जाजरकोटमा भाइरल ज्वरोको प्रकोप : ५ जना काखे बच्चा सहित ९ जनाको मुत्यू (अपडेट)

२३ पुस, जाजरकोट/ जाजरकोट जिल्लामा बिगत १ हप्ता देखी फैलिएको रुघाखोकी र भाइरल ज्वरोले शनिबार सम्म ९ जनाको मृत्यु भइसकेको छ भने प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी नपुगेको स्थानिय बासिन्दाले जानकारी दिएका छन।

जाजरकोट जिल्लाको सदरमुकाम खलंगा देखी करीब २३ कोस टाढा रहेको  बिकट  जुनीचाँदे गाउँपालिका वडा नम्वर २ को मजकोट र फापरवाँया टोलमा बिगत  बिगत १ हप्ता देखी भाइरल ज्वरोले स्थानिय बासिन्दालाई प्रभाबित पार्दै आएको छ । 

रोग प्रभाबित क्षेत्रका वडकुले स्वास्थ्य संस्थाका प्रमुख हरिबहादुर सिंह का अनुसार भाइरल ज्वरोले शनिबार सम्म ९ जनाको मृत्यु भएको र मुत्यू हुनेहरुमा जुनीचाँदे गाउँपालिका–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ,  ७२ वर्षीय सतरुप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरवाँया टोलका ५२ वर्षीय कर सिंह टमाटा, रामबहादुर शाहीका ५ दिनका छोरा, शान्तबहादुर शाहीका २ महिनाको छोरा, मानबहादुर विकका ५ महिनाका छोरा, कालो दमार्इंका ७ महिनाका छोरा, बिर्ख नाथकी५ वर्षीया छोरी कविता नाथ र एक नाम नखुलेका बालकको मृत्यु भएको छ ।

जाजरकोट जिल्लाको सदरमुकाम खंलंगाबाट पठाएको औषधि र स्वास्थ्यकर्मीको टोली शनिबार सम्म रोग प्रभाबित क्षेत्रमा नपुगेको   स्थानिय प्रेम न्यौपाने र स्वास्थ्य संस्था वडकुलेका प्रमुख हरिबहादुर सिंह पुष्टि गर्नुभएको छ ।

वडकुले स्वास्थ्य संस्थामा औषधि नै सकिएको र भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्न आउनेको संख्या अत्याधिक रहेको स्वास्थ्य संस्था वडकुलेdf औषधि र स्वास्थ्यकर्मी छिटो रोग प्रभावित क्षेत्रमा पठाउन भन्दै स्थानिय बासिले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीलाई केहीबेर घेरेको डा. पवन शाक्यले जानकरी गराउनु भएको छ ।

जाजरकोटको स्वास्थ्य चौकी बड्कुलेबाट रोग प्रभावित क्षेत्र मजकोट पुग्न करिब पाँच घण्टा पैदल याता लाग्ने भएका कारण त्यहाँ पुग्न सकिएको छैन, स्वास्थ्य चौकीमा आएका शनिबार मात्र १ सय ४५ जना बिरामीलाई सामान्य जाँच गरेको र चौकीमा दैनिक २०० भन्दा बढी भाइरलका बिरामी आउने गरेको स्वास्थ्य संस्था वडकुलेका प्रमुख हरिबहादुर सिंहले बताउनुभयो । 

भाइरल ज्वरोले जुनीचाँदे गाउँपालिका–१ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, वडा नं २ का मजकोट, आलीमौगाना, वडा नं ३ का डाँडाकोट, पराले साथै छेडागाडका सुवानाउली र टीकाचौरमा मा भाइरल प्रकोपका रुपमा देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन् । एउटै घरमा तीन–चारजना बिरामी परेको स्थानीय काशीराम न्यौपानेले बताउनुभयो ।

बिरामीमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउने लगायतका समस्या देखिने गरेको छ । त्यस्तै, वारेकोट गाउँपालिकाको वडा नं ५ मा पनि भाइरल ज्वरोका कारण विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रअ मन बहादुर सिंहले बताउनुभयो । विद्यार्थी विद्यालयमा नआउँदा परीक्षा समेत प्रभावित भएको छ । वारेकोट गाउँपालिकाको जिरी र नायक वाडामा बढी बिरामी भएको सिलिगीका स्वास्थ्यकर्मी डम्मर कार्कीले बताउनुभयो ।

जिल्ला जन स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख रामबहादुर नेपालीले भाइरलको प्रकोप फैलिएको सूचना पाएको एक दिनपछि ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाएको र रोगको पहिचान गर्न टेक्निसियन सहित  “एच १ एन १ हो कि भनेर टेष्ट किट पठाएको बताउनु भयो । नेपालस्ीले एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग रहेको बताउनु भएको छ ।

त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा  प्रभावित क्षेत्रमा  थप टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताउनुभयो ।

भाइरल प्रभावित क्षेत्र स्वास्थ्य संस्था मजकोट भन्दा टाढा रहेका कारण उपचारमा समस्या भएको छ । बिरामीलाई स्वास्थ्य संस्था ल्याउन स्वास्थ्यकर्मीहरु गाउँसम्म पुग्न निकै टाढा भएका कारण समस्या भएको छ । सदरमुकामबाट टाढा भएका कारण तोकिएको समयमा औषधि समेत लैजान समय लाग्ने गर्छ ।

यता रोग प्रभावित क्षेत्रमा छिटो उपचारको व्यवस्था मिलाई जनताको अकालमा ज्यान जानबाट जोगाउन पूर्व गृहमन्त्री तथा सांसद शक्तिबहादुर बस्नेतले आग्रह गर्नुभएको छ ।
सत्य तथ्य कुरा छिटो पत्ता लगाई उचित कदम चाल्न सरकारसँग उहाँले मागसमेत गर्नुभयो । यता प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले भने अवस्था नियन्त्रणमा आइसकेको बताउनुभयो ।