चेक अनादर र बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

१६ असार नेपालगञ्ज/  चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ९ घर भई ललितपुर पुल्चोक बस्ने ४९ वर्षीय नाम्गेल दोर्जे लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
चेक अनादर विगो मुद्दामा जिल्ला अदालत काठमाडौंको २०७७ माघ २५ गतेको फैसलाले १ करोड २० लाख रूपैयाँ बिगो र चेक जारी भएको मितिदेखि भरी भराउ मितिसम्म कानुन बमोजिमको व्याज समेत निवेदकलाई भराइ दिन ठहर भई अदालतको सूचना म्यादमा हाजिर नभएकोले जिल्ला अदालत काठमाडौंको २०७९ असार १० गतेको आदेशले २ वर्ष कैद सजाय समेत ठहर भई फरार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका४ बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

त्यसैगरि बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका(८ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका ५ घर भएकी ४२ वर्षीया विष्णु माया योन्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विष्णु मायाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी २०७७ फागुन १३ गते एनएमवि बैंकमा रहेको उनको खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यार चेकको रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ जेठ २७ गते ३ दिन कैद र ७ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको पनि प्रहरी प्रधान कार्यालयको समाचारशाखाले जनाएको छ ।