अख्तियारद्वारा सुर्खेतको पञ्चपुरीका पूर्व मेयर सहित ७ जनालाई भ्रष्टाचार मुद्दा दायर

सुर्खेत २२ चैत्र/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको पञ्‍चपुरी नगरपालिकाका पूर्व मेयर उपेन्द्र बहादुर थापा सहित ७ जना लाई भ्रष्टाचार गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पञ्‍चपुरी नगरपालिकामा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत “नमुना गाउँ निर्माण” कार्यक्रम संचालनको लागि नमुना समाज, सुर्खेत नामक संस्थासँग सम्झौता भएको कामै नगरी मिलिजुली ५० लाख रकम भुक्तानी गरी भ्रष्टाचार गरेकोले उक्त भष्टाचार कसुरमा संलग्न ब्यक्तिलाई निम्न बमोजिमको सजायको मागदाबी गरी मंगलबार विषेश अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

देहायः-

(क) पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्र बहादुर थापाले नमुना समाज सुर्खेतसँग सम्झौताबमोजिमको कार्यक्रम संचालन गर्नको लागि नगरपालिकाको कुनै बैठकसमेतबाट निर्णय नगराएको, नमुना समाजको कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्ताबसमेत माग नगरेको, संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन/नियमावली लगायतका प्रचलित कानुनसमेतलाई वेवास्ता गरेको, सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमता र विश्वसनीयता रहे/नरहेको आधार बिना हचुवाको भरमा नै नमुना समाजले सम्झौताबमोजिम रकम खर्च गरी फिल्डमा कामसम्पादन गरेको थियो/ थिएन सो समेतको अनुगमन, मूल्याङ्कन र कार्यसम्पन्न समेतको कार्यसम्पादन नगरी भुक्तानी दिन निर्देशन दिएको र नमुना समाजले सम्झौता विपरीत कार्य गरेको देखिँदादेखिँदै पनि दोश्रो किस्ताको रकमको भुक्तानी रोकी कानुनबमोजिम गर्नुपर्नेमा सो नगरी उल्टै कार्यसम्पन्न भएको भनी रकम भुक्तानीको लागि निर्देशन दिने निर्णय गरी भुक्तानी दिएको देखिन आएको हुँदा निज तत्कालीन नगर प्रमुखको मुख्य भूमिकामा रही बदनियतपूर्वक नगरपालिकाको सरकारी रकम हानिनोक्सानी गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा निजलाई बिगो रु.५०,००,०००।- (पचास लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना र सोही उपदफाको देहाय (छ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको रकम निजबाट असुल उपर गर्ने मागदाबी लिइएको छ ।

(ख) पञ्चपुरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सुर्खेतका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीले नमुना समाज सुर्खेतसँग सम्झौता गर्ने कार्यमा संलग्न रही नमुना समाजले काम शुरु नगर्दै, खर्च भएको रकमको बिल भरपाई बिना नै भुक्तानी दिने कार्यमा संलग्न रहेको, नमुना समाजले व्यहोर्ने भनेको रकमको आधिकारिकता र विश्वासनीयताको जाँचै नगरी सम्झौता एवं रकम भुक्तानी सदर गरेको कार्यक्रमको अनुगमन/मूल्याङ्कन लगायतको कार्य गरे / गराएको नदेखिएको हुँदा आफूसमेतलाई लाभ पुन्याउने बदनियतले सरकारी रकम हानिनोक्सानी गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा निजलाई बिगो रकम रु.३०,००,०००।– (तीस लाख रुपैया) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना र सोही उपदफाको देहाय (छ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको रकम निजबाट असुल उपर गर्ने मागदाबी लिइएको छ ।

(ग) पञ्चपुरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सुर्खेतका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटाले नमुना समाज सुर्खेतले कार्यक्रम संचालन गरेको/नगरेको सम्बन्धमा अनुगमन मूल्याङ्कनसमेतको कार्य नगरी रकम भुक्तानीको लागि पेश हुन आएका बिल भरपाई र कागजात आधिकारिक र वास्तविक हुन वा होईनन् भन्ने परीक्षण नै नगरी बाँकी दोश्रो किस्ताबापतको रकम सम्झौता विपरीत भुक्तानी सदर गरी रकम भुक्तानी दिई सरकारी रकम हानिनोक्सानी गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको भएको हुँदा निजलाई बिगो रकम रु.२०,००,०००।- (बीस लाख रुपैया ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना र सोही उपदफाको देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको रकम निजबाट असुल उपर गर्ने मागदाबी लिइएको छ ।

(घ) पञ्चपुरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सुर्खेतका लेखा अधिकृत मोहन बहादुर बुढाले नमुना समाज सुर्खेतसँग सार्वजनिक खरिद ऐन / नियमावली समेतमा भएका प्रावधान बिपरीत नमुना समाजसँग सम्झौता गर्ने कार्यमा सहभागी भएको, नमुना समाजलाई पहिलो र दोश्रो किस्ता गरी रु.५०,००,०००।- भुक्तानी दिई सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पाइएको हुँदा निजलाई बिगो रु.५०,००,०००।- (पचास लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना र ऐ. ऐनको उपदफाको देहाय (छ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको रकम निजबाट असुल उपर हुन मागदाबी लिइएको छ ।

(ङ) पञ्चपुरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सुर्खेतका लेखापाल लक्ष्मीप्रसाद अधिकारीले पेस हुन आएका बिल भरपाई र कागजातहरु आधिकारिक तथा वास्तविक हुन, होइनन् पेश भएबमोजिमका कागजातको आधारमा रकम भुक्तानी दिनुपर्ने हो होईन, कार्यक्रमको अनुगमन मूल्याङ्कन, कार्यसम्पन्न लगायतको कार्य भए गरेको हो, होईन भन्ने समेतका कुरा वेवास्ता गरी नमुना समाजलाई रु.२०,००,०००।– भुक्तानी दिई सरकारी रकम हानीनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पाइएको हुँदा निजलाई बिगो रु.२०,००,०००।- ( बीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना र सोही उपदफाको देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको रकम निजबाट असुल उपर गर्ने मागदाबी लिइएको छ ।

(च) नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जि.एम. भन्ने लाल बहादुर घर्ती मगर, नमुना समाज, सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा उद्यमशीलता परियोजना अन्तर्गत पञ्चपुरी नगरपालिकासमेतसँग सम्झौता गरी नगरपालिकाबाट प्राप्त रकम सम्झौता बमोजिम खर्च नगरी नक्कली बिल भरपाई र कागजात तयार गरी खर्च भएको भन्ने देखाई आफूसमेतलाई गैरकानूनी लाभ पुऱ्याउने बदनियतले कार्य गरी नगरपालिकासँग भएको सम्झौताबमोजिम कार्य नगरेको हुनाले निजहरु दुवैजना र नमुना समाज सुर्खेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिमको कसुर गरेको देखिन आएको हुँदा बिगो रु.५०,००,०००।– (पचास लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र बिगो रकमसमेत जफत गरिपाउन मागदाबी लिइएको छ ।

प्रवक्ता

भोला दाहाल