सबै प्रदेशका सभासदहरुलाई आज शपथ


७ माघ, नेपालगञ्ज/  नेपालको सबै ७ वटै प्रदेशका प्रदेशसभा सदस्यको आइतबार अस्थायी मुकाममा पद तथा गोपनीयताको शपथग्रहण हुँदैछ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराउने छन् ।

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिना पछि प्रदेश प्रमुख नियुक्त गरे पछी निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा प्रदेश प्रमुखलाई बुझाएको थियो ।
आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबार बिहानै गर्नुपर्ने जानकारी गराइसकेको छ ।
प्रदेशसभा सदस्य राष्ट्रिय सभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्ति लगत्तै शपथग्रहन गराउन’पर्ने बाध्यता रहेको छ ।
ीनर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार बेलुका सम्म मतदाता नामावली सार्वजनिक गर्नुपर्ने गरी समय तालीका यस अघिनै सार्वजनिक गरिसकेको छ

प्रदेश १

प्रदेश १ को शपथग्रहण कार्यक्रम विराटनगरस्थित वीरेन्द्र सभागृहमा आइतबार बिहान १० बजे हुँदैछ । शपथमा सहभागी हुन १४ वटै जिल्लाबाट सदस्यहरू आइसकेका छन् । प्रदेश १ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी ९३ जना सदस्य छन् ।
प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले शपथ खुवाउनु हुनेछ । सुब्बा शनिबार नै विराटनगर पुगीसक्नु भएको छ ।

प्रदेश २

प्रदेश २ को प्रदेशसभा सदस्यहरूको शपथका लागि जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृह सिँगारिएको छ ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश २ का प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण गराउनुहुने छ ।
तथा १ सय ७ प्रदेशसभा सदस्यलाई बस्ने व्यवस्था मिलाइँदै छ । माथिल्लो ग्यालरीमा सञ्चारकर्मी सहितका अन्य आमन्त्रितलाई बस्ने व्यवस्था मिलाइएको छ ।

३ नम्बर

३ नम्बर प्रदेशसभा सदस्यहरूलाई हेटौंडा स्थित मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा शपथग्रहण गराउने कार्यक्रम छ । सभाहलमा माइक र कुर्सीलगायत व्यवस्थापन जारी रहेको प्रजिअ चक्रबहादुर बुढाले जानकारी दिनु भएको छ  ।
प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार बिहान १० बजे एक समारोहबीच प्रदेश प्रमुखको कार्यालयमा ३ नम्बर प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।  अन्य १ सय ९ जना प्रदेशसभा सदस्यलाई ज्येष्ठ सदस्य ७२ वर्षीय पौडेलले शपथग्रहण गराउने छन् ।

प्रदेश ४

प्रदेश ४ का प्रमुख बाबुराम कुँवर शनिबारै पोखरा आइपुग्भएको छ । प्रदेशसभाका सांसदलाई आइतबार बिहान शपथग्रहण गराउने कार्यक्रम छ । कुँवरले प्रस्तावित प्रदेश प्रमुखको कार्यालय (हालको अध्यागमन कार्यालय) आइतबार बिहान शपथग्रहण गराउने तयारी छ । ४ नम्बर प्रदेशमा ३६ प्रत्यक्ष र २४ जना समानुपातिकबाट प्रदेशसभा सदस्य छन् । ४ नम्बर प्रदेशमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र २ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित जनकलाल श्रेष्ठ ज्येष्ठ सांसद छन् ।

प्रदेश ५

आइतबार हुने प्रदेशसभा सदस्यको शपथग्रहणका लागि प्रदेश ५ मा सबै तयारी सकिएको छ । शपथग्रहणका लागि सचिवालय स्थापना, साज सज्जा, भौतिक व्यवस्थापन, सुरक्षा लगायत तयारी सकिएको प्रदेश प्रमुख उमाकान्त झाले बताउनु भयो ।
बुटवल बसपार्क पछाडि रहेको बुटवल उद्यलेग वाणिज्य संघको हललाई प्रदेश सचिवालय तोकिएको छ । सचिवालयमा बिहान ११ बजे शपथग्रहण कार्यक्रम सुरु हुनेछ । अधिकांश सांसद शनिबार साँझै बुटवल आइसकेका छन् । प्रदेश ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सांसद छनोट भएका छन् ।

प्रदेश ६

प्रदेश ६ का प्रदेशसभा सदस्यहरूको शपथ जिल्ला समन्वय समितिको हलमा खुवाउने तयारी गरिएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार ११ बजे प्रदेश सभाका ४० जना सदस्यलाई शपथ गराउनुहुने छ । प्रशासनले ६ नम्बर प्रदेशका ४० जना सदस्यलाई शपथग्रहणका लागि खबर गरिसकेको छ । समानुपातिकतर्फका अधिकांश प्रदेश सदस्य राजधानीमा छन् । निर्वाचन आयोगले शुक्रबार प्रमाणपत्र वितरणको कार्यक्रम राखेकाले उनीहरू काठमाडौंमै रहेका हुन् । प्रदेश प्रमुखले शपथग्रहणको कार्यक्रम तय गर्नेबित्तिकै सांसदहरू हतार–हतार फर्कंदै छन् । प्रदेश ६ मा प्रत्यक्ष निर्वाचित २४ र १६ समानुपातिक गरी ४० सदस्य छन् ।

प्रदेश ७

प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा पनि शपथग्रहण समारोहको तयारी पूरा भएको छ । ‘शपथ ग्रहण समारोहका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ । जिल्ला विकास समितिको सभाकक्षमा शपथग्रहण समारोह हुँदैछ प्रदेश ७ मा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक गरी ५३ सांसद छन् ।