महाअभियोगको प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश, प्रधानन्यायाधीश कार्की आजै काममा फर्कनू

२२ बैशाख, काठमाडौं / सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएको छ । साथै कार्कीलाई यथावत रुपमा आफ्नो पदमा काम गर्न दिन भनेको छ । 

 

महाअभियोगविरुद्ध दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले संविधानको मर्म र भावना अनुसार महाअभियोग नआएको बताएको छ । न्यायाधीयहरुबाट गरिने व्यवहार, आचरण र न्याय सम्पादन समेतमा विचलन भए नभएको विषयमा गम्भीर छलफल भएर निस्कने परिणाम वस्तुगत र प्रमाणयोग्य आधार भए मात्र महाअभियोग प्रस्ताव संवैधानिक र जायज हुने आदेशमा उल्लेख छ ।

सुविधा सन्तुलनका आधारमा रिटको टुंगो नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । साथै प्रधानन्यायाधीश कार्कीलाई यथावत रुपमा आजै आफ्नो पदमा काम गर्न दिन भनेको छ ।