प्रदेश नम्वर २ मा मतदान: भ्रम,चलखेल,जाग्राम र कत्ल कि रात !

१ असोज,नेपालगञ्ज/  प्रदेश २ का १ सय ३६ स्थानीय तहमा स्थानीय तह नेतृत्वका तेस्रो चरणमा सोमबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ । 

मतदानका लागि ३ हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ । १ महा-नगर, ३ उप-महानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको २ प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् । निर्वाचन सुरक्षाका लागि प्रत्येक जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ६ हजारदेखि ८ हजारसम्म सुरक्षाकर्मी खटिएका छन् । सीमा नाका ७२ घन्टाका लागि सिल गरिएको छ ।

अन्तिम कसरत : ‘कत्ल कि रात

निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने कसरत चलिरहेको छ । यही अवधिमा अधिकांश चुनावी आँकलन उलटफेर हुने गरेको विगतको अनुभव छ । मधेसको चुनावमा मौन अवधिलाई स्थानीय जानकारहरु ‘कत्ल कि रात’ का रुपमा बुझ्ने गरेका छन् । प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न वस्तीका मतलाई खरिद गर्न सौदावाजी यही अवधिमा हुने गर्छ ।

अन्तिम अवस्थामा पनि नतिजा उलटपुलट हुन्छ मधेशमा । यही अवधिको कसरतले जित्ने पक्का भनिएको उम्मेदावरलाई पछारेर अर्को उम्मेदावर अघि बढेका र अप्रत्याशित परिणाम आएका उदाहरण थुप्रै छन् । यो खेल चुनावको अघिल्लो रात अझ तीव्र हुन्छ । जसलाई ‘कत्ल कि रात’ भनिन्छ ।

समुदायका अगुवाहरुले आफ्नो पकड क्षेत्रका मत अहिले पनि आफूले चाहेको उम्मेदवारका पक्षमा खसालिदिन सक्छन् । त्यस्ता मत हासिल गर्न उम्मेदवारले उनीहरुलाई निश्चित रकम दिन्छन् । अगुवाले कति मत प्रभावित पार्न सक्छन्, त्यसैका आधारमा मतदानको अघिल्लो एक/दुई दिनमा उसलाई एकमुष्ट रकम उपलब्ध गराउँछन् उम्मेदवारले ।

‘कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा यकिन गरेर यति मत खसाल्न लगाउँछु भनेर लिखित रुपमै सकारेका हुन्छन्,’ एक राजनीतिकर्मी भन्छन्, ‘रकम लिए जति त्यस क्षेत्रबाट भोट नआउँदा निर्वाचनपछि पैसा फिर्ता माग्ने चलनसमेत छ ।’ आफूले नजित्ने देखेपछि प्रतिस्पधामा रहेको अर्का उम्मेदवारलाई प्रचारप्रसार खर्चमा केही रकम थप लिएर सघाउने चलन पनि छ ।

मतदाता जोगाउन जाग्राम

सोमबार मत नखसालुन्जेल मतदाता जोगाउन  प्रभावशाली उम्मेदवारले विशेष निगरानी थालेका छन् । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने भए पनि प्रतिस्पर्धीले आधार क्षेत्रमा चलखेल गर्ने भएकाले प्रभावशाली उम्मेदवारले स्थानीय कार्यकर्तालाई रातभर जाग्राममा बस्न निर्देशन दिएका छन् । ‘पार्टीका स्थानीय सक्रिय कार्यकर्तालाई यसको जिम्मेवारी दिएका छौँ,’ एक उम्मेदवारले भने, ‘राति सुत्यो कि मत गुम्यो ।’ उनका अनुसार यस्तो समूहको मूख्य जिम्मेवारी भनेकै मतदाता जोगाउने हो ।

‘राति गाउँमा कोही आयो कि सावधान गराउँछन्,’ उनले भने, टोलमा गाडी आयो कि समूह त्यस्को पछ- पछि  ‘सावधान मत खरिद गर्दैछन्’ भनि नारा पनि लगाउँछन् । गाउँका विपन्न र न्यूट्रल मतदाता प्रभावित हुने बढी सम्भावना हुन्छ । आफ्नो मतदाताले सुरक्षित साथ मत दिन पाओस् भन्दै प्रभावशाली उम्मेदवारले प्रति बुथ २० देखि ३० जनाको समूह परिचालन गर्ने गरेका छन् ।  ‘त्यस्ता समूहले मतदातालाई भडाउने काम गर्ने, पैसा बाँड्ने तथा टोलमा कसले के गर्छ भन्ने निगरानी गर्छ,’ ती उम्मेदवारले भने, ‘अन्तिम दिन सुरक्षित साथ मतदान केन्द्र सम्म पुर्‍याउने कार्य पनि गर्छ ।’

पार्टीको खास कार्यकर्तालाई यसको जिम्मेवारी दिने गरिन्छ । ‘गाउँका सबै मतदातालाई पहिचान गर्न सक्नेलाई पोलिङ एजेन्टका रुपमा राख्छौँ,’ विगतमा चुनाव लडिसकेका एक उम्मेदवारले भने, ‘मतदाता प्रभावित गर्ने खालको व्यत्तित्व भएकालाई बाहिर खटाउँछौं ।’

मौन अवधिमा भ्रम 

प्रभावशाली उम्मेदवारले निर्वाचनको पूर्वसन्ध्यामा भ्रम फैलाउन कार्यकर्तासमेत परिचालन गर्ने गरेका छन् । ‘गाउँमा गएर फलाना पार्टीका उम्मेदवारले समर्थन जनाए, हाम्रा उम्मेदवारले फलानालाई यति रकममा खरिद गरिसके, फलाना हार्दैछन् किन मत खेर फाल्नु’ लगायत भ्रमपूर्ण हल्ला फैलाउने क्रम पनि बढेको छ ।

प्रतिस्पर्धीमा अगाडि निस्कन उम्मेदवारले यस्तो भ्रम फैलाउने गर्छन् । चुनाव प्रचारप्रसारको अन्तिम दिन वीरगन्जमा भएका चुनावी सभामा विभिन्न दलका उम्मेदवारले यस्ता भ्रममा नपर्न मतदाता माझ आग्रहसमेत गरेका थिए । पहिलो संविधानसभा निर्वाचनमा विमल श्रीवास्तवले करिमा बेगमलाई समर्थन गरेको यस्तै हल्ला चलेको थियो । त्यो हल्ला विमलको पकड क्षेत्र मानिएको वीरगन्जको नगवा र आसपासका क्षेत्रमा फैलाइएको थियो । त्यस क्षेत्रबाट बेगमले राम्रो भोट लिएर आइन्, उनले निर्वाचन पनि जितिन् ।  बिभिन्न सञ्चारकर्मिहरुको सहयोगमा