सरकारको निर्वाचन सार्ने घोषणाले भोट हाल्न घर फर्केकाहरु निराशा

दुर्गा उपाध्याय/ कञ्चनपुर

नजिकिंदै गएको स्थानीय तहको चुनावले गाउँ फर्किनेहरुको चहलपहल बढ्दै गएपनि पश्चिमी सीमा नाकामा भने यसको असर कम देखिन थालेको छ । वैशाख ३१ को चुनाव जेठ ३१ मा हुने भएपछि अहिले कञ्चनपुरको गड्डाचौकी नाका विस्तारै सुनसान देखिन थालेको हो । 

चैतको तेस्रो सातादेखि दैनिक झण्डै २ हजार नेपाली कामदार नेपाल भित्रिएकोमा अहिले दैनिक एक सय ५० जना नेपाली कामदार आउने गरेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । यसरी घर फर्किनेहरु पनि सरकारले वैशाख ३१ को चुनाव जेठ ३१ गर्ने भएपछि निराश भएका छन् ।

महेन्द्रनगरको बसपार्कमा भेटिनुभएकी सरु आग्री भारतको दिल्लीबाट आउनुभएको हो । उहाँको पूख्र्यौली घर बझाङ्ग हो । लामो समयदेखि भारतमा रोजगारी गर्दै आउनुभएकी आग्रीलाई नेपालमा चुनाव हँुदैछ भन्ने मात्र थाहा छ । उहाँलाई राम्रोसँग नेपाली बोल्न समेत आउँदैन । तर अब हुने चुनावमा राम्रो मान्छेले जितोस भनेर असल जनप्रतिनिधी चुन्नकै लागि उहाँ नेपाल आएको बताउनुहुन्छ ।

स्थानीय तहको चुनावले नेपालमा बसेकालाई मात्र होइन् कामका लागि भारत गएकाहरुलाई समेत छोएको छ । त्यसैले पनि अब चुनिने जनप्रतिनिधिले गाउँठाउँ र देशको विकास गर्नुपर्ने भन्दै त्यस्तै उम्मेदवारलाई जिताउन उनीहरु नेपाल फर्किन थालेका छन् ।

यस्तै, भारतबाट फर्कदै गरेका बझाङकै अर्का जयबहादर आग्री हाम्रो होइन राम्रो मान्छेलाई चुन्नका लागि नेपाल फर्किएको बताउनुहुन्छ । जनताले अब पार्टी हेर्न नहुने भन्दै आफ्नो गाउँ ठाउँ र आम नागरिकका लागि काम गर्ने मान्छेलाई जिताउनुपर्ने उहाँको भनाई छ ।

उता, सरकारले मधेशी मोर्चालाई स्थानीय चुनावमा सहभागी गराउने भन्दै दुई चरणमा चुनाव गर्ने भएपछि भोट हाल्न भन्दै घर फर्किएका कतिपय नेपाली भने निराश भएका छन् । सरकारले पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा वैशाख ३१ र दोस्रो चरणमा १, २, ५ र ७ प्रदेशमामा जेठ ३१ मा चुनाव गराउने भएपछि छोटो बिदामा नेपाल फर्किएका उनीहरुलाई चुनावअघि नै कामका लागि भारत फर्किनु पर्ने बाध्यता आइपरेको छ । रोजीरोटी नगरी परिवार पाल्न गाह्रो हुने भएकाले छोटो बिदाले अब चुनावसम्म बस्न नसकिने बझाङकै अर्का स्थानीय जगपृथ्वीनगरका दलबहादुर रावलले दुखेसो गर्नुभयो ।

यता, चुनावका लागि घर आएका कतिपय त भोट नहालेरै फर्किने तयारीमा लागि सकेका छन् । बालबच्चा र परिवारलाई भारतमै छोडेर चुनावका लागि आएका उनीहरु चुनावको मिती नै सरेपछि निराश हुदै काममा फर्कन थालेका हुन । ‘सरकारले तोकिएकै समयमा चुनाव गर्छ भनेर चाँडै नेपाल आयौँ । तर घर पुग्न नपाउँदै चुनावको मिति नै सरेछ’ भारतबाट घर फर्कदै गर्नुभएका बझाङको कल्लेकका अखिमण्डल दाहालले दुःखी हुदै भन्नुभयो ।