तामझाम सहित प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन : मनोनयन दर्ता सुरु, कहाँ के भयो ?

५ कात्तिक,नेपालगञ्ज/प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन सुरु भएको छ । आइतबार बिहान १० बजेदेखि पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको काम सुरु भएको छ । 

वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनेकाले उम्मेदवारी टुंग्याउन ढिला हुँदा कतिपय ठाउँमा अझै उम्मेदवार पुग्न सकेका छैनन् । बिहान स्वतन्त्र र साना पार्टीका उम्मेदवारहरु मनोनयनका लागि लाइन बसेका जिल्लास्थित कान्तिपुर संवाददाताहरुले जनाएका छन् ।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ क्षेत्रमा मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ ५ बजेसम्म चल्नेछ । ‘तर उम्मेदवारी दर्ताका लागि लाइनमा बसेकाहरुको मनोनयन नभएसम्म राति अबेरसम्म दर्ताको काम हुनेछ,’ उनले भने ।

पहिलो चरणमा प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगथा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, वाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्बर ५ का पूर्वी रुकुम, र रोल्पा, प्रदेश नम्बर ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्जुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा चुनाव हुँदैछ ।

कालीकोटमा पनि बाम गठवन्धनको तामाझाम

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन कार्यतालिका अनुसार आइतबार मनोनयन दर्ताको कार्यक्रम रहेको थियो। सोही अनुरुप कालिकोटमा राजनीतिक दलहरुले गठबन्धन अनुसार मनोनयन दर्ता गराएका हुन्। वाम गठबन्धनबाट प्रदेशसभामा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावतले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भुपेन्द्रजंग शाहीले उम्मेदवारी दर्ता गरेका छन्। उनी नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका महामन्त्री हुन्। प्रदेशसभाका लागि वाम गठबन्धनबाट मुख्यमन्त्रीको रुपमा चर्चा गरीएका माओवादी नेता एवं विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट उम्मेदवारी दर्ता गरेका छन्।

त्यस्तै ‘क’बाट नेकपा एमालेका कुर्मराज शाहीले मनोनयन दर्ता गरेका छन्। प्रदेशसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका निर्वाचन क्षेत्र ‘क’बाट टेकराज शाही र निर्वाचन क्षेत्र ‘ख’बाट कालीबहादुर सहकारीले उम्मेदवारी दर्ता गरेका छन्। मनोनयन दर्ता गर्नुपूर्व दुबै गठबन्धनले र्‍याली निकालेका थिए। जनता र कार्यकर्ताको ठूलो सहभागितासहित उनीहरुले मनोनयन दर्ता गरेका छन्।

बाग्लुङमा पनि मनाेनयन दर्ता

बाग्लुङको प्रतिनिधिसभा क्षेत्र न. १ बाट कांग्रेसका चम्मा खड्का र वाम गठबन्धनका तर्फबाट एमालेका सूर्य पाठक र क्षेत्र न. २ बाट कांग्रेसका निरज पुन र माओवादीका देवेन्द्र पौडेलले मनोनयन दर्ता गराएका छन् ।

यस्तै क्षेत्र न. १ को क बाट कांग्रेसका दिपेन्द्र थापा र एमालेका इन्द्रलाल सापकोटाले मनोनयन दर्ता गराए भने ख बाट कांग्रेसका तर्फबाट प्रकाश पौडेल जनमोर्चाका तर्फबाट कृष्ण थापाले मनोनयन दर्ता गराए ।

क्षेत्र न. २ को क बाट कांग्रेसका मन्जेशबम मल्ल र माओवादीका तर्फबाट चन्द्रबहादुर बूढा र ख बाट कांग्रेसका जीत शेरचन र जनमोर्चाका टेकबहादुर घर्तीले मनोनयन दर्ता गरेका छन् ।

मुगुमा कांग्रेस र एमालेबीच झडप
राजबहादुर शाही

/मुगु– प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी मनोनयको क्रममा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच दोहोरो झडप हुँदा केही कार्यकर्ता घाइते भएका छन् ।

कांग्रेसको पिना गाउँबाट बाजासहितको जुलुस गमगढी तर्फ आउँदै गरेको अवस्थामा एमालेका कार्यक्रताले रोक्न खोज्दा झडप भएको हो । झडपमा एमालेका चैत्रा शाही, हर्कबहादुर शाही र रमेशको टाउकोमा चोट लागेर घाइते भएको बताइएको छ भने कांग्रेसका केही कार्यकर्ता समेत घाइते भएका छन् ।

त्यसपछि पिना गाउँबाट एमालेका कार्यकर्ता नाराबाजी र बाजागाजाका साथ गमगढी आउदै गर्दा थापा बोडिङ्गको माथिबाट कांग्रेसका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी अवरोध पुर्‍याएका थिए ।

बाबुराम र नारायणकाजी एउटै चुनावी मैदानमा भिड्ने
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि गोरखा क्षेत्र न. २ बाट मनोनयन दर्ता गरेका छन् । सोही क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नारायणकाजी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

डोल्पमा मनोनयन दर्ता हुँदै

मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पामा दिउँसो २ बजेसम्म प्रदेशसभा सदस्य तर्फ २ जनाको मात्रै मनोनयन दर्ता भएको छ भने प्रतिनिधिसभा सदस्यका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन । डोल्पामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नयाँ शक्ति पार्टी नेपालका उम्मेद्वार पुष्पराज बुढा र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्रबाट जगतबहादुर कठायतले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी र वाम गठबन्धनका उम्मेद्वारहरु मनोनयन दर्ता गर्न पुगेको र काम भैरहेको जनाएको छ ।