भयावह बन्दै गएको लागुऔषध नियन्त्रणमा सबै जिम्मेवार बनौं

हालको परिस्थितिमा हाम्रो जस्तो अल्पबिकसित देशमा लागु औषध सेवन कर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दोदरमा छ । राज्यको मेरुदण्ड मानिने युवाहरुको समुह उल्लेख्य मात्रामा छन ।

यसरी राष्ट्रको मेरुदण्ड नै कुलतको दलदलमा दिनानुदिन फसिरहेको हुँदा हाम्रो देश तुलनात्मकरुपमा पछाडि परेको हो । राष्ट्रको बारेमा सकारात्मक सोच राख्ने आफ्नो परिवार तथा समाज प्रति जिम्मेवार हुने समयमा यस प्रकारको दलदलमा फसेपछि राष्ट्रको बिकासको त के कुरा व्यक्तिगत, पारिवारिक तथा सामाजिक दायित्वमाथि प्रश्न नै खडा हुन्छ । लागु औषध नियन्त्रण गर्न परिवार समाज र राज्यको भुमिकाले महत्वपुर्ण रोल खेल्दछ ।

क) परिवारको भुमिका

वच्चाहरुलाई लागुऔषध दुर्व्यसनिको दलदलमा फस्नुमा सर्वप्रथम परिवारको भुमिका महत्वपुर्ण हुन्छ । अभिभावकहरुले आफ्ना छोराछोरीहरुको मानसिकता, ईच्छा, चाहना, आकांक्षा नबुझेर तथा छोराछोरीहरुको कम महत्व (Less Importance) राख्दा पनि अहिलेका युवाहरु दुर्व्यसनिमा फस्ने गरेको पाईन्छ ।

आफ्ना छोराछोरीहरुलाई सधै असल संस्कार सिकाउन घरपरिवार तथा अभिभावकहरुको महत्वपुर्ण दायित्व रहेको हुन्छ । सानो उमेरका बालबालिकाहरुले अभिभावकको व्यवहार अनुसरण गर्ने भएको हुँदा उनिहरुलाई असल गुणहरु सिकाउनु आवश्यक रहेको छ ।

हामिहरुले आफ्ना बालबालिकाहरुलाई आदर सम्मान प्रेम भक्ति स्वागत बिदाई जस्ता गुणहरु सिकाउनु आवश्यक छ । युवा अवस्थामा प्रवेश गरिसकेका वच्चाहरुलाई बिहान घरबाट बाहिर निस्केदेखि बेलुका घर भित्र आउदा सकभर सम्पुर्ण कुराहरु खुलस्त रुपमा प्रस्तुत गर्न सक्ने वातावरण बनाईदिनु उनिहरुलाई अभिभावकको रुपमा मात्र नभई एउटा असल मित्रको ब्यवहार गर्नुपर्दछ ।

कुनैपनि अपरिचित चिजबस्तुहरु प्रयोग गर्दा अभिभावकको सल्लाह अनुमति लिने बानिको बिकास गराउनु अत्यावश्यक छ । कतिपय परिवारमा अभिभावकहरुले मादक पदार्थ सेवन गरी घरभित्र प्रवेश गर्ने तथा कतिपय अभिभावकहरुले बच्चाहरुलाई संगै राखेर घरमै मादक पदार्थ सेवन गर्ने र कतिपयले त बच्चाहरुलाई नै मध्यपान तथा धुम्रपान जस्ता सामाग्रीहरु किन्न पठाउने र यस्ता सामाग्रीहरु सेवन गरी आन्तरिक कलह मच्चाउने खालका छन । यस प्रकारका कृयाकलापले बालबालिकाहरुमा नकारात्मक सोचहरुको बिकास हुन्छ र त्यसको नकारात्मक असर पनि पर्न सक्छ ।

अभिभावकहरुले बालबच्चाहरुको सामुन्यमा भए गरेका यस प्रकारका आफ्ना गल्तिहरुको आत्माआलोचना गर्न एकदमै जरुरी छ । जिवनका लागि उपयोगी असल शिक्षा, असल संस्कार र आचरण सिकाउनु अभिभावको प्रमुख कर्तव्य हो । आफ्ना सन्तानको ईच्छा आकांक्षाहरुलाई ध्यानमा राखेर उचित कदम चाल्नु आवश्यक हुन्छ । सन्तानलाई परम्परागत मुल्य मान्यता र संस्कृतिको महत्व बुझाउन एकदमै जरुरी छ, यथासम्भव आफ्ना सन्तानहरुलाई सदाचारी आज्ञाकारी प्रबृतिको बनाउनु नै अति उत्तम उपाय हो ।

ख) समाजको भूमिका :

आफ्नो समाजका कुनै एक व्यक्ति लागु औषध दुर्व्यसनिमा फसेको छ भने त्यो घरपरिवार मात्र समस्यामा परेको हुँदैन त्यसको नकारात्मक असर पुरै सम्पुर्ण समाज माथि नै परिरहेको हुन्छ । तसर्थ समाजले पनि यो समस्यालाई समाधान गर्न महत्वपुर्ण भुमिका खेल्नु पर्ने हुन्छ । जसले गर्दा समाजलाई शैक्षिक र बौद्दिक दिशातर्फ डोर्यावउन सकियोस । समाजमा हुने प्रत्येक कृयाकलापहरुमा युवाहरुलाई समेट्नु पर्दछ ।

समाजमा रहेका युवाहरुलाई दुर्व्यसनिबाट टाढा राख्नका लागि वा दुर्व्यसनिबाट मुक्त गराउनका लागि समय समयमा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्न जरुरी छ । हाम्रा समाजमा रहेका बिभिन्न स्वदेशि तथा बिदेशि संघ, संस्था, धार्मिक मनोरन्जनात्मक संस्थाका संचालकहरुले समय समयमा जनचेतनामुलक कृयाकलापहरु संचालन गर्न जरुरी छ ।

फसिसकेका व्यक्ति तथा परिवारलाई हौसला तथा सहयोग प्रदान गर्नु समाजको प्रमुख दायित्व रहन्छ । समय समयमा भएका अध्ययन अनुसार नेपालका बिभिन्न क्षेत्रमा लागु औषध सेवन गर्ने व्यक्ति तथा उसको परिवार र अझै उक्त समाजलाई समेत नकारात्मक दृष्टिकोणबाट हेर्ने गरेको पाईएको छ । यस्तो कार्यले गर्दा उक्त दुर्व्यसनिबाट छुट्कारा पाउनु त कता हो कता अरु अरु दलदलमा फस्न पुग्छन ।

समस्याको बेलामा सहयोग नगर्ने समाज सधै अन्धकार भित्रै रुमलिने गरेको हुन्छ । त्यसकारण समाजमा रहेका सम्पुर्ण ब्यक्तिहरुमा एकताको भावनाको बिकास हुन जरुरी छ । यस्ता समाजमा रहेका युवा व्यक्तिहरुलाई प्रमुख भुमिकामा मुख्य जिम्मेवारीका साथ राख्न समेत जरुरी छ ।

ग) राज्यको दयित्व :

नेपालमा दिनहु धेरै युवाहरु लागु औषध दुर्व्यसनिमा फसिरहेका छन । हाम्रो जस्तो अल्प बिकसित मुलुकमा यो समस्याले भयानक रुप लिईसकेको छ । यस्को नियन्त्रणका लागि परिवार र समाजको दायित्व अझै बढि छ ।

राज्यमा रहेका सबै मानिसहरुमा एकमात्र नियन्त्रण सरकारको रहेको हुन्छ । यस सम्बन्धि उचित नियम कानुन बनाएर अझै कडाईका साथ कार्यान्वयन गर्न गराउन सरकारको मुख्य कर्तव्य हो । देशमा रहेका युवाहरुलाई उचित शिक्षा प्रदान गर्नु, योग्यता अनुसारको रोजगारी प्रदान गर्नु राज्यको प्रमुख दायित्व हो ।

नेपालमा खुल्ला सिमानाको कारण भारतबाट अत्याधिक मात्रामा लागु औषध भित्रिने पाईएको छ । यसलाई नियन्त्रण गर्न सिमा नाकाहरुमा कडाई गर्नुका साथै अत्याधुनिक मेसिनहरुको प्रयोगद्धारा चेकजाँच गर्न एकदमै आवश्यक छ । साथै बिमानस्थलहरुमा पनि उत्तिकै आवश्यक छ । राज्यले बिद्यालय तहबाट नै लागु औषध सम्बन्धि बिषय अनिवार्य रुपमा पढाई हुने व्यबस्था गर्नु पर्दछ ।

प्रदेश तथा स्थानिय तहबाट नै लागु औषध सम्बन्धि सचेतनाका कार्यक्रमहरु उचित समयमा प्रभावकारीताका साथ सम्पन्न गर्नुपर्ने हुन्छ । लागु औषध नियन्त्रण गर्न बिभिन्न समयमा निति निर्देशन तथा नियम कानुनहरु पूर्णरुपमा कार्यान्वयन गराउनु पर्दछ र आवश्यकता अनुसार त्यस्ता नियम कानुनहरुलाई समय सापेक्ष परिमार्जन समेत गर्नु पर्दछ । बिभिन्न प्रकारका औषधि तथा उत्पादन तथा बेचबिखन सम्बन्धि कडा नियम कानुनको निर्माण गरी कार्यान्वयन गर्नु पर्दछ ।

युवा बर्गहरुको लागि बिभिन्न प्रकारका लक्षित कार्यक्रमहरु संचालन गरी स्वदेशमै रोजगारमुलक कार्यक्रमहरु संचालन गर्नु पर्दछ । राज्यभित्र रहेका पुनर्स्थापना केन्द्रको बिभिन्न समयमा अनुगमन गरी कडा नियम कानुनको परिधि भित्र राख्न अत्यन्त जरुरी देखिन्छ । कडा नियम कानुनको परिधि भित्र राखि प्रोत्साहन स्वरुप बिभिन्न अनुदान उपलब्ध गराई नेतृत्व बिकासका लागि स्वरोजगार सम्बन्धि तालिमहरु प्रदान गर्नु पर्दछ । देशको बिभिन्न स्थानहरुबाट लागु औषध मुक्त क्षेत्र घोषणा गर्दै सचेतनामुलक कार्यक्रमहरु निरन्तर संचालन गर्नुपर्ने देखिन्छ । अव आउने पुस्तालाई कुनैपनि लागु औषध दुर्व्यसनिमा लाग्न नदिने तर्फ राज्यले कडा पहल कदमी गर्न आवश्यक छ ।

अन्तमा सभ्य र भब्य समाजको निर्माणका लागि समाजमा रहेका सम्पुर्ण बिकृति बिसंगतिहरुलाई जरैबाट निर्मुल गर्नको लागि युवा समुहलाई नै अग्रपंतिमा राखि अगाडि बढ्नु पर्दछ र राज्यले अभिभावकको भूमिका पनि निर्बाह गर्नु पर्दछ ।

डिल्ली बहादुर खड्का
तुलसिपुर उप–महानगरपालिका–२ दाङ