कुन जिल्लामा कति मत खस्यो ? मतपेटिकाहरु जिल्ला सदरमुकाममा ल्यानउने क्रम जारी,

११ मंसिर नेपालगञ्ज/ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा हिजो मङ्सिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा लगि सकिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ ।

यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको पनि आयोगले जनाएको छ । मतदानमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको बताइएको छ ।