सामान ढुवानीसम्बन्धी नयाँ प्रणालीका विषयमा छलफल

२६ जेष्ठ, चितवन । राजश्व अनुसन्धान विभागले शनिबार यहाँका व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल गरेको छ । उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको कार्यक्रममा यही साउनबाट अनिवार्यरूपमा लागू गर्न लागिएको वेवमा आधारित भेइकल एण्ड कन्जिङ्म्यान्ट ट्रयाकिङ सिस्टमका सम्बन्धमा छलफल गरिएको हो ।

सो अवसरमा दिइएको जानकारीअनुसार यस पद्धति सामान ढुवानी गर्दा प्रयोग गरिनेछ । एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानबाट अर्को स्थानसम्म सामान ढुवानी गर्दा दर्ता गराएर गर्नुपर्ने हुन्छ । यस प्रणालीअन्तर्गत ढुवानी कम्पनी, आयातकर्ता र आफैँ सामान ढुवानी गर्नेहरुले मालसामान ओसारपसार गर्नुपूर्व वेवमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्टि गरेर मात्र ओसारपसार गर्नुपर्ने नयाँ सफ्टवेयर प्रणाली भएको सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रममा राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मीले यस प्रणाली के हो, यसबाट के–के फाइदा हुन्छ, यस प्रणालीको आवश्यकता किन प¥यो, हाल ढुवानीकर्ताले भर्ने गरेको चलान, यस प्रणालीबाट बन्ने चलानलगायतका बारेमा प्रकाश पार्नुभएको थियो । विभागका निर्देशक टङ्क पाण्डेका अनुसार यस प्रणालीका बारेमा जेठ महीनाभरिमा देशभरका प्रमुख शहरहरुमा अन्तरक्रिया गरी छलफल गरिनेछ ।

असार महीनामा परीक्षणका रुपमा प्रयोग गरेर साउनबाट अनिवार्य रुपमा लागू गरिने पाण्डेले जानकारी दिनुभयो । यस प्रणालीअन्तर्गत ढुवानी पूर्व सामानको विवरण केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसारपसार गर्न सकिने उहाँले बताउनुभयो । जसबाट बाटोमा हुने सबै झन्झट हट्ने पाण्डेको भनाइ छ ।

सो अवसरमा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजाल, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, सङ्घका उद्योग प्रवद्र्धन समितिका संयोजक सोमप्रसाद काप्रीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले यस प्रणालीका बारेमा जिज्ञासा राखेका थिए ।