डडेलधुराको रडुवा खोलामा बस दुर्घटना: १८ जनाको मुत्यू २६ जना घाईते

७ मंसिर,डडेलधुरा/  डडेल्धुराबाट डोटी जाँदै गरेको बस बिहिबार सांझ करीब साढे ५ बजे रडुवा खोला घिरबाट खसेर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ चने २६ जना घाईते भएका छन ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कर्णबहादुर रौलेका अनुसार सुदुर पश्चिमको पहाडी जिल्ला डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा डोटीको शिखर नगरपालिका १२ मा रहेको पिसजोन एकेडेमी बोर्डिङ स्कुलको से १ क २९३ नम्बरको बस डा.केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोला भिरबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको ज्यान गएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर जितेन्द्र कँडेलले जानकारी दिनुभयो । ट्राफिक प्रहरी पोष्ट स्याउलेका प्रमुख गणेश नागारीका अनुसार ज्यान गुमाउने मध्ये डोटीको दिपायल सिलगढी नगरपालिका ४ बस्ने शशी विकको मात्र पहिचान भएको छ ।

घाइते मध्ये गम्भीर अवस्थाका ११ जनालाई कैलाली रिफर गरिएको छ भने अन्य १५ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ । ओरालो सडक र बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

सामान्य अवस्था भएका दुई जनालाई भने अस्पतालले डिस्चार्ज गरेको प्रहरीले जनाएको  छ । गम्भीर घाइतेको संख्या बढी भएकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला हेर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला हेरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।