बांके राष्ट्रिय निकुञ्जका प्रमुख र सहायक ८ लाख ९८ हजार रुपैया सहित अख्तियारबाट नियन्त्रणमा

१९ साउन, नेपालगञ्ज/  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल स्थित प्रदेश कार्यालयले बांके राष्ट्रिय निकुञ्ज बांकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भटटराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई ८ लाख ९८ हजार रुपैया सहित सोमबार अपरान्ह रुपन्देहीबाट सैनामैनाबाट पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बांके राष्ट्रिय निकुञ्जका प्रमुख र सहायकले ब २ झ १८७३ नम्बरको गाढीमा अख्तियारीको दुरुपयोग गरि लाभ लिएको  पैसा सोमबार लिएर बांकेबाट बुटवल तर्फ आईरहेको भन्ने सूचनाको आधारमा बुटवल स्थित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

आयोगको बुटवलबाट खटिएको टोलीले पूर्ववपश्मि राजमार्गमा यात्रम गरिरहेको अवस्थामा रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडानम्बर १० बाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ताले जानकारी दिनुभएको छ ।

पक्राउ परेका ब्यक्तीहरुबाट स्रोत नखुलेको ३ लाख ४८ हजार रुपैया र ५ लाख ५० हजार रुपैया बैंकमा जम्मा गरेको बैंक भौचर समेत गरि कुल ८ लाख ९८ हजार रुपैया सहित नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।