भेरी अञ्चल अस्पताल र रेडक्रसको रक्त सञ्चारका कर्मचारीको चरम लापरबाहीको शिकार : २२ बर्षिय रुमा मर्नु न बांच्नुको दोसांधमा,पिडित पक्षको चेतावनी !

# विश्वराज पछल्डङ्ग्यार#

६ पुस, नेपालगञ्ज/ लाउला–खाउला उमेरकी २२ बर्षिय रुमा भेरी अञ्चल अस्पतालको आइसियु वार्डको १ नम्वर बेडमा जिवनको अन्तीम लडाई लडीरहेकी छन ।
त्यो लडाई उनि ठुलै रोग लागेर सिकिस्त बिरामी परेर होइन कि बिरामी भएर उपचार गर्ने डाक्टर,नर्स देखी रक्त सञ्चार केन्द्र खोलेर आफुलाई मानबिय सेवा गरेको भन्न रचाउने संस्था रेडक्रसमा कार्यरत कर्मचारीहरुको चरम लापरबाही कारण रुमा बांच्नु र मर्नुको दोसाधमा आइसियुमा छटपाइरहेकी छन ।
नेपालगञ्ज देखी करीब १५ किमि पश्चिममा रहेको बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३, ततकालीन सोरहवा गाविसकी २२ वर्षीया रुमा थारु लाई डाक्टरकै पेरेपकिप्सन अर्थात डाक्टरले लेखे बमोजीमकै रगत रेडक्रसका कर्मचारील नदिएर अर्को समूहको रगत दिएको र नर्सले पनि नहेरी रगत चढाएका कारण रुमाका दुवै मृगौलाले काम गर्न छोडेर उनि भेरी अञ्चल अस्पतालको आइसियुमा छटपटाइरहेकी हुन । 
घटना विवरण अनुसार २२ बर्षिय रुमालाई नियमित रक्तश्रावको क्रममा अत्याधिक रक्तश्राब भएपछि गत पुस २१ गते रुमा थारुलाई परिवारका सदस्यले नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा ल्याएका थिए।
अत्याधिक रक्तश्राब भएपछि अस्पताल पुग्दा रुमा को स्वास्थ्य अवस्था केही बिग्रिसकेको थियो । अस्पतालका चिकित्सकले उनलाई गाइनोलोजी विभागमा भर्ना गरे । भर्ना भएकै रात ओ पोजिटिभ’  रक्त समूह भएकी उनलाई ‘ओ पोजिटिभ’ रगत दिइयो ।त्यस रात उनलाई केही राहत मिल्यो ।

अस्पतालका स्वास्थ्यकर्मीले पुस २२ गते बिहान उनलाई एक प्वाइन्ट थप रगत दिनुपर्ने सल्लाह दिए, उनका बाबु राजु थारुलाई रगत लिन भेरी अञ्चल अस्पतालको कम्पाउडमा समेत रक्त सञ्चार केन्द्र खोलेको नेपाल रेड्क्रस सोसाइटीले संचालन गदै आएको क्षेत्रीय रक्त संचार केन्द्रमा रगतको समूह र मात्रा लेखेर लिन पठाए ।

सामन्य नागरिक रुमाका बुवा राजु थारुलाई नर्सले लेखे बमोजिमके रगत रेडक्रसका कर्मचारीले ओ पोजिटिभको ठाउँमा बी पोजिटिभ ग्रुपको रगत दिएर पठाइयो । बिरामीको उपचारमा संलग्न र उक्त समयमा डिउटीमा रहेका नर्स एवम डाक्टरले पनि ब्लड गु्रप नै नहेरी रगत चढाईदिहाले ।
घटना विवरण सम्झदै रुमाका बुवा राजु थारु भन्नुहुन्छ “म सँगै रेडक्रसमा रगत लिन २ जना गएका थियौं, अर्को मान्छेलाई ओ र मलाई ‘वी पोजिटिभ’ ग्रुपको रगत दिएर पठाइएछ, मैले रगतको पोका ल्याएर दिनासाथ कुन ग्रुपको रगत हो भनेर नहेरेर स्टाफ नर्सले रगत चढाउनु भयो ।

त्यसको केहीबेरमै छोरीको शरिरमा फोकाहरु देखियो, त्यसपछि मलाई जानकारी नदिएर अस्पतालका डाक्टरहरुले छोरीलाई आइसियूमा भर्ना गरिदिए” आइसियू कक्ष बाहिर भेटिएका रुमाका बाबु राजुले भने ।

‘ओ पोजिटिभ’ रगत दिनुपर्नेमा भेरी अंचल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ‘बी पोजिटिभ’ समूहको रगत दिएपछि रुमाको दुवै मृगौलाले एकैसाथ काम गर्न छोडेको हो ।
शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झन–झन गम्भीर बन्दै गएको छ । मुख सुनिएको छ, सहन नसक्ने गरि पेट दुख्न थालेको छ भने शरिरका अन्य भागमा पनि दुखाई भएको छ । ‘शुक्रबार बिहान देखि रुमाको स्वास्थ्य अवस्था झनै जटिल भएको भेरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण आचार्यले जानकारी दिन’भएको छ ।

‘सुपरिटेन्डेन्ट कृष्ण आचार्यले बिरामीको स्वास्थ्य अवस्थाको प्रकृति हेर्दा दिन प्रतिदिन जटिल बन्दै गएको छ । आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च अहिलेसम्म अस्पतालले नै ब्यहोरिरहेको छ ।
यहाँ थप उपचार सम्भव नहुने भन्दै चिकित्सकले रेफर गर्ने तयारी गरेको छ । तर, केही आशा अझैँ बाँकी रहेकोले उनको शरिरको डाइग्नोसिस भइरहेको डा. आचार्यले बताउन’ भयो ।

रुमालाई काठमाडौँस्थित बीर अस्पतालमा रेफर गर्ने तयारी भइरहेको छ । ‘अस्पतालका डाक्टर साहवहरुले रेफर गरिसक्नु भएको छ तैपनि केही गर्न सकिन्छ की भनेर थप डाइग्नोसिस गरेर हेर्दैछौँ,आर्चायले बताउन’ भयो ।
अस्पतालका कर्मचारीको लापरवाहीले रुमाको स्वास्थ्य बिग्रिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्ण आचार्यले स्विकार गरे । उनले चिकित्सकको प्रेसक्रिप्सन विपरित ग्रुपको रगत दिने र रगतको ब्यागमा उल्लेख गरिएको रगत समूह नहेरेर रगत चढाउने स्टाफ नर्स दुवै जनाको गल्ती भएको बताए । ‘ब्लड बैंकका कर्मचारी र स्टाफ नर्स दुवैको आधा–आधा गल्ती देखिन्छ ।

लापरवाही गर्ने कर्मचारीलाई कारवाही !

चिकित्सकले दिएको प्रेसक्रिप्सन विपरित ग्रुपको रगत रगत चढाउने भेरी अंचल अस्पतालका स्टाफ नर्स कल्पना विकलाई अस्पतालले निलम्बन गरिसकेको निमित्त मेसु आचार्यले जानकारी दिन’भएको छ ।
मेसु आचार्यले बिरामीले पाएको दुखको क्षतिपूर्ती भर्न नसकिए पनि बिरामीको निशुल्क उपचार अस्पताल प्रशासनले गरिरहेको ‘बिरामीको उपचार गरेर पूरानै अवस्थामा फर्काउन हामी हरसम्भव प्रयास गरिरहेका छौ ।

अहिलेसम्म घटना गोप्य राख्यौँ !

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीले स्वास्थ्य बिग्रिए पनि अस्पताल प्रशासनले उनका बाबु, आमालाई रुमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएको थिएन । गाइनालोजी विभागबाट आइसियूमा छोरीलाई ल्याएको भनिए पनि के कारणले ल्याएको हो भन्ने जानकारी नदिएको रुमाका बाबु राजुले भन्नुभयो ।
उनले आफूलाई छोरीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी नभएको बताए । ‘छोरीको स्वास्थ्य अवस्थाका बारेमा अस्पताल प्रशासनले कुनै जानकारी नदिएर गोप्य राखेको छ,’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आचार्यले पनि अहिलेसम्म घटना गोप्य राखेको बताए । उनले स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ कि भन्ने आशाले घटनालाई गोप्य राखेको बताउँदै अब भने घटना लुकाउन नसकिने अवस्था आइसकेको बताए । ‘अहिलेसम्म घटना गोप्य राखेका थियौँ, अब गोप्य राख्न सक्ने अवस्था नै रहेन,’ डा. आचार्यले  भन्नुभयो ।

सुपरिटेन्डेन्ट सहितलाई कारवाही माग !

जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु, बार बर्दिया नगरपालिकाका प्रमुख कविर चौधरी, शिक्षक प्रभु थारु लगायतको टोलीले रुमाको स्वास्थ्य अवस्था बुझेको छ । विपरित ग्रुपको रगत दिएकै कारण रुमाको दुबै मृगौला बिग्रिएको भन्ने सूचना पाएपछि आफुहरु  आएको बर्दिया नगरपालिकाका प्रमुख कविर चौधरीले बताउनु भयो ।

उनीसहितको टोलीले बिहीवार अस्पताल प्रशासन, चिकित्सकसँग छलफल गरेको छ । छलफलका क्रममा अस्पतालकै लापरवाहीले रुमाको दुवै मृगौलाले काम गर्न छोडेको निष्कर्ष निस्केको प्रमुख चौधरीले बताए ।

रगत दिने ब्लड बैंकका कर्मचारी, बिरामीको शरिरमा रगत चढाउने स्टाफ नर्स, गाइनोलोजी विभागका प्रमुख, सुपरिटेन्डेन्टलाई कारवाही र बिरामीको निशुल्क उपचार तथा परिवारजनलाई क्षतिपूर्ती दिनुपर्ने माग गरेको उनले बताए । ‘बिरामीको स्वास्थ्यमा खेलवाड गर्नेलाई हामीले कदापी उन्मुक्ति दिने पक्षमा छैनौँ,’ उनले भने, ‘कारवाही भएन भने हामी पछि हट्ने छैनौँ ।