एक महिनामा नेपाललाई ३ अर्ब २९ करोड रुपैयाँ सोधनान्तर घाटा-राष्ट्र बैंक

२१असोज,नेपालगञ्ज/ यस आर्थिक वर्षको पहिलो महिनामा नै देशको सोधनान्तर अवस्था ऋणात्मक भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्र नेपालले ३ अर्ब २९ करोड रुपैयाँ सोधनान्तर घाटा व्यहोरेको छ ।  यो अघिल्लो वर्षको साउन महिनाको तुलनामा १ अर्ब १८ करोड रुपैयाँ बढी हो । देशभित्र भित्रिने र देशबाट बाहिरिने रकम बिचको अन्तरलाई सोधनान्तर भनिन्छ । 

सोधनान्तर घाटाको कारण

देशको चालु खाता, पूँजी खाता र वित्तिय खातामा रहेको रकमको समग्र हर-हिसाबबाट सोधानान्तर स्थिति पत्ता लगाइन्छ । राष्ट्र बैंकले यी तीनैवटा खाताको लेखाङ्कन गर्दा देशभित्र भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढी भएमा सोधानान्तर अवस्था ऋणात्मक अर्थात घाटामा जान्छ भने देशबाट बाहिरिने रकम भन्दा भित्रिने रकम बढी भएमा सोधानान्तर बचतमा जान्छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार वैदेशिक व्यापार घाटा बढ्दै जानु, वैदेशिक लगानीमा दिइने लाभांस बढ्दै जानु, डलरको भाउ आकाशिनु, रेमिट्यान्सको बृद्धिदर घट्दै जानु र वैदेशिक अनुदानको हिस्सा कम हुँदै जानु ,हुण्डि तथा गैर कानुनी रुपमा सुन तस्करी गरि पैसा दिनु, लगायत कारणले नेपालको सोधानान्तर स्थिति ऋणात्मक भएको हो । दुई वर्षअघिसम्म बचतमा रहेको नेपालको सोधनान्तर स्थिति निरन्तर ऋणात्मक अवस्थामा पुगेको यो दोस्रो वर्ष हो ।

सोधनान्तर ऋणात्मक हुँदाको असर

देशको सोधनान्तर ऋणात्मक भएपछि त्यसको सोझो असर वैदेशिक विनिमय सञ्चितिमा पर्छ । सामान्य सोधानान्तर घाटाले ठूलो असर नपर्ने भएपनि लामो समयसम्म सोधनान्तर घाटा भइरहेमा देशले विदेशी मुद्रामा भुक्तानी गर्ने क्षमता गुमाउदै जाने कार्यकारी निर्देशक पौडेलको भनाई छ ।

‘सोधानान्तर ऋणात्मक देखियो भन्नुको अर्थ वैदेशिक मुद्राको सञ्चिति प्रयोग गर्नुपर्ने अवस्था देखियो भन्नु हो, वैदेशिक मुद्राको सञ्चिति घट्ने वित्तिकै आयातको क्षमता घट्दै जानु हो । सामान्य घाटाले खासै असर पर्दैन तर क्रमिक रुपमा यसको आकार बढ्दै गयो भने विदेशी विनिमय सञ्चितिमा चाप पर्छ र यसले विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने दायित्वहरु पूरा गर्न नसक्ने अवस्थामा पुग्न सक्छ’ पौडेलले भन्नुभयो ।

नेपालसँग अहिले १ वर्षसम्म आयात गर्न पुग्ने विदेशी मुद्राको सञ्चिति छ । अरु विकासशील तथा विकसित देशमा ३ देखि ६ महिना आयात गर्न पुग्ने विदेशी मुद्राको सञ्चिति हुन्छ । नेपालको सोधानान्तर स्थिति निरन्तर ऋणात्मक हुँदै विदेशी मुद्राको सञ्चिति तीन महिना मात्र आयात गर्न पुग्ने अवस्थामा ओर्लिए देशमा आर्थिक संकट निम्तिन सक्छ ।

अर्थविज्ञ डा. शंकर शर्मा भन्नुहुन्छ ‘यसले नेपालको मुद्रा कमजोर बनाउँछ, जसका कारण वैदेशिक लगानीको वातावरण बन्दैन, आयात महँगो भएपछि यसबाट मूल्य बृद्धि सिर्जना हुन्छ । जब तीन महिना भन्दा कम आयातका लागि मात्र पुग्ने विदेशी मुद्रा सञ्चितिको अवस्थामा पुग्यो भने देशमा आर्थिक संकट निम्तिन्छ, त्यत्तिबेला ठूलो ऋणको बोझ बोक्नुपर्ने अवस्था आउन सक्छ ।’

देशको सोधानान्तर स्थितिमा सुधार ल्याउन अनावश्यक आयातमा अंकुश लगाउनुपर्ने, निर्यात बढाउनुपर्ने, रेमिट्यान्स भित्र्याउन नयाँ नयाँ देशको पहिचान गर्नुपर्ने र पर्यटन उद्योगको विकास गरिनुपर्ने अर्थविज्ञको सुझाव छ । उज्यालोअनलाईनमा समाचार छ ।