बर्षा कारण गएको बाढी, पहिरो र डुबानका घटनाहरुमा १७० जनाको मृत्यु, ४२ जना बेपत्ता र १११ जना घाईते


नेपालगञ्ज १४ असोज / असोज १० गते देखि १३ गते सम्म भएको बर्षा र त्यसका कारण देशका बिभिन्न ठाउंमा गएको बाढी र पहिरोमा परी आईतबार सांझ सम्म १७० जनाको मृत्यु, ४२ जना बेपत्ता र १ सय११ जना घाईते भएको गृह मन्त्रालयले जनाएको छ ।

आईतबार सांझ नेपाल सरकार गृह मन्त्रालयलले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार असोज १० गते देखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण
बाढी पहिरो र डुबानका घटनाहरुबाट आईतेबार सांझ सम्म १७० जनाको मृत्यु, ४२ जना बेपत्ता र १११ जना घाईते भएका छन्।

गृह मन्त्रालयका सह–सचिव एवम प्रवक्ता ऋषिराम तिवारी दवारा जारी गरिएको बिज्ञप्ती अनुसार बाढी पहिरो र डुबानका घटनाहरुमा पिडितहरुको खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरु परिचालित भई हाल सम्म करिब ४ हजार विपद् प्रभावितहरुको उद्धार गरिएको जनाएको छ।

आईतबार मात्र काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर लगायतका जिल्लाको विभिन्न स्थानबाट विपद्का कारण घाईते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिनुका साथै खाद्यान्न लगायतका आपतकालीन राहत सामाग्रीहरु उपलब्ध गराईएको गृह मन्त्रालयले जनाएको छ। बाढी पहिरो र डुबानका घटनाहरुमा घाईतेहरुको बिभिन्न सरकारी अस्पतालमा निशुल्क उपचारको भईरहेको पनि गृह मन्त्रालयले जनाएको छ।

सबै सुरक्षा निकायहरु खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिईरहेको र सम्बद्ध निकायहरुसँग समन्वय गरी अवरुद्द राजमार्गहरु तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको पनि जनाछ।

काठमाण्डौं जोडने त्रिभुवन राजमार्गको थानकोट नौबिसे सडक खण्डको झ्याप्ले खोलाको अवरोध हटाई आईतबारबाट नै यातायात सञ्चालन गरिएको छ भने प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिहरु समेत विपद प्रभावितहरुको खोज तथा उद्धार र राहतमा सक्रियता पूर्वक जुटिरहेको गृह मन्त्रालयले जानकारी दिएको छ।