बाँकेमा यसरी भईरहेको छ काठ तस्करी……

 

 

५ साउन, नेपालगञ्ज/ बाँके जिल्लामा राष्ट्रिय तथा सामुदायिक बनबाट ब्यापक रुपमा सालका गोलिया नेपालगञ्ज बजार तर्फ तस्करी भइरहेको रिपोर्ट प्राप्त भएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतका केही मध्यवर्ती क्षेत्र सामुदायिक वन, राष्ट्रिय वन, चुरे क्षेत्रहरुबाट काठ तस्करहरूले सरोकारवालाहरु सँगको मिलेमतोमा अवैध रूपमा रुख कटान गरी तस्करी गर्ने गरेको घटनाक्रमले पुष्टी गरेको छ ।

बाँके जिल्ला नरैनापुर- ५ जमुनाहा निवासी लूटई भने खलिल मनिहारको छोरा वर्ष ३५ को टेवे मनिहारले अवैध रूपमा काठ तस्करी गरी लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोज-भगवानपुर र सव डिभिजन वन कार्यालय नरैनापुरबाट खटिएको संयुक्त टोलीले यहि गएको असार ३१ गते निजको घर नजिकैको टहरामा छापा मार्दा लुकाईछिपाई राखिएको २०.४६ क्यूफिट साल जातको अवैध गोलिया काठ र एक थान काठ काटने आरा मेसिन बरामद गरेको जनाएको छ ।

निजलाई थप अनुसंधान एवं आवश्यक कारवाहीका लागी ई.प्र.का भोजभरावानपुरको नियन्त्रणमा राखेको र निज टेबे मनिहारले आफ्नो घर छेउमा टहरा निर्माण गरी दर्ता नगरिएको फर्निचर उद्योग अवैध रुपमा संचालन गरेको र उक्त फर्निचर उद्योगमा निजले आफु स्वयं एवं काठ तस्करहरुसँग मिलेर सो क्षेत्र अन्तर्गत पर्ने विभिन्न सामुदायिक वन तथा ती सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वन एवं चुरे क्षेत्रबाट अवैध रुपमा काठ तस्करी गरी ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यस प्रकारले विभिन्न वन क्षेत्रबाट अवैध रुपमा रुख कटान गरी काठ चोरी तस्करी गर्ने कार्य हालपनि यथावत रहेको छ।

डुडुवामा …….

बाँके जिल्ला अन्तर्गत काठ तस्करी हुने मुख्य क्षेत्रहरु बाँके जिल्ला डुडुवा- ३ अन्तर्गत पर्ने गोकुल सामुदायिक वन, बडा नं. १ र ६ वडा अन्तर्गत पर्ने झोरा सामुदायिक वन र उक्त सामुदायिक वन संग जोडिएको नेपालगञ्ज उपनपा २३ अन्तर्गत पर्ने हजरत सामुदायिक वनबाट तस्करहरूले अवैध रुपमा सालको काठ काटी तस्करी गरेर डुडुवा गापा तथा नेपालगञ्ज क्षेत्रमा सप्लाई गर्ने गरेको पाईएको छ ।

तस्करहरुको समुहले दैनिक राती १२ बजेदेखी ३ बजेसम्मको समयमा उल्लेखित सामुदायिक वन तथा सीमावर्ती भारतीय जंगलबाट बयलगाडा मोटरसाईकल तथा साईकल मार्फत सालको रुख काटेर गोलिया बनाई डुडुवा गापा क्षेत्रमा रहेका स-मिल सम्म पुर्याउने र स मिलबाट चिरान गरेर साईकल मार्फत माग अनुसार डुडुवा गापा, नेपालगञ्ज उमनपा क्षेत्रमा रहेका अन्य स-मिल तथा व्यक्तिहरुको घर-घरमा पुर्याउने गरेको बताइएको छ।

डुडुवा गापा स्थित तस्करहरुले अवैध काठ चिरान गर्ने स-मिलमा तस्करीको काठ रातारात चिरान गरेर सप्लाई गर्ने भएकाले दिउँसोको समयमा उक्त स-मिलहरुमा अवैध तस्करीको काठ फेला नपर्ने गरेको र प्रत्येक तस्करले ४/५ जनासम्म भरियाहरू प्रयोग गरी सालको काठ ओसार-पसार गराउने गरेका छन्।

बाँकेको डुडुवा गाउँपालिकामा बाँके जिल्ला नेपालगञ्ज उमनपा २३ जंगली सिंहपूर्वा निवासी झब्बार अली बेहनाको ( डुडुवा गा .पा. ६ लोहरनपूर्वामा काठ चिरान मिल रहेको छ )

डुडुवा गा.पा. ६ कोहलीपूर्वा निवासी अर्जुन सिंह चौहानको ( डुडुवा गा.पा. ६ फकिरेपुर्वामा स-मिल रहेको छ) ।

डुडुवा गा.पा. ६ महन्तपूर्वा निवासी मदल्ले बेहना, डुडुवा गापा ६ महन्तपूर्वी निवासी निसाल अली, डुडुवा गापा ६ बेहनापूर्वी निवासी केले बेहना, जमुना यादव लगायतले आफु स्वयं तथा भरिया प्रयोग गरी रातारात उल्लेखित वन क्षेत्रहरुबाट अवैध रुपमा काठ कटान गरी तस्करीगरी उपरोक्त मिलमा चिरान गराई तस्करी गर्ने गरेको स्थानियले जानकारी दिएका छन् ।

गोकुल सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीको संलग्नतामा तस्करहरूले उक्त वन क्षेत्रको सालको काठ तस्करी गरी नेपालगञ्ज उमनपाका विभिन्न स्थानमा घर निर्माण गरिरहेका व्यक्तिहरु सँग बिक्रि गर्ने गरेको स्रोतले जानकारी दिएको छ ।

सो कार्यमा नेपालगञ्ज उमनपा १८ स्थित प्रहरी अस्पताल लग्दहवामा कार्यरत रहेका डुडुवा गापा कम्दी निवासी १ जना प्रहरी जवानको स्थानिय प्रहरी सँगको सेटिङ्गमा गोकुल सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी माथी आरोप लाग्ने गरेको छ ।

नरैनापुरमा…….

त्यसैगरी नरैनापुर गापा ४ अन्तर्गत पर्ने बारसी सामुदायिक वन, नरैनापुर गापा १ सुईया स्थित किसान सामुदायिक वन, उक्त सामुदायिक वन सँग जोडिएका राष्ट्रिय बन तथा चुरे क्षेत्रहरूबाट काठ तस्करी हुने गरेको छ ।

नरैनापुर गापा वडा नं. ४. उसने मेराज खाँ, भूरे खाँ  लगायतका व्यक्तिहरुले नरैनापुर गापा- ४ स्थित बेला-बखत सालको रुख काटी चिरान गरेर बाँके जिल्ला राप्तीसोनारी गापा- ६ निवासी सञ्जय राणालाई बिक्रि गर्ने गरेको र उक्त सालको चिरान काठ निज सञ्जय राणाले रातीको समयमा टयाकटरमा लोड गरी नरैनापुर क्षेत्रबाट राप्तीसोनारी गापाको फतेपुर, राप्ती पुल, डुडुवा गापाको कम्दी हुँदै नेपालगज्ज तथा कोहलपुरसम्म पुर्याई बिक्रि बितरण गर्ने गरेकाे बताइन्छ ।

सरकारको गलत नितीका कारण बजारमा उपभोक्तालाई मनपरी महंगो मुल्यमा तस्करहरुले सालको चिरान काठ उपलब्ध गराउने क्रममा राणाले हप्तामा २ दिनको अन्तरमा बजार तर्फ ल्याउने गरेकाे  स्रोतले बताएको छ ।   नरैनापुर गापा ३ गेगली निवासी अनु खाँ, किसान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रमोद मिश्र लगायतका ब्यक्तीहरुले वन क्षेत्रबाट काठ तस्करी गरि सालको काठ भारत तर्फ र भारतबाट सगौन सिसौ नेपाल तर्फ ल्याई नरैनापुर गापा ४ स्थित रामानन्द शर्मा र नरैनापुर गापा ५ स्थित गफुर शाहले संचालन गरेको आरा मिलमा विक्रि गर्ने गरेका छन् ।

खजुरामा…….

बाँके- बर्दिया सिमाक्षेत्रको खजुरा र बढैया ताल क्षेत्रका सामुदायिक वनजंगलबाट झ्याल र ढोका बनाउनका लागि तयारी अवस्थाको ३ देखी ६ फुट सम्मको सालको चिरान काठ एक पटकमा १०-१५ क्यूफिट सम्म प्राय दैनिक रुपमा बर्दिया जिल्लाको सितापुर, जमुनी क्षेत्रमा तस्करी हुने गरेको छ ।

बाँके जिल्लाको खजुरा गापा ५ उढरापुर ( गौघाट नजिक) मा सोही ठाउँ बस्ने मुस्लिम जोलाहाले करिव २०/२२ लाखको लागतमा गत वर्ष देखी घरेलु कार्यालयमा दर्ता गरी सविर स-मिल (काठ मिल) संचालन गरिएको उक्त स-मिलको नामबाट अवैध चोरी वस्करीका काठ खरिद विक्रि गर्ने गरेको पाईएको छ।

स-मिल संचालकले बर्दिया जिल्लाबाट आउने चोरीका सालको काठ टार्गेट गरेर उक्त मिल संचालन गरेको पाईएको छ। काठ तस्करहरूको समूहले सीमावती बर्दिया जिल्लाबाट काठ तस्करी गरी खजुरा गापा क्षेत्रमा रहेको स- मिल सम्म पुर्याउने गरेका छन् ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. २ को जमुनीबाट खजुरा गाउँपालिका वडा नं. २ एल गाउँ स्थित मानखोलाको झुलुङ्गे पुल हुदै ई-रिक्सा, मोटरसाईकलमा लोड गरी सालको गोलिया तथा चिरान काठ ल्याउने र यसरी ल्याईएका गोलियाहरू स-मिलमा चिरान गरि काठ व्यक्तिगत माग तथा सम्पर्कको आधारमा घर घरमा पुर्याएर बिक्रि बितरण गर्ने गरेको पाईएको छ।

रातीको समयमा मोटरसाईकलमा तथा कहिले काँही इ-रिक्सामा समेत लोड गरी बकि-बर्दिया जिल्लाको सीमा नदि मानखोलाको झुलुङ्गे पुल सम्म पुर्याउने र त्यहाँबाट अर्को समूहले रिसिभ गरेर मोटरसाईकल द्वारा नै माग भए अनुसारको स्थानमा पुर्याउने कार्य गर्दै आईरहेका छन् ।

कोहलपुरमा……

बाँके जिल्लाको कोहलपुर नगरपालिका अन्तर्गतका आस्था सामुदायिक वन, शक्ति सामुदायिक वन, सरस्वती सामुदायिक वन लगायतका सामुदायिक बनहरुबाट रातीको समयमा काठ तस्करी हुने गरेको पाईएको ।

यस क्षेत्रका बेरोजगार युवाहरुले नियमित आयआर्जनका लागि विगत देखी नै समूह बनाएर रातीको समयमा जंगलमा गई विभिन्न प्रजातीका रुखहरु काट्ने र गोलीमा तथा दाउरा बनाई साईकल, अटोरिक्सा लगायतका साधनहरु प्रयोग गरि चोरी तस्करी गर्ने गरेको पाईएको छ ।

कोहलपुर नगरपालिकाको वडा नं. ७. ८, १०, १२ र १३ नम्बर वडामा फैलिएका उल्लेखित सामुदायिक बनहरुमा कटान हुने काठहरू रातीको समयमा कोहलपुर नपा १३ को “सिम्री, कोहलपुर नपा १० को चटार, कोहलपुर नपा ८ को पिपरी र कोहलपुर नपा १४ को हवल्दारपुर हुँदै तस्करी हुने गरेको पाईएको छ ।

तस्करहरुले स्थानीयस्तरमा माग बढी भएका विशेषगरी साल, सिसौ र सगुन जातको काठको तस्करी गर्ने गरेको पाईन्छ।

काठ तस्करहरूले अवैध रुपमा चोरी तस्करी गरेका काठहरू माग अनुसार सःमिल, फर्निचर उद्योग, ईट्टा उद्योग तथा घर निर्माण गरिरहेका व्यक्तिहरुको घरहरु सम्म नै पुर्याउने गरेको देखिएको छ ।

सःमिल तथा बजारमा सालको काठ खरिद गर्दा महंगो पर्ने र तस्करहरूसँग किनेको खण्डमा सस्तोमा पाउनुको साथै घर मै पुर्याईदिने गरेको कारण स्थानीय उपभोक्ता विशेषगरी घर निर्माण गरिरहेका व्यक्तिहरुले तस्करहरूसँग काठ खरिद गर्ने गरेको पाईएको छ ।

यसरी विगतदेखी नै नियमित रुपमा हुदै आईरहेको काठ तस्करी कार्य नियन्त्रणका लागि सरोकारवाला नियामक निकायहरुबाट ठोस एवं प्रभावकारी समन्वय भएको देखिदैन ।

काठ तस्करहरु स्थानीय व्यक्तिहरु नै रहेकोले निजहरुले स्थानीयस्तरमा रहेका बन कार्यालयका कर्मचारी, सामुदायिक वनका पदाधिकारी, सुरक्षाकर्मीका युनिटका अधिकारीहरु तथा ति युनिटबाट परिचालित प्रहरी कर्मचारीहरुलाई आर्थिक लगायतका विभिन्न प्रलोभनमा पार्दै मिलेमतो गरी वन क्षेत्रबाट अवैध रुपमा रुख कटान गरेर तस्करी गर्ने गरेको कारणले गर्दा समेत अवैध काठ तस्करी कार्य नियन्त्रण हुन नसकेको देखिन्छ ।

बाँके राष्ट्रिय निकुञ्ज तथा निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने सामुदायिक बनहरुबाट अवैध रुपमा रुख काटी तस्करी भईरहेको विश्वस्त सूचनाको आधारमा निकुञ्ज कार्यालय, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, वन कार्यालय तथा स्थानीय प्रहरी युनिटको प्रहरी सहित संयुक्त टोलीले खोजतलास तथा सर्च गर्ने क्रममा वन कार्यालय तथा प्रहरी युनिटका केही कर्मचारीबाट सूचना चुहावट गरी तस्करहरुलाई बचाउने गर्ने गरेको स्रोतले वताएको छ।

जवसम्म नियामक तथा सरोकारवाला निकायका अधिकारी / कर्मचारीहरु नैतिकवान एवं कर्तव्यनिष्ठ बन्दैनन तबसम्म उल्लेखित प्रकारको काठ तस्करी कार्य नियमित रहने देखिएको छ।