५ नम्बर प्रदेश स्तरिय प्रादेशिक महोत्सव नेपालगञ्जमा माघ ११-२२ गते सम्म भब्यताका साथ सञ्चालन गर्न तयारी पुरा

९ माघ,नेपालगञ्ज/  नेपालगञ्ज उद्योग बाणिज्य संघले ५ नम्बर प्रदेश स्तरिय प्रादेशिक महोत्सव भब्यताका साथ सुरु गर्ने गरि तयारी पुरा गरेको जनाएको छ ।
सातौं संस्करणको रुपमा आगामी माघ ११ गते बिहिबार देखी माघ २२ गते सम्म नेपालगञ्जको कारकांदो स्थित सडक डिभिजन कार्यालय परिसरमा आयोजना गर्न लागिएको उक्त महोत्सव पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उदघाटन गर्ने मंगलबार पत्रकार सम्मेलन गरी आयोजकहरुले जानकारी गराएका छन ।

महोत्सवको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव कार्यन्वयन मुल समितिका संयोजक रहनु भएका नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष  नन्दलाल बैश्यलले नेपालगञ्ज उद्योग वाणिज्य संघको विशेष आग्रहमा प्रचण्ड नेपालगञ्ज आएर मेलाको उदघाटन गर्ने गरि तयारी पुरा भएको जानकारी गराउनु भएको छ  ।

द्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष भवानी राणा पनि महोत्सवको उदघाटन समारोहमा सहभागी हुने र समारोहलाई भब्य बनाउन मेला स्थलमा हेलिकोप्टरबाट पुष्प वर्षा गर्ने तयारी गरिएको समेत जानकारी गराइएको छ ।

अध्यक्ष तथा संयोजक  बैश्यले महोत्सवलाई भब्य र सभ्यताका साथ सम्पन्न गरी मेलाबाट संकलीत रकम संघको बहुउद्धेश्यीय सभागृह निर्माणमा खर्च गरिने बताउनु भएको छ ।
महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टल, ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहने गरी महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको सोही अवसरमा संघका महासचिव तथा सचिवालय ब्यवस्थापन समितिका सदस्य सचिव अजय कुमार टण्डनले जानकारी दिनु भयो ।

टण्डनले मेलाबाट करीब १ करोड बढि रकम संघले बचत गर्ने लक्ष्य लिईएको जानकारी दिनु भएको छ । स्रोतका अनुसार  बिगतका मेलाबाट कमाएको पैसाले पनि बहुउद्धेश्यीय सभागृह निर्माणमा खर्च गरिने बताउने गरिएको थियो तर उक्त रकम बर्तमान कार्यसमितिले अन्यत्र नै खर्च गरेको कर्मचारीहरुले शिर्षक सहित जानकारी गराइसकेका छन ।

५ लाख बढिले अवलोकन गराउने गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनको प्रवधन तथा प्रचार प्रसार गरी बजार ब्यवस्थापनमा समेत महोत्सवको भूमिका महत्वपूर्ण रहने महासचिव टण्डनने बताउनु भएको छ ।

महोत्सवलाई ब्यवस्थित सञ्चालन गराउन बिभिन्न २३ वटा उपसमितिहरु गठन गरी जिम्मेवारी बहन गरीरहेको र मेलामा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा जडान गरीएको जानकारी दिइएको छ ।

माघ ११ गते महोत्सवको उदघाटन को दिन नगरका बिभिन्न क्षेत्रबाट हात्ती सहित साँस्कृतीक झाँकी, कलश यात्रा निकालेर कार्यक्रम भब्य बनाउने तयारी गरिएको जानकारी गराइएको छ ।

महोत्सवमा अमेरिकी ब्याण्डका कलाकारहरु सहित नेपालको ख्याती प्राप्त बिभिन्न कलाकारहरुको प्रस्तुती पनि मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

केही असमसजसमा पत्रकार सम्मेलनमा बनाइएका जानकारी मुलक दस्ताबेजमा समाजिक मान मर्यादा तथा अन्य बिभिन्न बिषयमा पत्रकारहरुले प्रश्न तेरस्याएपछी आयोजकले भए गरेका गल्तीहरुमा सुधार गदै जाने बताइएको थियो ।

यस पटकको महोत्सव ब्यापारीका पुराना नेताहरुको सक्रियतामा केही कम रहेको तर्फ ध्यान आकृष्ट गराउदै त्यस तर्फ पनि आयोजकहरुले सहभागीमा ध्यान दिएमा मेला सफल हुनसक्ने सुझाव सहित पत्रकारहरुले बिभिन्न जिज्ञासा पनि राखेका थिए ।