राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

२१ पुस, नेपालगञ्ज/ नेपाल सरकारले राष्ट्रिय सभा गठनका लागि माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बालुवाटारमा शुक्रबार मन्त्रिपरिषद्को बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । 

यसअघि निर्वाचान आयोगले माघ २५ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । आयोगले पुस २५ गते सम्मलाई दल दर्ता आह्वान गरेको छ ।  एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका छन ।

५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८/८ जना)  र तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । यद्यपि मतभार भने फरक फरक हुनेछ ।

निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।