आमासंगै मामा घर गएर फर्किदा सल्यानको दार्मामा २ बालबालीकाको खोलामा बगेर मुत्यू

Photo: File

३१ भदौ,सल्यान/ सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ६ मलिवाङ्ग निवासी दुर्गा केसीका २ छोरा/छोरीलाई स्थानीय मलिवाङ्ग खोलाले शनिबार बेलुका बगाउँदा मृत्यु भएको छ ।

मृत्यु हुनेमा केसीका २ वर्षीय छोरा मोहन केसी र ६ वर्षीया छोरी रेखा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रुकुमको नुवाकोटमा रहेको मामाघरमा आमा सहित गएका उनीहरु घर फर्कने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ।

खोलाले बगाएर बेपत्ता बनाएका बालबालिकाको इलाका प्रहरी कार्यालय फारुला र स्थानीयवासीले शनिबार रातभरि नै खोजी गरेका थिए । मृतक मोहनको लास शनिबार राति नै फेला परेको भए पनि रेखाको लास भने बगाएको स्थान देखि ३ सय मिटर तल आईतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर घाइते भएकी २८ वर्षीय मृतक बालबालिकाकी आमा पूर्णिमा केसीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । बुबा भने वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा छन् ।