प्रदेश २ मा २६ हजार ६सय ५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग

२२ भाद्र,नेपालगञ्ज / प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा २६ हजार ६ सय ५२ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।  

निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)बाट बिहीबार बिहान ९:३० बजेसम्म प्राप्त विवरणअनुसार प्रमुख एवं अध्यक्षमा एक हजार ४ सय ७७, उपप्रमुख एवं उपाध्यक्षमा ९ सय ४९, वडाध्यक्षमा पाँच हजार ८ सय ८५ उम्मेदवारी परेको छ ।

महिला सदस्यमा चार हजार ८ सय ८६, खुल्ला सदस्यमा नौ हजार ५ सय ८२ र दलित सदस्यमा तीन हजार ८ सय७३ उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख एवं अध्यक्षमा सबैभन्दा बढी सर्लाहीमा २३० उम्मेदवारी परेको छ भने कममा १ सय ४६ रौतहटमा परेको विवरण प्राप्त भएको छ । आगामी असोज २ गते हुने निर्वाचनको मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो ।

उम्मेदवारी दर्ताका लागि महिला, दलित लगायतका उम्मेदवारले उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराएका थिए । उक्त मितिमा निर्वाचन हुने १३६ स्थानीय तहमध्ये आयोगमा १३४ को उम्मेदवारी विवरण आएको छ भने सिरहा नगरपालिका र सोही जिल्लाको धनगढीमाई नगरपालिकाको विवरण भने अझै आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता, पत्रकार पनि चुनावमा

स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरी जिल्लामा बुधबारराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जिल्लाको कुल ७ सय २० पदका लागि हजारौंको संख्यामा मतदाताले उम्मेदवारी दर्ता गराउनुभएकाले सो कार्य अबेर रातिसम्म भएको बताए ।    जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा भएको उम्मेदवारी दर्ता राति अबेरसम्म चलेको छ । बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम रहे पनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले बेलुका ३ बजेपछि मात्रै बढी संख्यामा दर्ताका लागि आएकोमा राति ११ बजेसम्म उम्मेदवारी दर्ताको काम चलेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।

उनले उम्मेदवारी दर्तामा खटिएका कर्मचारीले राति ११ बजेसम्म सबै उम्मेदवारको दर्ता गरिसके पनि राति २ बजेसम्म पनि कम्प्युटर इन्ट्री गर्न नसकेको र अझै पनि सो काम भइरहेकाले बिहिबार जिल्लामा कति उम्मेदवारी दर्ता भएकोबारे स्पष्ट हुने जानकारी दिए । महोत्तरीमा बुधबार निक्कै उल्लासपूर्ण वातावरणमा  उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

दुई पत्रकार चुनावमा/ पूर्वअध्यक्ष प्रमुखमा उम्मेदवार

असोज २ गते प्रदेश नं २ अन्तर्गत हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाबाट दुई जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

नेपाल पत्रकार महासंघ महोत्तरीको लगातार तीन चरण नौ वर्षसम्म अध्यक्ष रहिसकेका तथा वर्तमान अवस्थामा पनि महोत्तरीबाट नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद्समेत रहनुभएका उहाँले आफ्नो स्थायी ठेगाना महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाबाट बुधबार स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष, वर्तमान पार्षद् तथा महोत्तरी जिल्लाबाट नेपाल टेलिभिजनका संवाददाता रहेका पत्रकार मण्डललाई राष्ट्रिय जनता पार्टी नेपालले मटिहानी नगरपालिकाको प्रमुख पदका लागि टिकट दिएपछि उनले मटिहानी नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसै गरी, नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सल्लाहकार तथा प्रदेश नं २ का प्रादेशिक पार्षद् एवं लोकपुकार साप्ताहिकका संवाददाता पत्रकार वैद्यनाथ चौधरीले पनि महोत्तरी जिल्लाबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पत्रकार वैद्यनाथ चौधरी जिल्लाको पिपरा गाउँपालिका–७ बाट वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका हुन् । पत्रकार चौधरीलाई वडाध्यक्ष पदका लागि नेपाल लोकतान्त्रिक फोरमले टिकट दिएपछि उनले पिपरा गाउँपालिकामा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । रासस