रुपन्देहीको देवदहमा बसन्त पौडेलको हत्याको युवा संघ दवारा बिरोध प्रदर्शन

रेखा भुसाल
२१ पुस,बुटवल/  रुपन्देहीको देवदहमा एक जना व्यवसायीको गोली हानी हत्या भएको छ। गोली प्रहारबाट  देवदह-५ खैरेनीका व्यवसायी बसन्त भनिने बलु पौडेलको मृत्यू भएको छ। छातीमा गोली लागेका पौडेलको उपचारकालागि बुटवलको लुम्बिनी अंचल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ। घटना लगत्तै अस्पताल ल्याइएका पौडेललाइ डाक्टरले मृत्त घोषणा गरेका थिए।
देबदह-२ मा रहेको आफनै काठ चिरान अर्थात समिलमा बसीरहेका बेला  सबा ११ बजेतीर पौडेलमाथि गोली प्रहार भएको थियो। 

कालो रङ्गको मोटरसाइकलमा आएका दुई जना व्यक्तिले उनको छातीमा गोली प्रहार गरी भागेको प्रारम्भिक अनुशन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक पवन भट्टराइले बताए। स्थानीय र समिलका कामदारले घटना स्थलमा दुइ राउण्ड गोली चलेको आवाज आएको बताएपनि पौडेललाई छातीमा एक गोली लागेको अस्पतालका डाक्टरले बताएका छन। पोष्टमार्टम रिर्पोट भने आउन बाँकी छ।

प्रत्यक्षदर्शीका अनुसार दुई जना व्यक्तिले समिलको कम्पाउण्ड भित्रै आगो तापेर बसीरहेका पौडेललाई काठको चाहिएको छ हेरौ भन्दै कुराकानी सुरु गरे। लगत्तै एउटा व्यक्तिले अर्डरको टिपोट भन्दै कागजको टुक्रा पौडेलको हातमा धमाइ दिए।

कागज हेर्न लागेका पौडललाई तत्कालै गोली हानी ति व्याक्ति दक्षिण तर्फ भागेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन। घटनाबारे थप अनुशन्धान सुरु भइसकेको डिएसपि भट्टराइले बताए। पौडेलका श्रीमती दुइ छोरा र एक छोरी छन्। उनी तत्कालिन केरबानी गाविसका अध्यक्ष तथा एमाले क्षेत्रीय कमिटिका अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन।
एक बर्ष अघि पनी देवदहमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको थियो। स्थानीयका अनुसार पौडेल तिवारीका मिल्ने साथी हुन। तिवारी हत्यामा संलग्न भनिएका मनोज पुनले घटना लगत्तै बुटवलका केही संचारकर्मीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका छन्।

तिवारी हत्या पछि पौडेलले आफ्ना साथीहरुलाई दु:ख दिएको र  व्यक्तिगत रिसिइबिका कारण हत्या गरेको बताएको बुटवलका पत्रकार कपिल ज्ञवालीले बताए। ज्ञवालीले आफुलाई प्राइभेट नम्बरबाट फोन आएको र फोनमा मनोज पुन बताउने व्यक्तिले घटना मैले घटाएको हो भनेर भनेको बताए।
यसैबीच, पौडेल हत्याको बिरोधमा युवा संघ रुपन्देहीले देवदह र बुटवलमा बिरोध प्रदर्शन भएको छ। दिउँसो प्रदर्शन गर्दै २ घण्टा चक्काजाम गर्यो। नागरिकको शान्ति सुरक्षाको पूर्ण प्रत्याभुती गर्न र घटनाको सत्य तथ्य पत्ता लगाई दोशीलाई तत्काल पक्राउ गर्न माग गर्दै देवदह, खैरेनी र बुटवलमा चक्का जाम गरीएको हो।