मानिसको मोटोपन के रोग कै खानी हो त ? बिशेषज्ञको अनुभव र जानकारी सहितको बिशेष रिपोर्ट

#  दिनेश गौतम #
४५ बर्षिय शालिकराम सापकोटा लाई फटाफट सिँढी चढ्न सकस पर्छ । माथि उक्लिँदै गर्दा बीचैमा स्वाँस्वाँ हुन्छ । साढे पाँच फिट उचाइका सापकोटाको तौल ८५ केजी छ । भन्छन्, ‘मोटोपनाकै कारण वास्तविक उमेरभन्दा अलि बूढो देखिएको पत्नीले गुनासो गर्छिन् ।’ नेपाल बार एसोसियसनका उपाध्यक्षसमेत रहेका सापकोटालाई शरीर स्लिम गराउने रहर छ ।

छरितो शरीर नहुँदा कतिपयको लगनगाँठो कस्नमै ढिलाइ भइरहेको छ । वजन धेरै भएका युवायुवतीलाई समयमै उपयुक्त जोडी नपाउँदा चिन्ता थपिएको छ । नाम उल्लेख गर्न नचाहने एक युवती भन्छिन्, ‘शरीर हेरेर केटाहरू ‘थाइराइड’ भएको शंका गर्छन् । फेरि फर्केर हात माग्न आउँदैनन् ।’मोटोपनको पिरलोबाट कलाकार पनि अछुतो छैनन् । हास्य कलाकार दीपाश्री निरौला (४२) लाई ७० केजी तौलले केही समस्या पारिरहेको छ । हाँस्दै भन्छिन्, ‘धेरै मोटी त होइन तर हेल्दी चाहिँ छु है ।’

के हो, मोटोपन ?

मोटोपनालाई विगतमा समस्याका रूपमा हेरिए पनि अहिले चिकित्सकहरू रोगका रूपमा लिन्छन् । कम्मरको घेरा अर्थात् पेटको गोलाइ महिलाको  ३१.५ इन्च र पुरुषको ३५.५ इन्च भन्दा थोरै हुनुलाई सामान्य मानिन्छ । त्योभन्दा बढी भए मोटोपना मानिन्छ । पेट लाग्यो भने कम्मरभन्दा माथिको भागमा मोटोपना देखिन्छ । सन्तुलित तौल नभएको व्यक्ति वास्तविक उमेरभन्दा बूढो देखिन्छ । शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी हुनु नै मोटोपन हो ।

शरीरको लम्बाइ र संरचनाअनुसार वजन हुनुपर्छ । २७ भन्दा बढी बीएमआई (तौल र उचाइको सूचक) हुनुलाई मोटोपनका रूपमा लिइने त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ डायटिसियन नानीशोभा शाक्य बताउँछिन् । शरीरको तौललाई उचाइ (सेन्टिमिटर) ले दुई पटक भाग गर्दा आउने अंक नै बीएमआई हो ।

बीएमआई १८ देखि २५ सम्म हुनुलाई सामान्य मानिन्छ । पेटको आकारभन्दा पुठ्ठाको आकार ठूलो हुनु आकर्षक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसको तौल र उचाइ हेर्दा शरीरको मांसपेशीको परिणाम तौल र उचाइको सूचक ४० भन्दा बढी हुनुलाई अत्यधिक मोटोपनका रूपमा लिइन्छ । ४० भन्दाबढी बीएमआई छ र जीवनशैली पनि असन्तुलित छ भने नसर्ने खालका रोगहरू लाग्ने सम्भावना धेरै हुने सम्बन्धित चिकित्सकहरू बताउँछन् । नसर्ने रोगहरूमा मधुमेह हुने सम्भावना अधिक हुन्छ ।

खाएको खाना (कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ) बाट शरीरले आवश्यक शक्ति प्राप्त गर्न नसकी रगतमा सामान्यभन्दा बढी ग्लुकोजको मात्रा भई निको नहुने दीर्घकालीन रोग नै मधुमेह हो । ३० वर्षभन्दा बढी उमेर भएका र व्यायाम नगर्ने निस्कृय जीवनशैली भएकाको शरीरको तौल र पेटको गोलाइ (नाइटोनिर)आवश्यक भन्दाबढी हुन्छ ।

किन बढ्छ, मोटोपन ?

ललितपुर, चापागाउँका सरोज दाहाल ९२९० को वजन ९२ किलोग्राम छ । सात महिनादेखि नियमित बिहान दौडन थालेपछि सात केजी तौल घटाउन सफल भएको उनी मक्ख पर्दै सुनाउँछन् । भन्छन्, ‘पहिला खाइरहने बानी थियो । जंक फुडलगायत बजारमा जे पाइन्छ, त्यहीँ खान्थेँ । खाना खानेबित्तिकै टन्न पानी खाएर अफिस जान्थेँ ।’ शिक्षण अस्पतालकी वरिष्ठ डायटिसियन शाक्यको अनुभवमा व्यायाम नगर्ने, जंक फुड ,अत्यधिक चिल्लो खाद्यपदार्थ सेवन गर्ने व्यक्तिहरूमा मोटोपना पाइएको छ । भन्छिन्, ‘छोटो दूरी भए पनि हिँड्ने बानी पटक्कै छैन । कार वा मोटरसाइकलमा हुइँकिने प्रवृत्ति छ । त्यसले पनि मोटोपना बढाउनमा सहयोग पुर्‍याएको छ । कम सुत्यो भयो भने पनि मोटोपना बढ्ने गरेको पाइएको छ ।’ ‘हाइपोथाइरोडिज्म’ भएका महिलाहरूमा पनि मोटोपना देखिन्छ । उनीहरू थोरै खाना खाए पनि मोटाइहाल्छन् ।

फुड ह्याबिट परिवर्तन

९९ केजी तौल हुँदा साथीमाझ अलि अप्ठेरो महशुस गर्ने दाहाललाई यतिबेला साथीहरू नै वजन घटाउनुको रहस्यबारे सोध्न थालेका छन् । पाँच फिट १० इन्च अग्ला दाहाल भन्छन्, ‘पहिले सिलाएका लुगा सात महिनामै ह्वाङह्वाङती ठूला भए । फेरि, सिलाउनुपर्ने भएको छ ।’ आफ्नो ज्यानका कारण पनि वास्तविक उमेरभन्दा जेठो देखिन पुगेको चिन्ताले उनलाई पनि पिरोलेको छ । फुड ह्याबिट चेन्ज गर्ने र नियमित रनिङ गर्ने हो भने वजन घटाउन सकिने कुराको प्रमाण आफैं भएको उनको दाबी छ । चिकित्सकीय परामर्शपछि उनको खाने मात्र होइन जीवनशैली नै फेरिएको छ । अहिले खाना थोरै र फलफूल र सलाद बढी लिन्छन् । शरीरमा पानीको सन्तुलन मिलाउन घरबाटै पानीको बोतल बोक्न बिर्सिँदैनन् ।

स्वस्थ जीवनशैली, सन्तुलित खाना, व्यायामसहित चिन्तामुक्‍त दिनचर्या बिताउने हो भने मोटोपनबाट मुक्‍ति पाइन्छ।

बिहान पसिना निस्कने गरी आधा घण्टा मज्जाले दौडन्छन् । दैनिक जीवनयापनको शुरुवात शुद्ध पानी वा ‘ग्रिन टी’बाट गर्नु स्वस्थकर हुन्छ । डायटिसियन शाक्य भन्छिन्, ‘ग्रिन टी ले मोटोपना घटाउने त होइन , त्यसमा क्यालोरी कम हुन्छ । तर, सबै मोटोपन भएका व्यक्तिलाई ग्रिन टी प्रेसक्राइब गर्न सकिँदैन ।

व्यक्तिको शारीरिक अवस्था हेरेर निर्धारण गर्नुपर्ने हुन्छ ।’ बिहान उठेपछि मनतातो पानीमा कागती निचोरेर वा केही नुनसमेत थपेर पिउँदा मोटोपन भएका व्यक्तिलाई लाभ हुन्छ । कागतीपानी ९सर्बत० ले पेटको बोसो घटाउनुका साथै पाचनक्रिया पनि नियमित गर्छ । व्यायाम गरिसकेपछि हलुका खाजा लिन सकिन्छ । गेडागुडी, सुप, लिनु उपयुक्त हुन्छ ।

सुपले चाँडै पेट भरिन्छ । मोटोपना भएका व्यक्तिहरूले चिल्लो पदार्थ र कार्बोहाइड्रेट पाइने खाद्यपदार्थ सेवन गर्दा भने ध्यान पु¥याउनुपर्छ । वयस्क व्यक्तिले दिनभरि औसत तीन लिटर पानी पिउनुपर्छ । आधा घण्टाको अन्तरालमा पानी पिइरहनुपर्छ । पानी पिउँदा शरीरमा भएका विशाक्त पदार्थसमेत उत्सर्जन गर्नमा समेत सहयोग पुर्‍याउँछ ।

कार्बोहाईडेट, प्रोटिन, भिटामिन, खनिज, चिल्लोपदार्थ र पानी शरीरलाई आवश्यक ६ वटा तत्वहरू हुन् । प्रत्येक छाकमा ६ वटा तत्वहरूको उचित परिमाणमा खानुपर्ने शाक्यको सुझाव छ । मासु कोलेस्टेरोल नबढ्ने खालको ‘लिन मिट’ ९बोसो र छाला नभएको० खान सकिन्छ । ‘हत्केलाभरिको मासु खान सकिन्छ । हत्केलाको साइजमा एक सय पचास ग्राम मासु पर्छ,’ उनको सुझाव छ ।

मोटोपना भएको व्यक्तिलाई मुटुुको समस्या देखिनसक्ने भएकोले धेरैथरीको तरकारी खानुपर्ने डायटिसियनको सुझाव छ, ‘दिउँसो हल्का खाजा खाने र बेलुकी कम खानुपर्छ । बेलुका टन्न खानेहरूलाई मोटोपनले सताउन सक्छ ।’ दिनभरिमा तीन छाक खाने बीच–बीचमा थोरै क्यालोरी भएका खानाहरू खान सकिने सुझाव डायटिसियनहरूको छ ।

चिल्लोरहित भेजिटेबल सुप, जुस, मही लिनु लाभदायक हुन्छ । भोक लाग्दा कम क्यालोरी दिने खाद्य पदार्थहरू जस्तैः गाँजर, काँक्रो, कागतीको सर्बत खानु ठीक हुन्छ । बिहानको लन्चमा मकैको च्याँख्लाको भात वा ब्राउन राइस खाने गर्नुपर्छ । मिठाइ, गुलियो जुस र तेल बढी मात्रा भएका परिकार सेवन गर्नु हुँदैन ।

बेलुकाको डिनर बेलुका ७ बजेभित्र खानु उपयुक्त हुन्छ । खाना खाएको कम्तीमा पनि एक घण्टापछि मात्र सुत्नु उपयुक्त हुन्छ । आयुर्वेद चिकित्सकहरूका अनुसार, दैनिक एक, दुई दाना मरिच चपाउँदा पनि शरीरमा भएका बोसोहरू पगाल्छ । वरिष्ठ आयुर्वेद चिकित्सक प्रा।डा। डीबी रोकाका अनुसार, काँचो लसुन सेवन गर्दा शरीरमा भएको बोसो घट्न सहयोग पुर्‍याउँछ । भन्छन्, ‘बिहान दुई÷तीन केस्रा काँचो लसुन चपाएर कागती–पानी खाने हो भने मुटुरोग र मोटोपनाको समस्या घटाउन सहयोग पुग्छ ।’ अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसलाजन्य पदार्थ राखेर पकाएको तरकारीले रगतमा रहेको सुगरको मात्रालाई समेत सन्तुलनमा राख्छ ।

व्यायाम जरुरी

मोटो व्यक्तिले तौल सन्तुलनमा ल्याउन खाना जस्तै व्यायाममा पनि ध्यान दिनुपर्छ । बिहान सबेरै हिँड्ने वा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। हरिहर खनालका अनुसार, मोटोपना भएका व्यक्तिले एरोबिक व्यायाम गर्नु उपयुक्त हुन्छ । यस व्यायामअन्तर्गत हिँड्ने, दौडने, फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन, पौडी, साइकल चलाउने र परेड खेल्नेलगायतका पर्छन् । व्यायाम गर्दा असल कोलेस्टेरोल ९एचडीएल० बढाउँछ भने खराब कोलेस्टेरोल (एलडीएल तथा ट्रिग्लेसराइड) मा कमी ल्याउँछ । वजन घटाउन सहयोग गर्छ । मोटोपना कम हुन्छ । एक किलो वजन घटाउन सात हजार पाँच सय क्यालोरी ऊर्जा शरीर निकाल्नुपर्छ ।

यदि पसिना आउनेगरी आधा घण्टा दौड्ने हो भने दुई सयदेखि तीन सय क्यालोरी ऊर्जा खर्च हुन्छ । नियमित व्यायाम गर्न सकेमा कमसेकम एक किलो वजन घटाउन सकिने तर, खानाबाट शरीरमा ऊर्जा थप्नु भने नहुने चिकित्सकहरू बताउँछन् । खानाबाट ऊर्जा थप्दै जाने हो भने मोटोपना घटाउन व्यायाम गर्नुको औचित्य हुँदैन । खेलाडीहरूको वजन धेरै हुन्छ, तर उनीहरूको पेट भुक्क उक्सिएको भने हुँदैन । शरीरको बोसोभन्दा पनि मांशपेशीका कारण उनीहरूको वजन बढेको डायटिसियनहरूको भनाइ छ ।

जीवनशैली परिवर्तन गरेर पनि तौल नियन्त्रणमा राख्न सकिन्छ । मोटोपना हुन नदिने किसिमले शुरुमै जीवनशैली अपनाउनु पर्छ । सन्तुलनमा आइसेकपछि फेरि तौललाई नियन्त्रणमा राख्नु अहिले धेरैका लागि चुनौती भइरहेको वरिष्ठ डाइटिसियन शाक्य बताउँछिन् । व्यायाम गर्ने तर खानाचाहिँ मनलाग्दी खाइयो भने मोटोपना नघट्ने शाक्यको भनाइ छ । भन्छिन्, ‘सन्तुलित खाना र व्यायामलाई सँगसँगै लैजानुपर्छ ।’ जिरो क्यालोरी वा एक दिन डाइटिङ गरेर तौल घटाउने उपाय उपयुक्त नभएको डायटिसियनहरू बताउँछन् । एकै चोटि ह्वात्तै वजन नघटाई विस्तारै तौललाई नियन्त्रणमा ल्याउनुपर्ने सुझाव उनीहरूको छ । एकैचोटि वजन घटाउँदा अन्य दीर्घ रोगहरू लाग्ने सम्भावनाहरू हुन्छ । सातामा पाँच सय ग्राम अर्थात् एक महिनामा दुईदेखि चार केजीभन्दा बढी वजन घटाउन सकिने वरिष्ठ डायटिसियन शाक्य बताउँछिन् ।

शल्यक्रियामा आकर्षण…..

३० साउन ०७३ मा बेरियाट्रिक सर्जरी गरेर बालाजु, काभ्रेस्थलीकी विन्दु पन्तको मोटोपना घटाइएको छ । सुतेको बेला घुर्ने र उच्च रक्तचापको समस्यासमेत बेहोरिरहेकी पन्तले ग्रान्डी अस्पतालमा बेरियाट्रिक तथा मेटाबोलिक सर्जरी ९मोटोपना नियन्त्रण गर्ने शल्यक्रिया० गरेकी थिइन् । सर्जरी टिमका डा। राकेश शाहको नेतृत्वमा दुई घण्टा लगाएर उनको शल्यक्रिया गरिएको थियो । सर्जरी गरेपछि एक सय जनामध्ये करिब ७५ जनाले उच्च रक्तचापको औषधि सेवन गर्नु नपर्ने डा। शाहको दाबी छ । सर्जरी ल्याप्रोस्कोपको सहायतामा गरिन्छ । अप्रेसन गरेको दिनमा नै बिरामी हिँडडुल गर्न सक्छन् । सेवा शुरु गरेदेखि हालसम्म दुई जना मोटोपनबाट पीडित व्यक्तिले सेवा लिएको अस्पतालले जनाएको छ ।

 छोटो दूरी भए पनि हिँड्ने बानी पटक्कै छैन। कार वा मोटरसाइकलमा हुइँकिने प्रवृत्ति छ। त्यसले पनि मोटोपना बढाउन सहयोग पुर्‍याएको छ। नानीशोभा शाक्य वरिष्ठ डाइटिसिएन, त्रिवि शिक्षण अस्पताल

१५ चैत ०७३ देखि मोटोपना घटाउने प्रविधिको उपचार सेवा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुरु गरिएको छ । मोटोपनाबाट पीडित हुनेहरू बढ्दै गएपछि प्रतिष्ठानले मोटोपनाको शल्यक्रिया गर्न शुरु गरिएको हो । शल्यक्रियापछि मोटोपनामा ५० देखि ८० प्रतिशतसम्म कमी आउनुको साथै यसबाट देखापर्ने अन्य समस्याहरू पनि नियन्त्रणमा आउने चिकित्सहरूको दाबी छ । मोटोपनाको शल्यक्रियामा एक लाख रुपैयाँ मात्र लाग्ने प्रतिष्ठानले जनाएको छ ।

ल्याप्रोस्कोपिक स्लिभग्यास्ट्रेक्टोमी भनिने प्रविधिबाट शल्यक्रिया गरिन्छ । यो प्रविधिमा पेटमा सानो प्वाल बनाएर दूरविनको सहायताले शल्यक्रिया गरी पेटको आकार घटाइन्छ । जसबाट पीडितलाई भोक लाग्दैन । लागे पनि थोरै खाएमा नै तृप्त हुन्छ ।कामको चापले धेरै दम्पत्तीबीच नियमित यौन सम्बन्ध कायम भएको हुँदैन । नियमित यौन सम्पर्क गर्दा क्यालोरी घढ्छ । जसले मोटोपना घटाउन सहयोग पुर्‍याउँछ । त्यस्तै, बढी चिन्ता तथा तनावले पनि शरीरमा ग्लुकोजको मात्रा बढाउन सहयोग पुर्‍याइरहेको हुन्छ ।