काठमाडौं १० भदौ / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित सबै कर्मचारीमाथि विस्तृत छानबिन र अनुसन्धान थालेको छ ।
पछिल्लो समय ६१ किलो सुन तस्करी र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् गरिएको ९ किलो सुनतस्करीमा संलग्न भनिएका सबै कर्मचारीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको छ ।
शुक्रबार बसेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पूर्ण बैठकले सुन तस्करीमा संलग्न भनिएका सबै कर्मचारीलाई अनुसन्धान घेरामा ल्याउने र उनीहरू सबैको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियार स्रोतले अध्यागमन विभागका महानिर्देशक अधिकारीसहित सुन काण्डमा मुछिएका सबैलाई छानबिनको घेरामा ल्याउने निर्णय गरेको हो ।
अख्तियारको सो निर्णयअनुसार ६० किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेका कर्मचारी सन्तोष श्रेष्ठमाथि छानबिन र अनुसन्धान शुरू गरिसकेको छ । यसै गरी ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कामाथि समेत अख्तियारले छानबिन गरिरहेको छ ।
अख्तियारले अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित सुन तस्करीमा मुछिएका सार्वजनिक ओहोदामा रहेका सबैमाथि विस्तृत छानबिन गर्न अनुसन्धान अधिकृतहरू नै तोकेर अनुसन्धान थालेको जनाइएको छ ।
अख्तियारले महानिर्देशक अधिकारीसहित अन्य कर्मचारीको सुन तस्करसँग भएका आर्थिक कारोबारका बारेमा विभिन्न सम्पर्क स्रोत मार्फत् जानकारी लिने काम गरिरहेको छ । सुन तस्करसँग सम्बद्ध रहेकाहरूको १३ पन्ने सम्पती विवरण भराउनुका साथै उनीहरूले यसअघि जागिर खाँदाका सबै गतिविधिको एक एक अध्ययन र अनुसन्धान गर्ने अख्तियार स्रोतले जनाएको छ ।
६० किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकार मानिएका दावा छिरिङसँग गहिरो कनेक्सन देखिएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारी विभागबाट हाल हटाएर गृह मन्त्रालयको अतिरिक्त समूहमा राखेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि अधिकारी र दावाबीच लामो समयदेखि विच्याटमा विभिन्न धन्दाका बारेमा कुराकानी हुने गरेको, अधिकारीले दावालाई सहयोग गरेको र सो बापत दावाले ठूलै आर्थिक सहयोग गरेको विषय फेला पारिसकेको स्रोतले बताएको छ भने महानिर्देशक अधिकारी सीआईबीको गम्भीर छानबिनमा समेत परिसकेका छन् ।
गृहमन्त्रालयले बिहीबार अधिकारीलाई अध्यागमन विभागबाट मन्त्रालय तान्ने निर्णय गरेकोमा अधिकारी भने हाल घर बिदामा बसेर आफुलाई बचाईदिन बिभिन्न शक्ती केन्द्रहरुमा धाईहरेको पाइएको छ।
अख्तियार स्रोतका अनुसार सुनकाण्डमा मुछिएका तथा तस्करहरूसँग कनेक्सन भएका कर्मचारीहरूले अकुत सम्पत्ति आर्जन गरेका प्रारम्भिक सूचनाहरू प्राप्त भइसकेका छन् । अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीले दावासँग मिलेर विभिन्न धन्दाहरू सञ्चालन गर्ने गरेको र सोबाट आएको ठूलो परिमाणको रकमले नेपाल र भारतका विभिन्न होटलहरूमा लगानी गरेको दाबी स्रोतको छ । पोखरा निवासी अधिकारीको पोखराका चर्चित र ठूला होटलहरूमा बढी लगानी रहेको बताइएको छ ।
स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए । ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत अधिकारीले भूमिका खेल्ने गरेको स्रोतले जानकारी दिएको छ ।
सुन तस्कर दावासँग अधिकारीको कनेक्सन अधिकारी ठूला करदाता कार्यालयमा बस्दा भएको थियो । त्यसपछि उनीहरूबीच घनिष्ट सम्बन्ध रहँदै आएको स्रोतको दाबी छ । ठूला करदाता कार्यालयको प्रमुख रहँदा नै सुन तस्करसँग निकट सम्बन्ध राख्नुलाई अत्यन्तै संवेदनशीलतापूर्वक लिनुपर्ने र यसले राष्ट्रिय हितमा समेत गम्भीर धक्का लाग्न सक्ने सरोकारवालाले बताएका छन् । नेपाल समाचारपत्रको अनलाईन संस्करणमा प्रकाशित समाचार लिइएको हो ।
हाम्रो संरचना । १० भाद्र २०८०, आईतवार ०८:३४