नवलपरासीको दाउन्नेमा एकैपटक ५ वटा सवारी साधन दुर्घटनामा, १ को मुत्यू,७ जना घाइते

२५ पुस,नवलपरासी/ बर्दघाट सुस्ता पूर्वको नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

तस्विर : फाइल फोटो

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु ३ त ४५०० नम्बरको ट्र्याक्टरलाई ना ४ ख ६६९० नं ट्रकले ठक्कर दिँदा ट्र्याक्टरमा सवार सात जना घाइते भएका हुन् ।

दुर्घटनामा विनयी त्रिवेणी–२ निवासी ५० वर्षीया भगवती कार्कीको उपचारको क्रममा निधन भएको दुम्किवास प्रहरीले जनाएको छ । ट्रक र ट्र्याक्टर ठोक्किएपछि सोही सवारी साधनमा ना ३ ख ५९३६ ट्रक, लु ३ च ५३२२ नम्बरको जिप र ना ६ ख ५४२९ नम्बरको ट्रक पनि ठक्कर खाएका थिए ।

दुर्घटनामा परी विनयी त्रिवेणी–२ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाया, ४० वर्षीया मीना रोकाया, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीय जितकुमार पौडेल घाइते भएका छन् । घाँसदाउरा गरेर ट्र्याक्टरमा दुम्किवासतर्फ फर्कदै गरेका महिला तथा पुरुष दुर्घटनामा परेका हुन् । रासस

सम्बन्धित शीर्षक