ।
जस्तो सुकै भष्टाचार किन नहोस ठुलो-सानो खुलेआम रुपमा हुन्छ । राज्यका प्रमुख पदमा नैं भष्टाचारी आसिन हुन्छन् । सम्पूर्ण राज्य संयन्त्र भ्रष्टाचारमा लिप्त हुन्छ।
यस्तो अवस्थामा राजनैतीक प्रणाली व्यक्तिगत सम्बन्धको आधारमा सञ्चालन हुन गई भ्रष्टाचारको प्रकोप महामारीकै रुपमा राष्ट्रमा फैलिन गइ मुलुकको आर्थिक विकास नभई विनास तर्फ बढने गर्दछ ।
नेपालमा समयमै भ्रष्टाचार विरुद्धको कदम नचाल्ने हो भने हाईटी, इन्डोनेसिया र फिलिपिन्समा जस्तै भ्रष्टाचारले राष्ट्र असफल बनाउँछ बनाउन समय पनि लाग्दैन ।
भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा प्रयास नभएको पनि होइन! भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा विक्रम संवत २०३४ सालमा अख्तियार दुरुपयोग निवारण आयोग र २०४६ सालमा तत्कालिन संविधान बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरी भ्रष्टाचार नियन्त्रणको लागि कोशिस गरेको देखिन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यविधि २०५७, अख्तियार दुरुपयोग अनुसन्धान तथा अभियोजन दिग्दर्शन २०५९, विकास तथा अनुसन्धान तहकीकात दिग्दर्शन २०६०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पदाधिकारी एवम कर्मचारीहरुको आचार संहिता २०६० र राजस्व सम्वन्धि तहकीकात दिग्दर्शन २०६१ बनाई ति ऐन नियम कानुनहरु समय क्रममा आवश्यकता अनुसार फेरबदर गरी भ्रष्टाचार नियन्त्रणका लागि कार्य गर्दै आएको पनि पाइन्छ ।
नेपालले भ्रष्टाचार विरुद्धको महासन्धिमा पनि हस्ताक्षर गरी अक्षरश पालना गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
सन् २००३ मा मेक्सीकोको मेरिडा शहरमा सयुक्त राष्ट्रसंघद्वारा भ्रष्टाचार बिरुद्धको सम्मेलनकै अवसरमा नेपालका तर्फबाट तत्कालिन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सन २००३ डिसेम्बर १० तारिखमा उक्त महासन्धिमा हस्ताक्षर गर्नुभएको थियो ।
महासन्धिम गरिएको भ्रष्टाचार नियन्त्रणका लागि नेपाल राष्ट्रले रोकथामका लागि उपायहरु अवलम्बन गर्नुपर्ने ।
भ्रष्टाचारको अपराधीकरण कानुनी उपचारको ब्यवस्था गर्नुपर्ने ।
भ्रष्टाचार निवारणका लागि अर्न्तराष्ट्रिय सहयोगको प्रवर्द्धन र सवलिकरण गर्नुपर्ने ।
भ्रष्टाचार गरी अर्को मुलुकमा लगिएको गैर-कानुनी सम्पती फिर्ता गर्ने सम्वन्धि कानुनी ब्यवस्था ।
आदान-प्रदान एवम् महासन्धि कार्यन्वयनका लागी आवश्यक संयन्त्र स्थापना लगायतका कुरा उक्त महासन्धिमा रहेका छन् ।
संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधान-२०७२ मा पनि बिगतको २०४६ सालकै संविधान बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन र तत बमोजिमका कानुनी प्रावधानहरु रहने व्यवस्था गरिएको छ ।
भ्रष्टाचार विरोधी यति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र प्रावधान हुँदा–हुँदै पनि भ्रष्टाचार नियन्त्रणका लागि राज्य एक्लैको प्रयासले मात्र यो सम्भव छैन र हुँदैन पनि ।
नेपालमा भ्रष्टाचारको राष्ट्रिय अवस्थाको अवलोकन र अर्न्तराष्ट्रिय तथ्यले बताइसकेको छ कि भ्रष्टाचार नियन्त्रणका लागि राज्यका जिम्मेवार निकाय इमान्दार भएर नेपाली नागरिक समाज, गैर-सरकारी संघ/संस्थाको महत्वपूर्ण भुमिका रहन्छ । नेपालमा मिडिया र गैर-सरकारी संस्थाको भुमिका हालसम्मको अवस्थाले स्रहानिय नै छ ।
सरकारी क्षेत्रमा निम्न किसिमले भ्रष्टाचार भएको पाइन्छ :
- सरकारी सम्पति र समानको निजी काममा प्रयोग गरेर ।
- आफन्तहरुलाई नाजायज फाइदा वा सुविधा दिएर।
- लामो समय सम्म पनि बाँकि बक्यौता नतिरेर ।
- आम्दानी अनुसार कर नतिरेर । कार्यालयको काम वा हाजीर नभए पनि भएको देखाएर ।
- सार्वजनिक सम्पति विक्रि वा ठेक्का पट्टामा कमिशन वा घुस खाएर कर्मचारीको नियुक्ति, सरुवा बढुवामा कमिशन वा घुस खाएर ।
- सरकारी कागजात नै किर्ते गरेर ।
- व्यक्तिगत लाभका लागि राजस्व हानी नोक्सानीमा करदातासंग मिलेमतो गरेर ।
- सेवा प्रदायक कार्यालयहरुमा दस्तुरी पैसा लिएर (Service Charge)
- छिटो काम गरिदिए वापत रकम लिएर (Speed Money) ठेक्का पट्टामा गुणस्तर वा प्राविधिक परिक्षण, समय सिमा थप वा मुल्य वृद्धिका नाममा।
- भन्सारमा धेरै मुल्यको बस्तुलाई कम मुल्यको बिलमा भन्सार गराइदिएर ।
- भन्सारमा धेरै परिमाणको बस्तुलाइ कम परिमाण वा गुणस्तर देखाएर ।
- आयत निर्यातमा प्रतिबन्धित बस्तुमा बेवास्ता गरेर आदि..आदि …।
राजनीति क्षेत्रमा भ्रष्टाचार :
- भ्रष्ट कर्मचारीलाई संरक्षण दिदै कमिशन वा घुस लेनदेन गरेर
- सरकारी सम्पतिलाइ निजी स्वार्थमा प्रयोग गरेर ।
- राजनैतीक दलको लागी खर्च उठाउने नाममा उठाएर निजी स्वार्थमा लगाएर अपराधिहरुसंग पनि गोप्य सांठ/गांठ गरेर पैसा लिने, दिने गरेर ।
- कर्मचारीलाई गैरकानुनी वा अनैतिक काम गर्न वाध्य पारेर ।
- आफ्नो फाइदा र हानी हुने किसिमले निर्णय लादेर ।
- सार्वजनिक पदका लागि कमिशन वा घुस खाएर भर्ति गर्ने ।
- सरकारी बाँकि बक्यौता नतिरेर ।
- जागिर लगाईदिने, बैदेशिक रोजगारीमा पठाईदिने भनेर ।
- औषधी उपचारको नाममा दलगत स्वार्थमा गलत मानिसलाई पैसा बाँडेर ।
- संसदमा बहुमत पुयाउने नाममा पैसा बाँडेर ।
- ठेक्का पट्टा मिलाईदिने नाममा ।
- भ्रमण, निरिक्षणको नाममा ।
- कर्मचारीसंग साँटगाँठ गरी योजना निर्माण कमजोर बनाएर आदि ।
जनसाधारणको क्षेत्रमा भ्रष्टाचार :
- राजनीतिक र प्रशासनिक भ्रष्टाचारलाई बढावा दिन घुस दिने मनोबृत्तिमा परिवर्तन नगरेर।
- घुस नदिई काम छिटो वा हुदै-हुदैन मानसिकताको कारक तत्वले गर्दा ।
- नागरिक अधिकार र कर्तव्य प्रति संवेदनशिल नभइदिएकाले ।
- निश्पक्ष र स्वतन्त्र भुमिका खेल्ने चरित्र निर्माण हुन नसकेकाले ।
- राज्यलाई बुझाउनु पर्ने कर छलछाम गरेर ।
- कानुनी अज्ञानताको कारणले पनि नागरिकहरु भ्रष्ट भइरहेका छन् ।
- केही रकम दिएर आफनो काम छिटो बनाउने चक्करले नागरिक भ्रष्टाचारी भईरहेका छन ।
- सामुदायिक हित भन्दा पनि व्यक्तिगत हित कसरी हुन्छ भन्ने मनसाय बाट काम गर्दा नागरिक भ्रष्ट भएको पाइन्छ ।
नेपाली सञ्चार जगतले नेपालमा भ्रष्टाचारको बिरुद्धमा शसक्त बन्दै गएकोमा पछिल्लो केही समय भ्रष्टाचार बिरुद्ध मिडियामा लगानी गर्नुपर्ने देखिन्छ, तर त्यसका लागि मिडियाका पनि आफ्नै चुनौति रहेको पाईन्छ।
भ्रष्टाचार नियन्त्रणका लागि नेपाली मिडियाले गर्नुपर्ने कुरा :
- पत्रकार र पत्रकार कार्यरत संस्था पारदर्शि र उत्तरदायि हुनु जरुरी छ । ।
- पत्रकार अभाव, दवाव र प्रभावमा पर्न नहुने ।
- व्यवसायिक नैतिकता र ईमान्दारितामा खरो उत्रनुपर्ने ।
- व्यवसायिक एकता र समाचारको निरन्तरता । पत्रकार आचारसंहिताको पालना ।
- भ्रष्टाचार सम्बन्धि समाचारमा बढी प्राथमिकता दिनुपर्ने ।
- भ्रष्टाचार बिरुद्ध कलम चलाउने पत्रकारलाई विशेष सुरक्षा दिनुपर्ने आदि ।
-
भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाज तथा संघ/संस्थाले गनुपर्ने :
- आयोग तथा मिडियाको भ्रष्टाचारको विरुद्धमा बौद्धिक ऐक्यबद्धता जुटाएर सहयोग गर्नुपर्ने ।
- आयोगका राम्रा कामको नैतिक समर्थन जनाउने ।
- संस्थाहरुले सबै क्षेत्रमा लोभी/पापीहरुको बिरुद्ध अभियान सञ्चालन गर्ने । भ्रष्टाचार बिरुद्ध काम गर्ने स्थानीय तथा राष्ट्रिय संघ संस्थाहरुसंग साझेदारी गर्ने
- संस्थाहरु आफैले भ्रष्टाचार बिरुद्धका ऐन नियमको कडाईका साथ पालन गर्ने गराउने । भ्रष्टाचार बिरुद्धको अभियानमा सरकारी संयन्त्र सँगै-सँगै जुट्ने ।
- भ्रष्टाचार बिरुद्धका अभियन्तालाई प्रोत्साहीत गर्ने ।
नेपालमा पछील्लो समय भ्रष्टाचारका सबै सिमाहरु पार गरेर चरम उत्कर्षमा पुगेको नेपालको भ्रष्टाचारले राष्ट्र थिलो-थिलो पारिरहेको अवस्थामा भ्रष्टाचारसंग कसरी लड्ने ? कस-कसले लडने ? कस्तो खालको लडाईं लड्ने हो ? यी प्रश्न उठ्ने गरेको पाईन्छ ।
पत्रकरहरुले भ्रष्टाचारको समाचार लेखेर लडने कि ?
संघ/संस्थाले अभियान सञ्चालन गरेर लड्ने कि ?
सरकारका आधिकारीक निकायहरुले जिम्मेवारीका साथ नागरिक समाजको सहयोग समेत जुटाएर सक्रियता बढाउन जरुरी देखिन्छ ।
भ्रष्टाचारको संकेत पाउने वित्तिकै त्यसको जरोमा पुग्ने विधि प्रयोग गरेरपत्रकारहरुले खोजमुलक रिपोर्ट तयार पारेर आमसञ्चारमा ल्याउनु आवश्यक्ता एकातिर छ भने अर्कोतिर स्थानिजय निकायहरुको सहकार्यमा सामाजिक संघ÷संस्थाले भ्रष्टाचारको बिरुद्ध तालिम, सेमिनार, गोष्ठी, भितेलेखन, होर्डिङ्ग बोर्ड, मासिक तथा भ्रष्टाचार सम्बन्धी बुलेटिन प्रकाशन गर्ने, भ्रष्टाचार सम्बन्धी आमसञ्चारका माध्यमममा बहस पैरबी कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
नेपाल सरकारका आधिकारका निकायहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, सम्पती सुद्धिकरण जस्ता निकायहरु थप सक्रिय भएर लागेमा हाल नेपालमा मिलेमतोमा भ्रष्टाचार गनर्जे बिकराल रुपलार्य केही हद सम्म भएपनि नियन्त्रण गर्नसकिन्छ ।
यो लेख बास नामक गैससरकारी संस्थाको बार्षिक वुलेटिनमा पनि प्रकाशितका लागि तयार गरिएकोमा यस अनलाईनमा पनि प्रकाशित गरिएको छ । यो पढेर भ्रष्टाचार बिरुद्ध उभिन पाठकलाई पनि प्रेरणा मिल्ले छ भन्ने आशा लिएको छ र भ्रष्टाचारको आज अहिल्यै देखि बिरोध गर्न भ्रष्टाचार बिरोधी सामाग्री कम्तीमा आफनो सामाजिक सञ्चालमा शेयर गर्ने गरौं ।
हाम्रो संरचना । २८ माघ २०७८, शुक्रबार १०:३६