मध्यमोदीकोे सुरुङ निर्माणकार्य एक महीनादेखि ठप्प

२ असार, पर्वत / पर्वतको मोदी गाउँपालिकामा निर्माणाधीन १४।५ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माणकार्य चार सातादेखि ठप्प छ । चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनाको सुरुङ निर्माणकार्यमा स्थानीयवासीले अवरोध गरेपछि जेठ ८ गतेदेखि निर्माणकार्य रोकिएको हो । सुरुङ निर्माणका क्रममा बम विष्फोटन गर्दा घर संरचनामा क्षति पुगेको भन्दै उचित क्षतिपूर्ति मागेर स्थानीयवासीले सुरुङ निर्माणकार्यमा अवरोध पु¥याउँदै आएका छन् ।

आयोजना र प्रभावित क्षेत्रका बासिन्दाका बीचमा सुरुङबाहेकका संरचना बनाउने कुरामा भने सहमति कायम भएपछि जेठ १९ पछि विद्युतगृहलगायतका संरचना बनाउने काम भने भइरहेको छ । आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेकाले पुनःनिर्माण तथा क्षतिपूर्तिको माग स्थानीयवासीले राख्दै आएका छन् । स्थानीयवासीका घरमा पुगेको क्षति भूगर्भविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपूर्तिको रकममा पुनःमूल्याङ्कन गर्नुपर्ने वडाध्यक्ष विकास तिमिल्सिनाले बताउनुभयो ।

प्रभावित क्षेत्रका बासिन्दाले प्राविधिक समितिले निर्धारण गरेको रकम थोरै भएको बताउँदै थप रकम दिन माग गर्दै आएका छन् । पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुई हजार ५०० मिटरभन्दा बढी सुरुङ निर्माणकार्य सकिएको छ । स्थानीयवासीको पटक–पटकको अवरोधले गएको मङ्सिरपछि निर्माणकार्य अघि बढ्न सकेको छैन ।